पाँचथर । बिहीबार रातिदेखि देशभर अविरल वर्षा भइरहेको छ। यो क्रम अझै आइतबारसम्मै रहने मौसमविद्ले बताएका छन्। देशको मध्य र पूर्वी तराईमा अति भारी वर्षा मापन भएको छ। झापा, मोरङका केही भाग डुबानमा समेत पर्न थालेका छन्।
पछिल्लो चौबीस घन्टामा पाँचथरको फिदिममा फिदिममा ५३ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्यो भने अति भारी वर्षा भनिन्छ।
बिहीबार रातिदेखि परेको पानीले राँके रबि सडक खण्डकको गेली भञ्जाङमा पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । फाल्गुनन्द गाउँपालिका , स्थानिय र प्रहरीको सहयोगमा सडक अबरोध हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यस्तै, तमोर करिडोरको नावाखोलमा खोला बढेर तमोर करिडोर पुणर्रुपमा अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उता, मध्यपहाडी लोकमार्ग अन्तरगत ओयाम च्याङथापु सडकखण्ड पनि दोभान खोलमा बनाइएको डाइभर्सनको सतहमा खोला बग्न थाले पछि मध्यपहाडी लोकमार्ग पनि पुणर्रुपमा अबरुद्ध भएको जनाइएको छ । मेची राजमार्ग भने अबरुद्ध नभएको प्रहरीले जनाएको छ ।
पाँचथरमा मानवीय क्षति भने अहिलेसम्म नभएको प्रहरीले जनाएको छ। मौसमविद्हरूले आइतबार रातिसम्म वर्षाको सम्भावना औंल्याएका छन्। भारी वर्षा हुने सम्भावना रहेकाले शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रीबस नचलाउन आग्रह गरिएको छ।