देवेन्द्र सक्तेन ।
प्रिय सगुन भाइ !
तिम्रो सिर्जनाको स्वाद मैले चाख्न थालेको त केवल समयको एक झापट बर्ष मात्र बित्दै होला । शुरुमा त नामद्धारै तानिएँ म—सुसारा ! भन्ठानेँ—राई लिम्बू कसैको जात थर सम्झाउने शब्दावली होला यो सुन्दै नसुनेको ‘सुसारा’ । तर अलिपछि थाहा पाउँदै गएँ—यो संज्ञा भिर्ने मनुवा त पान्थरे भूमिका निकै सुन्दर साहित्यिक सुसारे पो रहेछन्—नौलो चेत, नौलो सोच र नौलो शैलीले ‘उत्तरवर्ती सोच’को सिली ढुङ्गोमा आफूलाई धारिलो साँधिरहेका एक शब्दस्रष्टा ।
सानो घेराको चर्चाबाट दिनदिनै ठूलो परिचर्चाको परिधिमा प्रसारण हुदै गएको नाम र काम । तेसैले मलाई लाग्छ—यो नाम आजभोलि हौसलायुक्त हल्लाहरुमा हौसिएको छ, केही सार्थक गसिपहरुमा गाँसिएको छ र कविताको केही रिसाइटल उत्सवहरुमा उच्चारित छ । बिरन्तर बस्ती र गुमनाम गाउँको कुनोको आधा उमेर गुजारिसकेको मान्छे म—आजभोलि यस्तै परिवेश र परिवृतीय सेरोफेरोबाट उठिरहेकाहरु बारे, पाठकीय उत्कण्ठाहरुमा उत्साहित छु र ती बारे धेरथोर जान्ने जिज्ञासामा जिवित छु । किनभने मोफसलको पर्खाल फोडेर, बेवास्ताको बनजंगल क्रस गरेर र अति केन्द्रिकरणको अधिनायकवादी किल्ला तोडेर सतहबाट शिखर उक्लिरहेका केही पान्थरे पाइलाहरुको पदछाप सबैतिर कपिन थालेको छ ।
तेही प्रयासरत पाइलाहरुले चालेको गतिमान हलचलहरुमा एउटा छुट्टै सुनिने पदचाप स्वयं सगुनको पनि हो । म स्वयं एक पान्थरे पाठक । तेसैले पान्थरे भूमि र पान्थरे स्रष्टाहरु बारे केही लेख्न बोल्न मन पराउँछु । आफ्नो भूमि र विरासतबारे बोल्दा केही बेरङ् हुन्न भन्ने वोधले बेसी बोलेको पनि हुन सक्छु म । प्रष्ट कुरा के हो भने जुनसुकै सरदका स्रष्टाहरुले तेहीँ कै भूगोल र समयलाई लेख्दा रहेछन् । अथवा साहित्यमा सरद अनुसारकै जीवनलाई समयको रङ्ग र ध्वनी, विम्ब र छवी तथा गति र लययुक्त स्पन्दनले प्राण भर्दा रहेछन् । भूमि यसरी उत्प्रेरणाको आधार अनि सिर्जनात्मक अस्मिताको अपरिहार्य धरातल बन्दो रहेछ, जहाँ स्रष्टाहरुले आफ्नो मौलिकताको मौलो गाड्दछन् तथा पहिचानको पगडण्डीमा आफ्नो पदचिन्ह छाड्दछन् ।
सन्दर्भले मलाई नेपाली कवितालाई बोद्धिक सर्वोच्चता र कलात्मक सौन्दर्यमा स्थापित गर्ने पान्थरे हस्ती बैरागी काइँलालाई पटक पटक उल्लेख गर्न वाध्य गराउँछ, जसले सर्वप्रथम लिम्बूवान क्षेत्रको मुन्धुम र मिथकहरुलाई कविताको मौलिक धरातलमा उतारे तथा आयामिक सम्पूणर्तामा अनुभूतिहरुको बिम्विकरण गरे । समकालिन सुवेदी र तिम्सिना अनि सुभाङे संग्रौला सबैले पान्थरेभूमिलाई चिनाएका छन् । तीन दशक अघितिरै सशक्त देखापरि बीचमा हराएर फेरि देखा परेका पुष्प सुब्बा हुन् या सम्भावनाको उज्यालो झलक देखाएर बिलाउने राजेन्द्र परदेशी अनि सेवा र साहित्यलाई सँग सँगै डोर्याइरहेका प्रेम ओझा र भवानी तावा सबै पान्थरे उत्पतिका हुन । रंगवादका प्रवर्तक धमेन्द्र हुन या तेही वादको जुवा भिर्ने जोडी चन्द्र हुन्, अराजकताभित्र सिर्जनशिलता बुन्ने हाङयुग र उपेन्द्र हुन या प्रकाश, बसन्त, राज र सुहाङ सबै आ-आफ्नो बिशेषताले चिनिएका पान्थरे प्रतिभा नै त हुन् ।
