काठमाडौं । देशका विभिन्न भेगमा हिजो र अस्ति परेको लगातारको वर्षाले ठूलो मात्रामा जनधनको क्षति भएको छ । निरन्तरको झरी र यसले निम्त्याएको बाढी, पहिरो, डुबान तथा अन्य कारण आममानिसको जीवन सामान्य रूपमा फर्किन अझै केही समय लाग्ने देखिएको छ ।
प्राकृतिक विपद्को खतरा पार नभइसकेको अवस्थामा अत्यावश्यक काममा बाहेक बाहिर ननिस्किन र विशेष गरेर लामो यात्रामा निस्किँदा सजगता अपनाएर मात्र निस्किन आवश्यक देखिएको छ । यदि तपाईँ लामो यात्रामा निस्किँदै हुनुहुन्छ भने यात्रापूर्व आफ्नो गन्तव्यमा पर्ने रुटको वर्तमान अवस्था के छ भनेर बुझ्न सक्नुहुन्छ ।
यसका लागि धेरै झन्झट बेहोर्नुपर्दैन । घरमै बसेर देशका विभिन्न राजमार्गको वर्तमान अवस्थाबारे जानकारी लिन सकिन्छ ।
-सबैभन्दा सुरुमा आफ्नो इन्टरनेट ब्राउजरमा गएर सडक विभागको वेबसाइट www.dor.gov.np ब्राउज गर्नुहोस् ।
-सडक विभागको ‘होम पेज’ मा पुगेर थोरै तल स्क्रोल गरेपछि ‘Road Status’ लेखेको एउटा आइकन भेट्नु हुनेछ । उक्त आइकनमा क्लिक गर्नुहोस् ।
– यसपछि तपाईँ विभागको अर्को पेजमा पुग्नु हुनेछ । जसमा “वि.स. २०८१ सालमा बाढी, पहिरो तथा अन्य कारणबाट राजमार्ग बन्द भएको अवस्था” लेखिएको टेस्क्ट देख्नु हुनेछ भने त्यसको ठीक तल सानो नीला अक्षरमा ‘Data Link’ लेखेको देख्न सक्नु हुनेछ ।
-अब ‘Data Link’ मा क्लिक गर्नुहोस् । यसपछि एउटा ‘एक्सेल शिट’ खुल्छ ।
उक्त ‘एक्सेल शिट’ को तलपट्टि विभिन्न शीर्षकमा सूचना राखिएका छन् । जसमध्ये ‘Disturbed Location’ नाम गरेको शिटमा क्लिक गर्नुभयो भने देशका विभिन्न राजमार्गको वर्तमान अवस्था देख्न सक्नुहुन्छ । जसमा राजमार्गको नाम, जिल्ला, सडक अवरुद्ध भएको समय, स्थान, सडक सुचारु हुन लाग्ने अनुमानित समय तथा सडकको ताजा अवस्थाबारे बुझ्न सम्पर्क व्यक्तिको नम्बर राखिएको छ ।
सडक विभागको वेबसाइटमा विभिन्न राजमार्गहरूको अवस्था अद्यावधिक हुने गरेको छ । त्यहाँ तपाईँले मार्गको अवस्थाबारे, मर्मत कार्य र अन्य महत्त्वपूर्ण जानकारी लिन सक्नुहुन्छ । त्यस्तै नजिकैको प्रहरी कार्यालय तथा प्रहरीको ट्राफिक अपडेटबाट यस सम्बन्धी जानकारी दिन सक्नुहुन्छ ।
फेसबुक, एक्स (ट्वीटर) जस्ता सामाजिक सञ्जालमा पनि विभिन्न यातायात सेवाप्रदायक र यातायात सम्बन्धी पेजहरूले राजमार्गको अवस्थाबारे सूचना दिएका हुन्छन् । ती पेजलाई फलो गरेर पछिल्ला जानकारी प्राप्त गर्न सक्नुहुन्छ । साथै समाचार माध्यमहरूले पनि समय-समयमा राजमार्गको अवस्थाबारे अपडेट प्रदान गर्छन् ।
लामो यात्रामा निस्किनु अघि राजमार्गको अवस्थाबारे जानकारी लिँदा तपाईँको यात्रा सुरक्षित रहन सक्छ ।