झापा । नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरी गगन सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका छन् । आइतबार विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो । माओवादी केन्द्र काेशी प्रदेश समितिका काेषाध्यक्ष उनलाई सजाय निर्धारणका लागि ६ फागुनमा पेसी तोकिएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पुरीलाई दोषी ठहर गरेको हो । गगनसँगै उनकी श्रीमती सीमाको नाममा ४ करोड ३ लाख ३४ हजार ८ सय ९४ रुपैयाँ अवैध सम्पत्ति भेटिएकोले दुवै जना सम्पत्ति शुद्धीकरण ऐनअनुसार दोषी ठहर भएका हुन् ।
झापाको ‘बालुवाटार काण्ड’ भनेर चिनिने दमक-१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण विभागले ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।
विभागले पुरीसमेत ६ जनालाई प्रतिवादी बनाउँदै २१ माघ ०७७ मा मुद्दा दायर गरेको थियो । प्रकरणमा मनमाया पुरी र देवकुमारी पुरीले सफाइ पाएका छन् । कृष्णकुमारी पुरी र संगीता पुरीको नामको जग्गा जफत नहुने फैसला भएको छ ।