पाँचथर ।पछिल्लो चौबीस घन्टामा पाँच जिल्लामा भारी वर्षा मापन भएको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलाम, सप्तरी, मोरङ, झापा र कैलालीमा चौबिस घन्टामा १०० मिलिमिटरभन्दा बढी पानी परेको हो।
पछिल्लो चौबीस घन्टामा पाँचथर सदरमुकाम फिदिममा ५३ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्यो भने अति भारी वर्षा भनिन्छ।
सप्तरीमा चौबीस घन्टामा १५१.८ मिलिमिटर वर्षा भएको छ। मोरङको विराटनगरमा १४१.१ मिलिमिटर, इलामको कन्याममा १०७.२ मिलिमिटर, कन्काइ मैनाचुलीमा १११ मिलिमिटर, उदयपुरको सुन्दरपुरमा ११९.६ मिलिमिटर, सप्तरीको रूपनी बजारमा ११५ मिलिमिटर वर्षा मापन भएको, कैलालीको धनगढीमा १०१ मिलमिटर वर्षा भएको छ।
धेरै जिल्लाहरूमा पछिल्लो चौबीस घन्टायता ५० मिलिमिटर भन्दा बढी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।पछिल्लो एक घन्टामा झापाको केचनामा १६ मिलिमिटर वर्षा मापन भएको छ।मोरङ, सप्तरी, सर्लाही, काठमाडौं लगायत विभिन्न ठाउँहरूमा वर्षा भइरहेको छ।
दिउसो सातै प्रदेशमा भारी वर्षा र केही स्थानहरूमा धेरै भारी वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ।