दिपक बोहोरा ।
खेल अनुशासन र शारीरिक क्षमताको कलात्मक प्रदर्शन हो । कहीं उफ्रनु या दगुर्नु अनि पसिना निकाल्नुलाई मात्र खेल भन्न सकिन्न । कुनै पनि खेलको पहिलो कडी अनुशासन हो । खेलाडीहरू नियमभित्र बाँधिएर जित या हार जे भए पनि त्यसलाई सहजै स्वीकार्ने मनोविज्ञान लिएर मैदानमा उत्रिने गरेकाले खेलमा अनुशासनलाई महत्त्वपूर्ण कडी मानिएको हो ।
बिकास, अनुशासन र गतिशिलता नेपाली खेलकुदका मुख्य मन्त्र मानिन्छन । अझ फुटबलमा त फिफा धुनसँगै माइ गेम इज फेयर प्ले अर्थात मेरो प्रतिष्पर्धा स्वच्छ हुन्छ भन्ने प्रतिबद्धता गरिन्छ । जुन दर्शक, खेलाडी, अफिसियल सबैले स्विकारेका हुन्छन । तर नेपाली फुटबलमा खेलाडी, अफिसियल र दर्शकहरुमा यी कुराको अभाव हुदा मोफसलमा हुने बिभिन्न गोल्डकपमा अराजकताका घटना बढेका छन ।
कतिपय खेलाडीले पराजय भोग्नुपर्दाको आवेगलाई नियन्त्रण गर्न नसक्दा खेल मैदानहरू हुलहुज्जत गर्ने थलोमा परिणत हुने गरेका अनेकौं दृष्टान्त भेट्न सकिन्छ । फुटबल मैदानमा सधैँ खेल कला र गोलका सुन्दर दृश्यहरू मात्र देखिँदैनन्। प्रतिस्पर्धाले कहिलेकाहीँ उग्र रूप लिन्छ र मैदानभित्रका खेलाडीहरु यसका पात्र हुन् । कुम्मायकको यासोकमा भएको एक प्रतियोगितामा लगातार त्यस्तै दृश्य देखियो । आयोजकको कमजाेर व्यास्थापनको कारण पनि पछिल्ला दिनहरुमा पाँचथरमा यस्ता घटनाहरु घटिरहेका छन् ।
कुम्मायकको यासोकमा भएको कुम्मायक कुसायक गोल्डकपमा करिब ५ दिन अगाडी पाँचथर फुटलब क्लब र ताप्लेजुङको कणर्सि सोनाम स्मृती फुटबल क्लब बिच भएका क्वाटरफाइन खेल सकिन केहि मिनेट मात्र बाँकी रहदा खेलाडीहरू बीच मैदानमा कुटाकुटमा उत्रिए। खेलाडी, पदाधिकारी, आयोजक, स्वयम्सेवकदेखि सुरक्षामा खटिएका प्रहरीसम्म सामेल भए, कोही झगडा गर्न त कोही झगडा मिलाउन ।
विश्वका जुनसुकै कुनामा फुटबल प्रतियोगितामा दुई टिम (दुई देश वा क्लब) बीच खेल हुँदा सबैभन्दा पहिले विश्व फुटबल महासंघको धुनसँगै ‘माइ गेम इज फेयर प्ले’ लेखिएको पहेंलो झन्डा बोक्दै स-साना बच्चाहरू सबैभन्दा पहिले मैदानमा छिर्ने प्रचलन छ । त्यसपछि मैदानमा रेफ्रिहरू र दुई टिमका खेलाडी आउँछन । खेलको प्रारम्भमा यसो गर्नुको मुख्य अर्थ हो, सबै खेलको नियमबाट अनुबन्धित र अनुशासन पालन गर्न बाध्य छन् ।