पछिल्लो समयमा, कवितामा सघन सौन्दर्य सुसेल्ने सुन्दर स्वप्निल स्मृति तथा कलात्मक बिम्वद्धारा कवितामा बुद्धिविन्यास गर्ने समदर्शी पनि पान्थरे उर्जा नै । अचम्म त के हो भने, आयुको छ दशक घुम्ती पार गरिसके पश्चात सशक्त रुपमा अचानक देखा पर्ने अमर नेम्वाङ्गको छिप्पट उपस्थितिको सापेक्षतामा कलिलैमा जब्बर देखा परिरहेका गणेश र बाँस्कोटा भाइहरु पनि पान्थरे नै । साहित्यिक अनुशिलन गर्ने अध्यताहरुलाई पान्थरे भूमि रहस्यको प्याण्डोरा बक्स जस्तै लाग्न सक्छ । तर म यहाँ साहित्यको इतिवृत्त उधिन्न बस्या होइन, म त एक आत्मीय भाइको कविताहरु पढे पश्चात जे जे लागेकोलाई शब्दांकन गर्न मात्रै तम्सेको हुँ ।
मलाई थाहा छैन ‘सुसारा’ले कवि हुनुको सुरसार किन र कसरी गर्यो र त्यो अनुत्पादक (आर्थिक रुपले) उपाधि भिर्दाको सुख्खा संघर्ष र पन्यालो प्राप्तिको परिणामलाई कसरी स्वीकार्यो ? तर यो बातलाई यहीँ नै बिट मारुँ । समय मिले कुनै दिन भलाकुसारीको पलेँटी कसेरै यो बारेको कैफियत कोरुँला । यतिखेर मेरो झोलामा माङफुनको कायाकल्प’ छ र छुट्टै कविताको टाइपप्रति पनि छ —‘जाँठा फिदिम के भा’को हौ ?’ पढेर लज्जा र मज्जा दुवै लाग्यो । सानोमा जिब्रोले धेरैपल्ट फट्कारेको यो ‘जाँठा’ अझै मेरो मतुवाली मुखबाट औपचारिक इमान धरमको बारलाई भत्काएर फुत्किन खोज्छ—रीस उठेको बोलीमा, रेला ठट्टाको संगाती हाँसोहरुमा र कतिपय त मेरो पारिवारिक व्यवहारको वृत्तमा अनि दैनिक दिनचर्याको केही सस्ता-मस्ता उक्ति सन्दर्भहरुमा । यो शब्दको अर्थपरक आवरणलाई नङ्ग्याइयो भने सबैले गाली थुक्छन् अश्लिल हो भनेर । अर्थात अर्थहरुको कट्टु र आशयहरुको पेन्टी उघारि राख्न आवश्यकतै छैन । यो शाश्वत नग्नतामा छ । तेसैले सामाजिक शालिनता र श्लील सन्दर्भहरुमा यस्ता शब्दहरुलाई बर्जनाको पर्दाभित्र लकाइएका हुन्छन् । तर साहित्यमा नि त ? म स्वयं प्रश्नवाचक बाङखुडे स्थितिमा उभेको छु अहिले ।
