इलाम । इलामे दर्शकको समर्थन पाएको काठमाडौँको पाहुना टोली न्यू रोड टिम (एनआरटी) यहाँ आयोजित प्रथम इलाम गोल्डकप च्याम्पियन बनेको छ ।
झापाको बिर्तामोड युनाइटेड एफसीलाई टाइब्रेकरमा पराजित गर्दै एनआरटीले उपाधि रक्षा गर्दै च्याम्पियन बनेको हो । बिर्तामोडलाई ४-३ गोलअन्तरमा रोक्दै एनआरटीले नगद ५ लाख र ट्रफी पायो ।
खेलको निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दुवै टोलीले पाएको अवसर गोलमा परिणत हुन नसक्दा छिनोफानो टाइब्रेकरबाट लिइएको थियो ।
टाइब्रेकरमा एनआरटीका गोलरक्षक प्रिसोले बिर्तामोडका २ खेलाडीको प्रहार रोकेका थिए । एञ्जल गुरुङ र प्रदिप बुढाथोकीको प्रहार प्रिसोले रोक्दा श्याम मुर्मू, योगेश गुरुङ र देवेन्द्र तामाङको प्रहारमात्र गोलमा परिणत भयो ।
यस्तै, एनआरटी राजीव लोप्चनको प्रहार बिर्तामोडका गोलरक्षक सन्दिप लिम्बूले रोके पनि प्रिसो, सुमित श्रेष्ठ, विवेक गुरुङ र जय गुरुङको प्रहार रोक्न सकेनन् । एनआरटीका प्रिसो उत्कृष्ट गोलरक्षक भए ।
यस्तै, गोल्डकपको सर्वोत्कृष्ट खेलाडी बिर्तामोडका रोहन कार्की बन्दा एनआरटीका हरिओम श्रेष्ठ उत्कृष्ट प्रशिक्षक बने । सर्वाधिक गोलकर्ता इलामका नवयुग श्रेष्ठ बने ।
फाइनल खेलको म्यान अफ दी म्याच बिर्तामोडका हिसुब थपलिया, सञ्जित राई उत्कृष्ट रक्षक र उत्कृष्ट मिडफिल्डर याेगेश गुरूङ बने । विधागततर्फका विजेताले जनही १०-१० हजार प्राप्त गरे । उदीयमान खेलाडी रेडहर्स एफसी इलामका गोलरक्षक विवेक मगर बने ।
उपविजेता बनेको बिर्तामोडले नगद ३ लाखमा चित्त बुझायो । रेडहर्स एफसी इलामले आयोजना गरेको गोल्डकपमा भारतको एक टोलीसहित ८ टिमको सहभागिता रहेको थियो ।