विराटनगर ।कोशी प्रदेशमा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी गरेका छन् । उनले ५२ जना प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।
यसअघि बुधबार राति प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका थिए । खापुङले शुक्रबार साँझ ५ बजेसम्मकाे समय दिएर नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।
उनले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनको आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेसँगै कोशीका मुख्यमन्त्री केदार कार्की बर्खास्त भएका छन् । यद्यपि कार्कीले भने प्रदेश प्रमुखको कदमलाई असंवैधानिक भन्दै सर्वोच्च अदालतमा चुनौती दिने बताएका छन् । त्यसका लागि उनी आजै काठमाडौं आइपुगेका छन् ।