सुनसरी । कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भगिमान तुम्बाहाम्फे फुटबल क्लब (बीटीएफसी) तेह्रथुमले जितेको छ । इटहरीमा शनिबार भएको फाइनल खेलमा सिंहदेवी फुटबल क्लब धनुकटालाई ४–१ गोल अन्तरले पराजित गर्दै बीटीएफसीले उपाधि जितेको हो ।
उपाधिसँगै बीटीएफसीले नगद २ लाख २२ हजार रुपैयाँ हात पारेको छ । उपविजेता धनकुटाले १ लाख ११ हजार रुपैयाँमा चित्त बुझाएको छ ।तेह्रथुमको जितमा शिशिर लेखीले २ तथा ज्ञानेन्द्र भण्डारी र प्रदीप बुढाथोकीले १/१ गोल गरे । खेलको २२ औं मिनेटमा लेखीको पासमा ज्ञानेन्द्रले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अग्रता लिएको बीटीएफसीले थप ३ गोल दोस्रो हाफमा गरेको थियो । दोस्रो हाफको ११ औं र ३३ औं मिनेटमा लेखीले २ गोल गरे ।
दोस्रो हाफको ३४ औं मिनेटमा बुढाथोकीले गोल गर्दै टिमलाई ४–० को अवस्थामा पुर्याए । त्यसअघि धनकुटाको लागि दोस्रो हाफको तेस्रो मिनेटमा पेनाल्टीमार्फत भुवन बस्नेतले १ गोल फर्काएका थिए ।सर्वोत्कृष्ट खेलाडी धनकुटाका असीम राई घोषित हुँदै नगद १५ हजार हात पारे । बीटीएफसीका लेखी म्यान अफ द फाइनल, प्रेम लिम्बु उत्कृष्ट गोलरक्षक घोषित हुँदै नगद १० हजार रुपैयाँ हात पारे ।
प्रतियोगिताभर समान ३ गोल गरेका शिशिर लेखी, ज्ञानेन्द्र भण्डारी, धनकुटाका भुवन बस्नेत र धरान फुटबल क्लबका मिलन राई सर्वाधिक गोलकर्ता घोषित हुँदै जनही नगद १० हजार हात पारे । विजेता तथा उपविजेता खेलाडीहरुलाई युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले पुरस्कार वितरण गरे ।
द योङ ब्रदर्स क्लब इटहरीको आयोजनामा माघ १३ गतेदेखि भएको प्रतियोगितामा कोशी प्रदेशका ८ टिमको सहभागिता रहेको थियो ।