बिराटनगर ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिने भएका छन्।प्रदेश सभाको सोमबार बिहान ११ बजे बस्ने बैठकमा मुख्यमन्त्री कार्कीले विश्वास मतको प्रस्ताव राख्न लागेका हुन्।कार्की नेकपा (एमाले) संसदीय दल नेता हुन्।
उनलाई एमालेसहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालकी सांसदले विश्वास मत दिने भएका छन्।यहाँ एमालेका ४०, माओवादीका १३, एकीकृत समाजवादीका चार र जसपा नेपालका एक सांसद छन्।
मुख्यमन्त्रीलाई विश्वासको मतका लागि ४७ जना सांसद भए पुग्छ।यहाँ नेपाली कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने भएको छ। कांग्रेस संसदीय दल बैठक जारी छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि तटस्थ बस्ने भएको छ। यहाँ राप्रपाका सभामुखसहित ६ जना सांसद छन्।
एकीकृत समाजवादी अहिले सरकारमा गइसकेको छैन। तर संघीय सरकारदेखि अरू प्रदेश सरकारहरूमा एकीकृत समाजवादी पनि सामेल छ।
यसअघि कांग्रेसका केदार कार्की नेतृत्वको सरकारबाट एमाले, माओवादी र जसपा नेपालले समर्थन फिर्ता लिँदा पनि एकीकृत समाजवादी भने सरकारमै बसिरहेको थियो। कार्की वैशाख २७ गते तेस्रो पटक मुख्यमन्त्री बनेका थिए।