एक मनले भन्छ – ‘अहँ किन बेसोमति शब्दसँग सहमत हुने ?’ अर्को मनले भन्छ – ‘गज्जबले हुन्छ यदि यसको प्रयोगको सान्दर्भिकतासँग स्थानीयताको रङ या आञ्चलिकताको विशिष्ट बान्की र मौलिक झलकको कलात्मक तालमेल हुन्छ भने । बर्षौं अघि अमेरीकाली मार्क ट्वेनका किताबहरु पढ्दा, त्यहाँ प्रयुक्त निग्रो डाइलेक्टहरुमा यस्तै आशयका शब्दहरुको गन्ध थाहा पाएँ जस्तो लाग्छ मलाई । तेसो त केही सस्ता र मझौला खाले अंग्रेजी आख्यानहरुमा धेरै अगाडि नै ‘ागअप, ागअपभच’ जस्ता अब्सेनिटीको अन्तिम तहसम्मै पुगेका शब्दहरु प्रयोग नभएका होइनन् । तर तिमीले प्रयोग गरेको शब्द, त्यो हदसम्मको नग्न निकृष्टतामा जाकिएको छैन । यसकै समकक्षी शब्द ‘मुजी’ले केही समय अघि हट केक चर्चाामा रहेको कर्नाली ब्लुजमा स्थान पाएको रहेछ । तिम्रो शब्द किराती समुदायका सबै वर्ग र लिङ्गले बडौ स्वभाविकताका साथ उच्चचारण गर्ने गरेकोले त्यसको सान्दर्भिकतालाई साहित्यमा स्थापित गरेका हौं भन्ने ठहर हो मेरो । तर मेरो मतलब यो त अवश्य हैन कि यस्ता नाङ्गा शब्दहरुको प्रयोगाधिकारले बिस्तार पाउनै पर्छ र एकदिन आमाचकारी गालीको कुत्सित कृत्यले पनि स्वीकार पाउनु पर्छ ।
बेलैमा सजग बनौं हामी । मेरो यो भनाईलाई निख्लम नैनिकताको अर्जिण डकार या फोस्रो आदर्शको सुख्खा खोकी भनिएला । तर साहित्यमा शालिनता, सौन्दर्य र स्वच्छताको सर्वकालिक महत्ता गाँसिएकै हुन्छ । तर अब्सेनिटी र भल्गारिटीले लेखकलाई मात्र हैन, लेखकीय सत्वलाई समेत थुक र खकारको डस्टविनमा थुपारिदिन्छ । हाम्रो अघिल्लो पुस्तासम्मै सेक्स जस्तो सर्वजनीन थोकलाई साँघुरो नैतिकताको निषेधात्मक आँखाले निरीक्षण गर्ने गरिन्थ्यो । तर सेक्स जीवनको महत्वपूणर् पाटो हो भनेर स्वीकार्ने सामान्यीकृत सोच, पाठकीय चेतको पछिल्लो संस्करण हो । नभन्दै सेक्ससँग सम्बन्धित गुहय गुत्थी र अतृप्त मनको अन्तरग्रन्थीलाई उजागर गरिएका सयौं पुस्तकहरुलाई रुचाईनुको पछाडी तीहरुमा तस थोकलाई सुन्दर ढङ्गले सजाइनु नै हो । तर जब तेही थोकलाई कच्ची कमोडिटीको रुपमा भद्दा ढङ्गले र कुरुप पाराले पस्कन थाल्दा लेखन साहित्य हैन पार्नोग्राफी बन्छ ।
अँ अब म तिम्रो किताब र जाँठा कवितातिर लाग्छु है त । तर म आफ्नो सीमा कोर्छु—म विश्लेषक या समिक्षक होइन । निकै चाम्रो र मीठो लाग्ने तिम्रा कवितालाई नाङ्गेझार निरीक्षण गर्ने हिक्मत छैन मसँग । यद्यपि मलाई के लाग्छ भने भूमिका लेख्ने थाम्सुहाङ पुष्प सुब्बाले भने झैं तिम्रा कविताहरुले साँच्चि नै स्व-सार्वभौमिकतको गरेका छन् । ‘ … फिदिम के भा’को हौ’ त केन्द्रिकृत रजगजप्रति अस्वीकारको कडा आवाज नै हो । नभन्दै अतिअधिनायकवादी सोचले सबैलाई सबै क्षेत्रमा पिल्साएको मात्र हैन हाम्रो बहुविविधताको विशिष्ट बान्की र पृथक परिचयको समानान्तर साँस्कृतिक पहिचानलाई समेत पखाल्न स्वार्थको धमिलो बाढी बगाएकै हो । तर तेही साँढे सोचको विपक्षमा अस्वीकार बोल्न तिम्रा कविताहरु आफ्नो विगत विरासत गुमेको पहिचानको पक्षमा पहाड उभेका छन् । वर्तमान समय कथित सभ्यताको भच्र्युअल