पाँचथर ।दसैँको मुखमा मेची राजमार्ग अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङका नागरिकले सास्ती व्यहोर्नुपरेको छ । राजमार्ग अवरुद्ध हुँदा दसैँमा यात्रा गर्ने यात्रुले कष्टपूर्ण वैकल्पिक सडकको प्रयोग गर्नुपर्ने बाध्यता आइपरेको हो । १२ असोजबाट परेको अविरल वर्षाका कारण मेची राजमार्गको दुई ठाउँमा क्षति पुगेको छ । झापाबाट इलाम, पाँचथर हुँदै ताप्लेजुङ जोड्ने मेची रागमार्गको दुई ठाउँमा अवरुद्ध हुँदा १० दिनदेखि यातायात ठप्प छ ।
अविरल वर्षाका कारण इलाम नगरपालिका– ९ माईखोलानजिक दुई ठाउँमा सडक भासिएको छ । पाँचथर हुँदै ताप्लेजुङ जाने मेची राजमार्गअन्तर्गतको हेवा खोलामा आएको बाढीले गत १२ असोजमा बेलिब्रिज बगाउँदा राजमार्ग ठप्प छ । बेलिब्रिज बगाउँदा ताप्लेजुङसँगै पाँचथरकै हिलिहाङ र यङवरक गाउँपालिका पनि सदरमुकाम फिदिमबाट सडक सम्पर्क टुटेको छ । गत वर्ष हेवा खोलामा आएको बाढीले पक्की पुल बगाएपछि बेलिब्रिज निर्माण गरिएको थियो । यी दुई ठाउँमा अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङका नागरिकले वैकल्पिक मार्गको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।
दसैँको मुखमा अविरल वर्षाले मेची राजमार्गको इलाम नगरपालिका– ९ का दुई स्थानमा सडक भासिँदा यातायात ठप्प हुन पुगेको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए । ‘सुरुमा केही तल आधा मिटरजति सडक भासियो । त्यो सडकमा पर्खाल लगाउँदालगाउँदै केही माथि फेरि आधा मिटर सडक भासिएको छ,’ उनले भने, ‘अब तलको काम नसकीकन माथि काम सुरु हुँदैन । यहाँ सडक बन्न केही समय लाग्छ ।’ मेची राजमार्गको यही ठाउँमा विगतदेखि नै सडक क्रमशः भासिएको थियो । यसपटकको वर्षाले सञ्चालन नै नहुने गरी सडक भासिएको हो ।
मेची राजमार्गको इलाम– ९ मा सडक अवरुद्ध भएपछि वैकल्पिक सडकको खोजी भइरहेको प्रमुख भट्टराईले बताए । ‘वैकल्पिक सडक मर्मतका लागि पाँचवटा मेसिन आइतबारबाट लगाएका छौँ । तर, वैकल्पिक सडकमा जोगमाई खोला पर्छ,’ उनले भने, ‘खोला ठुलो छ । त्यहाँ रहेको हाइड्रोपावर चलायो भने मात्र सवारीसाधन हिँड्न सक्छ । सिडिओ साबले हाइड्रोपावरलाई सञ्चालनमा ल्याउन भन्नुभएको छ । तर, चलेन भने त्यो सडक पनि असम्भवजस्तै छ ।’
मेची राजमार्ग अवरुद्ध भएपछि सर्वसाधारणले झापाबाट इलाम पुग्न कष्टकर यात्रा गर्नुपरेको छ । फिक्कल हुँदै नयाँबजारको बाटो भएर इलामसम्म आउने गरेको इलामकी प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् । यद्यपि, इलाम सदरमुकासम्म ठुला गाडी नआएको उनले बताइन् । ‘साना पिकअप र यात्रुवाहक गाडी आएका छन् । ठुला गाडी आएका छैनन् । चाँडै वैकल्पिक सडक सञ्चालन गर्ने लक्ष्य हो,’ उनले भनिन्, ‘ठुला गाडी नआउँदा पनि तत्काललाई खाद्यान्न अभाव हुँदैन । इन्धनको केही कमी छ । तर, व्यवसायीहरूले वैकल्पिक मार्गबाट तत्काल नै इन्धन ल्याउँछौँ भन्नुभएको छ ।
