ताप्लेजुङ । सोमबारबाट सूरु भएको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक संघर्ष स्पोर्टिङ क्लबले विजयी सुरुवात गरेको छ ।
जितसँगै आयोजकले अन्तिम चारमा स्थान सुरक्षित गर्योे । पाहुना टोली भारतको कञ्चनजङ्घा एफसीमाथि जित निकाल्न आयोजकले १०५ मिनेट संघर्ष गर्नु परेको थियो । जसमा ७-५ गोलअन्तरमा आयोजकको जित सम्भव भयो । पहिलो हाफमा ४-१ गोलअन्तरले अग्रता लिएको आयोजकका लागि दोस्रो हाफ अनपेक्षित बन्यो ।
फरक रणनीति लिएर दोसे हाफमा मैदान उत्रिएको पाहुना टोलीले नाटकीय ढंगबाट पुनरागमन गरेको थियो । दोस्रो हाफमा आयोजकले १ गोल फर्काए पनि पाहुना टोलीले भने ४ गोल गरेर ९० मिनेटभित्र समान ५-५ गोलको बराबरी खेलेको थियो ।
अतिरिक्त १५ मिनेटमा आयोजकले थप २ गोल गरेर घरेलु समर्थकको मन जितेको हो ।
आयोजकका लागि दिपेश लिम्बू, अनुप सेन्दाङ, सागर श्रेष्ठले एक एक गोल गर्दा मन्जित येङदेन र सविन तामाङले समान २-२ गोल गरे । पाहुना टोलीका लागि जाङ्रबो भुटियाले ह्याट्रिक पूरा गर्दा प्रनेश प्रधानको नाममा २ गोल रह्या्े । खेलको म्यान अफ दी म्याच आयोजक टोलीका सविन तामङ भए। उनले नगद पाँच हजार पाए ।
भदौ १० गतेसम्म हुने प्रतियोगितामा ८ वटा टिमले सहभागिता जनाएका छन् । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा भानुजन माविको प्राङ्गणमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताको विजेता नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार ५५५ सहित ट्रफी पाउने छ ।
मंगलबार पाँचथर फुटबल क्लबले सहलेश युवा क्लब सिरहासँग प्रतिस्पर्धा गर्नेछ ।