स्पेशमा छ । र त्यसका परोक्ष पर्दाहरुमा वर्तमान जीवनका यावत कृत्यहरु अनुकृत भै रहेछन् । भच्र्युअलिटी वर्तमान जीवनको तीतो नियति भै सकेको छ र त्यो तीतो यथार्थ तिम्रा कविताहरुमा उदाङ्गो भएको छ । मैले तिम्रा ‘उत्तरवर्ती सोच’को मेनिफेस्टो पढ्या छैन । तेसैले तिम्रो अवधरणासँग तिम्रा काव्यात्मक चेतको तालमेल कुन रुपमा भएको छ ? म भन्न सक्दिन । तथापि कविताहरुमा तिमीले वोध गरेको र भोग गरेको जीवनको छाप राम्ररी उनिएको छ ।
जीवनलाई हामी जुन रुपमा देख्छौं तेही रुपको रङ्मा लत्पताएर बुझेका हुन्छौं । हामीले मात्र हैन, पुरातन पुस्ताका पुर्खाहरुले समेत आ-आफ्नै सोचको सापेक्षतामा उभेरै जीवनलाई वोध गरे । तर ‘जीवन’ शब्दको समग्र सर्वोपरिता र त्यसको सारभूत अन्तरङ्गता, सग्लो सम्पूणर्तामा कतै पनि हाँजिर भएको देखिएन—भोागाइमा, बुझाइमा र लेखाइमा । कुनै पनि वाद, विचार र दर्शनको परिधि भन्दा पर रहेको जीवनको सार्विक सत्य चाँहि के त ? सत्यको स्वरुप जहिल्यै किन परक ? तेसैले सत्य अपरिभाष्य हुँदो रहेछ । व्यक्तिपरक वोध र संज्ञानभित्र बाँचेको सत्य, प्रतिपल परिवर्तनको प्रवाहमा बगिरहेको समयरुपि नदीमा रेखिने लहर र तरङ्गहरुको अस्थिर उपस्थिति जस्तै मात्र रहेछ । अहिले थियो भरे छैन । पानीको बहाव, आकार र लहरहरु अघि देखिएको झलकहरुको भ्रम मात्र ! कस्तो अस्थिरता ! कस्तो क्षणभङ्गुरता ! ‘एउटा नदीलाई तिमी दुईपल्ट तर्न सक्दैनौ ।’ भन्ने बुद्धको अढाई सहस्राब्दी पूर्वको वोधिज्ञानको सारलाई ‘क्षणिक अनात्मवाद’ राखे । जो निर्विकार ईश्वरीय अस्तित्वमाथिको जब्बर प्रहार थियो र थियो आत्माको अमरत्वमाथिको घोर अस्वीकार ! तेसैले बुद्ध विश्वकै प्रथम उत्तरआधुनिक चिन्तक थिए, जसले पुरातन मान्यताको महललाई विनिर्माण गरे, तथा यावत वैचारिकीको विपठन गरे ।
तर विश्वमा यो कुराले लेखनको रुप पाउन डेरिडा, फुको, रोलाँ वाथ र जेम्सन जस्ता प्राज्ञिक हस्तीहरुसहित सन् साठीको दशकसम्मै पर्खिनु पर्यो । तेसो त अस्थिरतार अनिश्चितताले युक्त यो विश्वमा पहिलै मौजुदा थोकहरुको अस्तित्व नै पुनरावृत चक्रमा समयको रङ र रेखाद्धारा कोरिने चित्र बन्छ । जस्तो इश्वर मरेको घोषणा गर्ने नित्शे भन्दा हजारौं बर्ष अघ स्पार्टाकसले तेसलाई विद्रोहको व्यवहारले उद्घोष गरिसकेका थिए । ईश्वरको अवतार मानिने तेर बेलाको भयानक सामन्ती सत्ता विरुद्धको उनको त्यो बागी काम कुनै पनि दार्शनिकको भन्दा केमा कम थियो त ? तर त्यो विद्रोहको ताल र छन्दलाई, तेसको सुर र माधुर्यलाई अनि त्यसको लय र लालित्यलाई आत्मसात गर्न पनि हजारौं बर्ष नै लाग्यो मानिसहरुलाई । यो लामो प्रसङ्गको गनगन मैले कि गरेको भने तिमी लगायत हालका सबै लेख्नेहरु नयाँ चिन्तनमा जागरुक देखिएका छन् ।
