फिदिम ।युरोपका विभिन्न ११ सहरमा आयोजना भइरहेको युरो कप २०२० फुटबल प्रतियोगितामा आज राति दुई खेल हुँदै छन् । आज राति ‘ग्रुप अफ डेथ’ मानिएको टोली समूह ‘एफ’का चार टोलीले प्रतिस्पर्धा गर्दै छन् ।
आज हुने पहिलो खेलमा साविकको विजेता पोर्चुगलले हङ्गेरीको सामना गर्दै छ । नेपाली समयानुसार राति ९ः४५ बजे हुने उक्त खेल हङ्गेरीको फेरेन्स पुस्कास स्टेडियममा हुनेछ । जसमा दुवै टिम एक–अर्कालाई हराउँदै सुखद सुरुआत गर्ने दाउमा हुनेछन् ।
पोर्चुगलले सन् २०१६ मा उपाधि जितेको थियो । अब, यो संस्करणमा पनि जितको यात्रा कायमै राख्दै उपाधि रक्षा गर्ने दाउमा पोर्चुगल छ ।
यस्तै आजको अर्को खेलमा विश्व विजेता फ्रान्स र उपाधि दाबेदार मानिएको जर्मनीले खेल्दै छन् । राति १२ः४५ बजे हुने उक्त खेल जर्मनस्थित एलियान्ज स्टेडियममा हुनेछ । यस खेलमा पनि दुवै टोली एक–अर्कामाथि जित निकाल्दै सुखद सुरुआत गर्ने लक्ष्यमा हुनेछन् ।
प्रतियोगिता सुरु भएको ६० वर्ष पुगेको अवसरमा युरोपका ११ सहरमा युरो कप जारी छ ।सुरुमा सन् २०२० को जुन १२ देखि जुलाई १२ सम्म प्रतियोगिता आयोजना हुने तय थियो । तर कोरोना भाइरसका कारण प्रतियोगिता एक वर्ष सारिएको हो ।