पाँचथर । देशका अधिकांश स्थानमा हिजोदेखि लगातार पानी परिरहेको छ । यतिबेला पनि फिदमलगायत पाँचथरका विभिन्न स्थानमा हल्कादेखि मध्यम पानी परिरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पाँचथर सदरमुकाम फिदिममा पछिल्लो चौबिस घन्टामा ४९ दशमलब १ मिलिलिटर वर्षा भएको छ । मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्यो भने अति भारी वर्षा भनिन्छ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार पाँचथर सहति देशका बिभिन्न स्थानहरुमा रातिदेखि नै ठाउँठाउँमा पानी पर्ने, रोकिने, फेरि पर्ने भइरहेको छ । महाशाखाका मौसमविद् सरोज पुडासैनीले दिनभर नै मौसम यस्तै रहने सम्भावना देखिएको बताए।
उनले भने, ‘लगातार झरी र भारी वर्षाको सम्भावना देखिएको छैन तर आज दिनभर नै मौसम खुल्ने सम्भावना कमै देखिएको छ।’ ‘तर मध्यम खालकै वर्षा भए पनि आकस्मिक बाढी आउन सक्छ, त्यसैले पानी परेपछि सतर्कता अपनाउनैपर्छ’, उनले भने।