तर, त्यो क्वाटरफाइनल खेलमा खेलाडीले ‘फेयर प्ले’ को धज्जी उडाइदिएका छन् र मैदानमै हातापाईमा उत्रेका छन् । कुनै पनि खेलमा जित्ने एउटा व्यक्ति या टिमले हो । फुटबलमा पनि खेलको अन्त्यसम्ममा एउटा टिमले जित्छ र अर्कोले हार्छ भन्ने सबैलाई थाहा छ । खेल खेल्नु भनेकै जित्नका लागि हो तर जित्न नसके पनि सहजतापूर्वक हार स्विकार्नु खेलको संस्कारभित्र पर्छ । खेलको अन्त्यसम्म प्रतिस्पर्धाको नतिजा प्रतीक्षाको विषय बन्छ । त्यसकारण खेलाडीले खेल अवधिभर सम्हालिएर धैर्यतापूर्वक खेल्न सक्नुपर्छ । त्यसैले त हो, खेललाई प्रतिस्पर्धासँगै अनुशासनको परीक्षण गर्ने महत्त्वपूर्ण ठाउँका रूपमा लिइएको । टिम र खेलाडीको मूल्यांकन पनि उनीहरूले निकाल्ने नतिजाभन्दा खेलका दौरान मैदानभित्र र बाहिर देखाउने क्रियाकलापले निर्धारण गर्छ । तर कुम्मायकमा दुबै टोलीका खेलाडीहरुले आवेग गुमाएर एउटा नकारात्मक नजिर स्थापित गरेका छन्।
कुम्मायकमा त्यतीले मात्र पुगेन शनिबार पाँचथर फुटबल क्लब र रेडहर्स फुटलब क्लब इलाम बिच भएको फाइनल खेलमा निर्णायकले खेल समाप्त भएको जनाउ दिन सिठ्ठी फुक्ने बित्तिकै मैदानमा घम्साघम्सी सुरु भयो । खेलका सहायक रेफ्रि र रेडहर्स फुटलब क्लब इलामका प्रशिक्षक बिच हात हालाहाल भएको दृष्य सोहि खेलको प्रत्यक्ष प्रसारण गरेको गोल नेपालको फेसबुक पेजको भिडियोमा हेर्न सकिन्छ । खेल अनुशासनको लागी मैदानमा राखिने रेफ्रिनै हात हालाहालमा उत्रेको देख्न सकिन्छ । यो घटनाले पाँचथरका खेल सञ्चालन गर्ने रेफ्रीहरुको क्षमतामा प्रश्न गर्न सकिन्छ ।
प्रतियोगिताका बेला कुनैपनि अप्रिय घटना भएमा त्यसको छानविन गरेर दोशीलाइ तुरून्दै कारवाही गर्ने नियम बनाउन निकै जरूरी देखिएको छ । फुटवल खेलको आयोजना र व्यवस्थापनमा आयोजकको कमजोरीले गर्दा पनि फुटवल खेलाउन मैदान ओर्लेका रेफ्री र खेलाडीहरु असुरक्षित हुने गरेका छन् । यसो त अपरिपक्क निणर्यले समेत कहिलेकाही रेफ्रिहरु अनुशासनहिन खेलाडी र उत्तेजित दर्शकको आक्रमणको शिकार पनि हुने गरेका छन् । रेफ्रिहरुले पनि आफ्नो निणर्य क्षमतालाइ अब्बल बनाउदै लानुपर्ने फुटबलका पदाधिकारीहरूको भनाइ छ ।
क्लबहरुले आफुलाइ अब्बल बनाउन ठुलो लगानी र धनराशी खर्च गरेका हुन्छन । रेफ्रिको एउटा गलत निणर्यले पनि उनीहरुको लगानी डुब्न सक्छ । तसर्थ फुटबल खेललाइ ब्यवस्थित र निश्पक्ष बनाउँन एन्फा, आयोजक र खेलाडी मात्र होइन रेफ्रिहरु समेत जिम्मेवार हुनु आवश्यक छ ।
