ताप्लेजुङ । आगामी भदौ ३ देखि १० गतेसम्म हुने ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको राशि बढाइएको छ । सदरमुकाम फुङलिङमा रहेको भानुजन माविको मैदानमा हुने गोल्डकपको राशि ५ लाख ५ सय बनाइएको छ ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार उपविजेताले नगद २ लाख ५० हजार पाउने छ । गत वर्षसम्म प्रथम हुने टिमले ३ लाख ११ हजार र द्वितीय हुने टिमले १ लाख ५१ हजार पाउँदै आएका थिए ।
आयोजक लाखे जात्रा खेल सञ्चालक समितिका अध्यक्ष देवराज गुरुङका अनुसार गोल्डकपमा ८ टिमले सहभागिता जनाउने छन् । उनका अनुसार आयोजकको तर्फबाट संघर्ष स्टार्टिङ क्लब उकाली पानीले सहभागिता जनाउने छ । उस्ले जिल्लामै क्रियाशील खेलाडीलाई मैदान उतार्ने तयारी गरेको जनाइएको छ ।
पाहुना टिमको रुपमा पाँचथर फुटबल क्लब पाँचथर, सगरमाथा स्पोर्टिङ क्लब मोरङ, सलहेस युथ क्लब सिराहा, त्रिभुवन आर्मी क्लब काठमाण्डाैं, बुटबल लुम्बिनी एफसी क्लब, कञ्चनजंगा एफसी भारत र झापाको एक टिम रहने छन् ।
झापाको टिम भने फाइनल गर्न बाँकी रहेको आयोजक समितिका अध्यक्ष गुरुङले बताए । यसैगरी, गोल्डकपको सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार र बाँकी सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचलाई १० हजारका दरले पुरस्कार दिइने सचिव टिकेन्द्र नेपालीले जानकारी दिए ।
क्वाटरफाइनलसम्म जनही १ सय, सेमिफाइनलमा २ सय र फाइनलमा २५० रुपैयाँ रहेको टिकट दरबाट आयोजकले २५ लाखभन्दा बढी उठाउने अपेक्षा गरेको छ । गतवर्ष १० लाख उठेको थियो । ५७ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितामा टिकटलाई मुख्य स्रोतको रुपमा राखिएको छ ।
गतवर्षको प्रतियोगिता रेडहर्स फुटबल क्लब इलामले जितेको थियो । यो वर्ष इलामलाई आयोजकले बोलाएको छैन । गतवर्ष भदौ १४ देखि २० गतेसम्म चलेको प्रतियोगितामा दार्जिलिङसहित ८ टिमको सहभागिता थियो ।