काठमाण्डाैं ।झापामा १४ वर्षअघि हत्या गरेर फरार रहेका अभियुक्त काठमाडौंबाट पक्राउ परेका छन्। पाँचथरको साविक च्याङ्गथापु गाबिस– ६ घरभई तत्कालीन समयमा झापाको दमक नगरपालिका–१० बस्ने सुजन बेघालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बिहीबार कीर्तिपुरबाट पक्राउ गरेको हो।
२०६७ जेठ २९ गते झापा दमक–१० स्थित पाथिभरा सिनेमा हल पछाडी खगेन्द्र राईमाथि निर्घात कुटपिट भएको थियो। उक्त घटनामा बेघासहितका व्यक्तिको संलग्नता रहेको प्रहरीले जनाएको छ। कुटपिटबाट घाइते भएका राईको धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोही वर्ष असार १४ गते मृत्यु भएको थियो।
सोही घटनाको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो। सर्वोच्चले २०७५ वैशाख २ गते अन्तिम फैसला सुनाउँदै बिहीबार पक्राउ परेका बेघालाई जन्मकैद हुने ठहर गरेको थियो। प्रहरीका अनुसार बेघा सुरुदेखि नै फरार थिए। बिहीबार उनी कीर्तिपुरमा लुकिछिपी बसेको खबर पाएपछि सिआइबीबाट खटिएको टोलीले पक्राउ गरेको थियो। सिआइबीले पक्राउ गरेर उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेस गरेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीले जानकारी दिए।