इलाम । असोज ८ देखि १२ सम्म भएको भारी वर्षापछिको बाढी–पहिरोले काबेली कोरिडोरका चार विद्युत् पोलमा क्षति गर्दा मेची पहाडका विद्युत् आयोजनाको उत्पादन नष्ट भएको छ ।
इलामको महमाईमा माई खोलाको कटानका कारण १३२ केभी प्रसारण लाइनको काबेली कोरिडोरका दुई विद्युत् पोल ढलेपछि इलाम, पाँचथर र ताप्लेजुङमा सञ्चालित विद्युत् आयोजनाको उत्पादन खेर गएको हो ।
अहिले १३३ केभी प्रसारण लाइन मर्मत गरेर विद्युत् सेवा सञ्चालन गरिएको छ । यसका लागि इलाममा रहेको पुवाखोला जनविद्युत् आयोजनामात्र सञ्चालन गरिएको नेपाल विद्युत् प्राधिकरण इलाम शाखा प्रमुख बिजलीप्रसाद यादवले बताए ।
काबेली कोरिडोरको विद्युत् पोलमा क्षति भएपछि इलाममा रहेका १६, पाँचथरका दुई र ताप्लेजुङका सात विद्युत् आयोजनाको उत्पादन प्रसारण हुन सकेको छैन । यी तीन जिल्लामा करिब अढाई सय मेगावाट विद्युत् उत्पादन भइरहेको थियो ।
विद्युत उत्पादन ठप्प हुँदा आयोजनाहरूले पनि करोडौ रुपैयाँको क्षति बेहोरिरहेका छन् । ‘अहिले प्रतिमेगावाट एक लाख १५ हजार रुपैयाँ क्षति भएको छ,’ एक आयोजनाका कर्मचारीले भने, ‘विपद् हो, केही भन्ने अवस्था त छैन तर आयोजनाले पनि यो विपदबाट ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ ।’
काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डमा पर्ने ५०, ५१, ५२ र ५३ नम्बर टावरलाई माई नदीको बाढीले क्षति गरेको दुहवी ग्रिडका प्रमुख रोशन खड्काले बताए । खड्काका अनुसार बाढीले ५१ र ५२ नम्बर टावरमा पूर्ण क्षति गरेको छ । ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको छ ।
‘क्षति त धेरै ठूलो छ । यसलाई कहिलेसम्ममा पुनर्निर्माण गर्न सकिन्छ भन्ने समय पनि यकिन गर्न सकिँदैन । चाँडोभन्दा चाँडो निर्माण सक्ने तयारीमा छौं,’ खड्काले भने, ‘पोलमा भएको क्षतिबाट तीन जिल्लाका सबै आयोजनाको उत्पादन खेर गएको छ । यसबाट कति आर्थिक क्षति भयो भन्ने त हिसाब नै गर्नुपर्ने अवस्था छ ।’