पाँचथर– फिदिम नगरपालिका–७ रानीटारको बराजु खेलमैदानमा रोपाई जात्रा हेर्नलाई विभिन्न ठाँउबाट दर्शक आईपुगेका थिए । अघिल्लो पुस्ता अतितलाई सम्झिएको थियो भने नयाँ पुस्तालाई नवितम रुचि थियो ।
केहि दिनदेखि फुटवल प्रतियोगिता भईरहेकाले सो क्षेत्रमा चहलपल थियो । यहि चहलपहलमा रोपाई जात्राले रौनकता प्रदान गर्यो ।
रानीटार माध्यमिक विद्यालयका विद्यार्थीले सुरुमा पिटि प्रर्दशन गरेका थिए । पिटि सकिएपछि गोरु, वाहुसे लगायतको अभिनयमा कलाकार खेलमैदानमा आइपुगे । खेलमैदानलाई खेत ठानेर रोपाई जात्रा सुरु भयो । रोपाँई जात्रामा रानीटार माविका अलवा सगरमाथा आधारभुत विद्यालयका विद्यार्थी सहभागि थिए ।
केहि क्षणमा छात्राहरु रोपाईको अभिनय गर्न खेलमैदानमा प्रवेश गरे । उनीहरु विभिन्न जातजातीमा आधारीत परम्परागत पोशाकमा सजिएका थिए । बहुजातीय सास्कृतिक पोशाकका कारण खेलमैदान आर्कषक देखियो । रोपाइ गरिरहेका दृष्य सुन्दर देखिन्थे । कहिले कुहिरोले छाप्थ्यो, कहिले सिममिस पानि समेत पर्यो । तर रोपाँइको रौनक देखियो । इतिहासको परम्पराको सम्झनामा रोपाँइ जात्रालाई पुनः सुभारम्भ गरिएको आयोजकको भनाई छ । कृषकका विषय उठान गर्ने, विद्यार्थीहरुलाई कृषिसम्बन्धी नयाँ जानकारी दिदै परम्परालाई निरन्तरता दिन खोजीएको आयोजक रानीटार युनाईटेढ क्लबका अध्यक्ष टंक गुरुङ बताउँछन् ।
बर्षौ अगाडी रानीटारमा रोपाँइ जात्राको रौनक हुन्थ्यो । भदौँ–४ गते वाल दिवसको अवसरमा रोपाई जात्रा हुने गथ्र्यो । केहि दिन अगाडीदेखि फुटवल प्रतियोगिता हुन्थ्यो । द्वन्द्वकालमा यो जात्रा बन्द भयो । ६ बर्ष अगाडी वाल दिवसकै अवसर पारेर भदौँ–२९ गते यो जात्रा लगाईएपनि पुनः कोभिडले रोकिदियो ।
लामो समय पछि भएको रोपाईजात्राले रानीटारमा रौनकता पारिदिएको छ । पञ्चायतकालीन समयमानै सुरु भएको जात्रामा विद्यार्थीहरुको मेहनत निक्कै देखिन्थ्यो । वाल दिवसको दिन विद्यार्थीहरुले उत्कृष्ट प्रर्दशन गरे । यसले रानीटारको पहिचान थप विस्तार गरेको फिदिम–७ का वार्ड अध्यक्ष रुपेन्द्र तामाङ बताउँछन् ।