भाइ सगुन ! प्रत्येक सफल सर्जकहरुले जहिल्यै आफू बाँचेको वर्तमानप्रति विद्रोहको विगुल फुके र त्यो समयको फेरमा झुण्डिएर, परम्पराको पुरातन पीङ मच्चाउन अस्वीकार गरे ।
दुःख पाए तेसैले । तर यथास्थितिलाई स्वीकारेर तेही बोधो वोध, तेही भद्दा सोच र तेही निर्धो समझको स्तुति गाउनेहरु मालामाल बने । सार्थक साहित्यले सर्वदा यथास्थितिको धज्जी उडाएको छ । स्तुतीगान र भाटभट्यानलाई लात्तले हानेर अस्वीकृत को भड्खालोमा जाकि दिएको छ । तिमीसँग पनि त्यही चेतको तेज छ भन्ने लागेको छ मलाई । कवितालाई तिमी तेही उर्जाको उत्तापमा गाल्दा रहेछौ । नभन्दै तिम्रो लेखनमा राम्ररीनै परम्पराको विनिर्माण र विपठन भएको छ । तिम्रा कविताहरु पढ्दा एउटा भोकले भुतुक्क पारेको छ मलाई, त्यो हो तिम्रो शब्द चेत, जसले किरात पुराकथाका मिथकीय मर्महरुलाई सघन रुपमा अंगालेका छन् । र तीनै मिथक, विम्ब र प्रतीकद्धारा वर्तमानको अस्थिर स्वरुप र स्वभाव संश्लेषित भएको छ । तर तिम्रा कविताहरुमा मीठै मीठा थोकहरु मात्र कहाँ छन् र ? नमीठा, तीता र तम्तम्याइला बेस्वाद पनि तेती नै भेटें मैले । तर यो स्वाभाविक पनि छ ।
किनभने तीतोको उपस्थिति नहुँदो हो त मीठौको अस्तित्व नै झुल्कने थिएन नि ! तम्तम्याइलो बेस्वाद नहुँदो हो त चखिलो स्वादको तिख्खर अनुभूति पनि भुत्ते भइहाल्थ्यो नि हैन ? अर्थात तीतो र मीठोलाई हर र अंशको सुत्रमा उन्दा मात्रै रसको समानुपातले स्वादको सन्तुलन कायम गर्दछ । अँ तिम्रो कवितामा प्रष्टै चाखिने बेस्वाद भनेको हलुवामा बालुवा मिसिए झैं लाग्ने अधिक मिथकीय मिसावट एउटा हो जसले कविताको धार र प्रवाहमा नराम्ररी ब्रेक लगाउने गर्छ । र कतिपय मिथक र प्रतीहरुले प्रासङ्गिकतालाई संकेत नै गर्न नसकेको भान पार्दछ । अनि अर्को चाँहि अति पट्यार लाग्दो चित्रको प्रयोग । मलाई लाग्छ कविता मूलतः शब्दकार्म नै हो । यसको सिर्जनात्मक समानान्तरमा चित्रकलाको फिट्टो अस्तित्व छँदैछ नि । तेसलाई लेखनमा किन हडप्ने ? तर यसको सुहाउँदो प्रयोगले कवितालाई केही सीमाभित्र सुन्दर नबनाउने हैन । गम्भिर बिम्वयुक्त कविताहरुमा शब्दहरु फितलो देखिन्छन् ।
किनभने शब्दहरुको अस्तित्व अर्थहरुको घेराबन्दीभित्र बाँच्छ र आशयहरुको तुरुङमा झुण्डिएको हुन्छ । तर संकेतहरु स्वयं सग्लो सम्पूणर्ताको त्रिआयामिक झलकमा बिम्विकृत बन्छन् । तेसैले कवितामा चित्रात्मक संकेतहरु प्रयोग गरिएका हुन । बौद्धिकतालाई अति विशिष्ट बान्कीमा बिम्विकृत गरिएका कवितहरु बैरागीको ‘गंगा नीलो बग्छु’ ‘हात्ती र अन्धा मानिसहरु’ आदि हुन । बिम्ब, प्रतीक, मिथक र संकेतको संयोजनमा उभेका ती कविताहरु झर्ना जतिकै झर्झर झलकमा छन् । तेसरी नै तिम्रो ‘हुती, हर्कत, बुता र स्वायत्त सत्ता’मा प्रयुक्त अंक ११ ले भग्न ट्वीन्स टावरको त्रिआयमिक झलक देखाएको छ ।
