पाँचथर ३१ जेठ
जब कोहि आफन्तको मृत्यु हुन्छ उसका नजिकका छोराछोरी भतिजभतिजिले काजकिरिया गर्छन। काजकिरिया गर्नु हिन्दु परम्परा मानिन्छ।आफ्ना नजिकका,प्रियजन अनि आफन्तको काजकिरिया गरेको त सुनेका छौ तर यहाँ आफूले पालेको गाईलाई आमा मानेर मेचीनगर नगरपालिका वडा नं २ का ५३ वर्षीय खगेन्द्र दाहालले मरेको गाईको काजकिरिया गरिरहेका छन । उनि गाई मरेका दिनदेखि विधिपूर्वक किरियापुत्री बनेर काजकिरिया गरिरहेका छन् ।
हिन्दु परम्परामा दाम्लो नखोलिएका गाई मर्दा मानिसको मृत्युसरह काजकिरिया बार्ने चलन छ । उनले पालेको लहिनो जर्सी गाई सात दिन अघि कालगतिले मरेको थियो । पहिलो बेतको उक्त गाईको मर्ने बेलामा दाम्लो खोलिएको थिएन । “हिन्दू धर्ममा गाईलाई आमाको रुपमा पूजिन्छ । धर्म र करकापले किरिया बारेको नठानिदिनुहोला,” उनले भने “जन्म दिने आमाको दुध बढीमा दुई वर्षसम्म खाइन्छ । गौमाताको दुध जीवनभर खाने गरिन्छ । मनैदेखि श्रद्धा जागेको हुँदा दश दिने काजकिरिया गरिरहेको हुँ ।” मानिस मर्दा गरिने दशगात्र कर्मसरह सेतो वस्त्र धारण गरेर किरिया बार्दै आएका उनि दश दिनका दिन ब्राह्मण बोलाएर विधिपूर्वक कर्मकाण्ड गर्ने जानकारी दिएकाछन् । अहिले उनि गाईको थलामा नै कोरामा बसेका छन् ।
कम्मरमा कुशको दाम्लो बेरिएको छ । कसैले नछोउन् भनेर अलग्गै बसेको र किरियापुत्री सरह एक छाक अलिनो खाने गरेको बताएका छन् । मरेको गाईलाई थला नजिकै गाडिएको छ । दश दिने किरिया सकेर कोकामा लगेर दाम्लो सेलाउने उनले जानकारी दिएका छन् ।