हेवा खोलाले बेलिब्रिज बगाएपछि ताप्लेजुङमा सडक सञ्जाल टुट्यो
१२ असोजमा पाँचथरको हेवा खोलाले बेलिब्रिज बगाएपछि ताप्लेजुङमा पनि अहिले सडक सञ्जाल टुटेको छ । गत वर्षको बाढीले पक्की पुल बगाएपछि निर्माण गरिएको बेलिब्रिज पनि यसपटक हेवा खोलाको बाढीसँगै बगेको हो । बेलिब्रिज बगेपछि बल्ल बाँसको फड्के निर्माण भएको छ । ह्युमपाइप लगाएर यातायात सञ्चालनको तयारी गरिएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए । ‘आइतबार १८ वटा ह्युमपाइप ल्याएर राखियो । तर, त्यसले पुगेन । अब सानाठुला गरी थप १७ वटा ह्युमपाइप आएर सोमबारदेखि काम सुरु भएको छ,’ उनले भने, ‘सम्भव भएसम्म मंगलबारबाट यातायात सुरु गर्ने योजना छ । तर, हेवा खोलाको पानी धेरै भएकाले ह्युमपाइप लगाउन समस्या भएको छ ।’ यहाँ तत्काल बेलिब्रिजको आवश्यकता भएको उनले बताए । ‘त्यहाँ तत्काल बेलिब्रिज निर्माण गरिएन भने अर्को असारमा फेरि उस्तै अवस्था आउँछ । यसबारेमा विभाग र मन्त्रालयलाई पनि थाहा छ,’ उनले भने, ‘तर, तत्काल सडक सञ्चालन गर्न मात्र ध्यान दिएका छौँ । बेलीब्रिजको बारेमा ध्यान दिन पाएका छैनौँ ।’
हेवा खोलाले मेची राजमार्गको बेलीब्रिज र तमोर करिडोरको सडक नै बगाएपछि अहिले ताप्लेजुङ जाने यात्रु तेह्रथुम भएर कच्ची सडकमा जोखिमपूर्ण यात्रा गरिरहेका छन् । ताप्लेजुङ जाने दुईवटा वैकल्पिक कच्ची सडक रहेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए । तर, त्यो सडकबाट साना सवारी मात्र आवतजावत गर्छन् । ठुला सवारी आवतजावत हुन नसकेको प्रजिअ आचार्यले बताए । मेची राजमार्गको विकल्पको रूपमा रहेको तमोर करिडोरमा समेत हेवा खोलाले क्षति पुर्याएपछि अहिले यातायात ठप्प भएको उनको भनाइ छ ।
तमोर करिडोरअन्तर्गत हेवा खोलामा पनि तत्काल ह्युमपाइप राखेर यातायात सञ्चालन गर्न निर्देशन दिइएको उनले बताए । ‘तमोर करिडोर खुल्नेबित्तिकै धेरै सहज हुन्छ । मालवाहक सवारी तमोर करिडोरबाटै आवतजावत गर्न सक्छ,’ उनले भने, ‘त्यहाँको पनि तत्काल काम सुरु हुन्छ ।’
तमोर कोरिडोरअन्तर्गत हेवा खोलाले गत वर्ष बेलिब्रिज बगाएको थियो । यसपटकको बाढीले करिब आठ सय मिटर सडक बगाउँदा सडक सञ्चालनमा समस्या भएको तमोर करिडोर आयोजना प्रमुख प्रदीप निरौलाले जानकारी दिए । ‘सडक पनि बगाएका कारण तत्काल सञ्चालनमा कठिनाइ छ । खोला ठुलो भएका कारण र करिब आठ सय मिटर बाटो बगाएका कारण तत्काल बनाउन समस्या छ,’ उनले भने, ‘हामी दसैँ र तिहारकै बिचमा बनाउने छौँ ।’ तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सिमानामा रहेको नावा खोलाका कारण अवरुद्ध रहेको सडक भने खुलेको उनले बताए ।