उत्तरआधुनिकताको नाममा लेखिएका पछिल्ला नेपाली कविताहरुले एउटा साझा विशेषता धरेका छन् त्यो हो तीहरु अति चाम्रा छन् – सामान्य पाठकीय वोधले पेनिट्रेट नै गर्न नसकिने । रुप हैन अरुपको अमूर्ततामा उनिएका ती थोकहरुले कताकता खस्रो विरुप फुस्रो कुरुपलाई समेत झल्काएका छन् । कवितालाई गम्भिरताको नाममा किल्ष्टताको भासमा जाक्ने कार्य कति ठीक हो मलाई थाहा छैन । तर जरुर एउटा कुरा के हो भने किल्ष्टता कविताको पहिचान हुन सक्छ, प्राण नै त होइन । ‘पागल’, ‘पर्वत’, ‘आमाको सपना’, ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ जस्ता कविताहरुले सरलताभित्रै सर्वकालिकता बोकेको छैनन् र ? वर्तमानका श्रवण र मनुहरु पनि असाघद्धै सरल लेखिरहेका छन् र उनीहरुका कविताका जताततै स्वागतद्धार पनि उघ्रेकै छन् ।
माथि उल्लिखीत दोषको सानो अंशले तिम्रा कविताहरुलाई दाग नलगाएको छैन । तर आफ्नो खासा मौलिकता भने मौलाएको छ । विनिर्माण र बहुकेन्द्रण, इथ्नोकल्चर र साँस्कृतिक सामेलिकरण तथा सवाल्र्टन सोच र डायस्पोरिक चेत जस्ता पछिल्ला संस्करणका सातु सामहरु नेपाली साहित्यमा समेत उत्तरआधुनिक चिन्तन र लेखनका मूल थिम र त्यसका मरमसला बनि सकेको छन् । डेरिडाको विनिर्माणवादी दर्शन, वास्तवमा पर-निर्माण या सम-निर्माणको सोचमा आधारित थियो । रुप र सारले भ्रम मात्रै भिरेको हुँदा कनै पनि स्थापित साहित्यको स्थायी स्वरुप र मूल्यवत्ता हुन्न । तेसैले तेसले भिरेको स्वरुप र सारतत्वलाई विनिर्माण गर्दा कलाले अर्को आयाम उघार्छ भन्ने सन्निहित सोच हो । अर्थात डिकन्स्ट्रक्सन थ्यौरी डेस्ट्रक्सनको डिस्कोर्स होइन ।
तर केही राम्रै सम्भावना बोकेका उत्तरआधुनिकतावादीहरु नितान्त व्यक्तिकेन्द्रीत अतिवादतर्फ उन्मूख भइ रहे झैं भान पर्छ । विनिर्माणवादको विशिष्टता, कतै सबै कुरालाई भत्काउनै पर्छ भन्ने निषेधात्मक ध्वंशीकरणमा रिड्युस त भइ राखेको छैन ? तर यो मलाई लागेको काइते भ्रम मात्रै पनि हुन सक्छ ।
र अन्तमा भाइ ! तिमी युवाहरुले नेपाल र नेपालीत्वबारे साहित्यमा धुकधुकी भर्नै पर्छ । ग्लोबलाइजेसनले हुत्याएर हामीलाई जहाँ सुकै किन नपुर्याओस, हामीले हाम्रो विशिष्ट छापलाई कप्नै पर्छ । हामीले आफ्नोपनको बिल्ला नटाँसेसम्म हाम्रो वैश्विक परिचयको परिधि तन्केर टाढा जाने छैन । नोवेल विजेता मार्खेज र लोसाले लेखनमार्फत आफ्नो दक्षिण अमेरिकाली भूगोललाई नचिनाएको भए वा कावावाता, मिसिमा र दाजाईले आख्यानमा जापान नउतारेका भए विश्व चर्चित व्यक्तित्व नै हुने थिएनन् तिनीहरु ।