ठुला प्रतियोगिताहरुमा यस्तो घटनापछि अखिल नेपाल फुटबल सङ्घ एन्फाको अनुशासन समितिले कारबाही अगाडि बढाउने गर्छ। तर, जिल्ला फुटबल संघले अनुमति दिएको सो प्रतियोगितामा यस्तो अराजक गतिबिधि हुँदा समेत जिल्ला फुटबल संघ पाँचथर मुख माड हालेर बसेको छ । यो घटनालाइ कसरि लिने के गर्ने भन्ने फुटबल संघ सँग कुनै स्पष्ट योजना छैन् । आयोजक,रेफ्रि र सरोकारवालहरु संग समन्वय गरी जिल्ला फुटबल संघले छानमीन गर्नेु पर्ने जनाकारहरु बताउछन् ।
जिल्ला फुटबल संघ पाँचथरका अध्यक्ष गणेश राईले आयोजकले छानमीन गर्न सिफारी सहितको चिट्टि पठाएमा जिल्ला फुटबल संघ जानकार हुने र छानमीन प्रक्रिया अगाडि बढाइने गैह्र जिम्बेबार जवाफ दिए । जब कि आफै फुटबलको नियमन गर्ने निकाय र आफुलेनै पठाएका रेफ्रीहरुलेले खेलाएको खेलमा लगातार हात हालाहालको अवस्था आउँदा पनि फुटबल संघ पाँचथरलाई कुनै मतलबनै देखिदैन्
खेलका नियम र मान्यता लिखित र अलिखित रूपमा स्पष्टसँग परिभाषित छन् । त्यसको उल्लंघनलाई कारबाही गर्न या त खेलस्थलमै ’जज’ या ’रेफ्री’ लाई या त्यसभन्दा माथिका निकायहरूलाई अधिकार प्रत्यायोजित गरिएको हुन्छ । यति हुँदा हुदै पनि जिल्ला फुटबल संघ कुनै एउटा क्लबको चिट्टि कुरेर बस्नु आफैमा हास्यपद रहेको एक फुटबल समर्थक बताउछन् खेलमा पूर्वाग्रह, अनुशासनहीनता तथा नियम उल्लंघनको लागि कुनै छुट दिइँदैन, प्रतियोगिताहरूमा पनि अनुशासन तथा नियमबद्धताबारे त्यही तहको प्रतिबद्धता देखाइएन भने खेलाडीहरुले खेलको मर्यादा र अनुशासन प्रदर्शन गर्न सक्दैनन ।
। भिडिओ फुटेज लगायताको प्रमाण हुँदा हुदै पनि घटनाको छनानमिन गर्ने समेत आधार फुटबल संघले देखेको छैन् । खेल भावना विपरित काम गर्ने केही खेलाडी र पदाधिकारीहरूलाइ अहिले नै अनुशासनमा कस्न सकिएन भने बाँकी खेलहरू सञ्चालन गर्न गार्हो हुनेछ ।
जिल्ला फुटबल यस मामिलामा गम्भीर हुनु जरुरी छ। यदि अहिले कारबाही गर्न जिल्ला खुट्टा कमायो भने यसले आगामी खेलहरूमा ठूलो समस्या निम्त्याउन सक्छ। एक खेल प्रमीले केन्जोखबरलाइ बताए । अनुशासनहीनतालाई बेवास्ता गर्दा त्यसले यसको प्रभाव देखाइ नै रहनेछ र खेलजगत् तथा खेलाडी वा पदाधिकारीले त्यो छुट लिइरहनेछन् । बाहिरी जगत् र आम नागरीकहरुले पनि खेलाडी वा खेल पदाधिकारीहरूको दक्षता, अनुशासनप्रतिको उनीहरूको समर्पण नियालिरहेका हुन्छन् ।
अनुशासनविनाको खेल र खेलाडीको अस्तित्व सम्भव हुँदैन । आगामी दिनमा यस्ता घटना नदोहोरिन र यो प्रवृत्ति नियन्त्रण र निरुत्साहित गर्नका लागि पनि खेल भावनाविरुद्ध जाने जो कोहीलाई छानमीन गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ, अनिमात्रै खेल अनुशासन कायम हुनसक्छ ।