पाँचथर । गत साल असार २ गते आएको अबिरल वर्षाले हेवाखोलाको पक्कि पुल बगायो । करिब एक महिना लगाएर हेवाखोलामा बेलीबृज जोडीयो । बेलीबृज जोडीयो सँगै पाँचथरका हिलिहाङ, याङवरक गाउँपालिका सहित छिमेकी जिल्ला ताप्लेजुङ पनि यातायात सम्पर्कमा जोडीए ।
असोज १२ गते हेवाखोलामा आएको बाढीले एक वर्ष अगाडीको कथा दोह्राएको छ । दश दिन देखी पाँचथरका हिलिहाङ, याङवरक गाउँपालिका सहित छिमेकी जिल्ला ताप्लेजुङ पनि यातायात सम्पर्क छिनेको छ ।
बन्छ, बन्छ भनेको १० दिन हुँदा समेत मेची राजमार्गस्थित हेंवा खोलामा डाइभर्सन निर्माण हुन सकेको छैन । सडक डिभिजन कार्यालय इलामले काममा ढिलासुस्ति गर्दा अझै डाइभर्सन बन्न नसकेको हो ।
दश दिन देखी सडक अबरुद्धहुँदा ताप्लेजुङसम्मको यातायात प्रभावित भएको छ । चाडपर्वको मुखमा चारपाङ्ग्रेस सवारी साधानहरु आवतजावत गर्न नसक्दा ताप्लेजुङ क्षेत्रमा खाद्यसंकट सुरु भएको छ । असोज १२ गतेको बाढीले पाँचथरको फिदिम नगरपालिका ४ र हिलिहाङ गाँउपालिका ७ लाई जोड्ने हेंवा खोलाको बेलीबृज बगाएपछि मेची राजमार्ग अबरुद्ध छ ।
प्रयाप्त ह्यूमपाईप नहुँदा निर्माणमा ढिलाई भएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए । ‘थप ह्यूमपाईप झिकाईएको छ,’ भट्टराईले भने ‘मंगलबार साँझसम्म डाइभर्सन निर्माणले पूणर्ता पाँउछ ।’
डाईभर्सन निर्माणका लागि गलत स्टिमेट हुँदा ह्यूमपाईप कम मगाइएको थियो । १६ वटा ह्यूमपाईप झिकाईएको थियो । उक्त ह्यूमपाईप अपुग भएपछि डाइभर्सन निर्माण अधुरो रहेको हो । इटहरीबाट थप २० वटा ह्यूमपाईप झिकाईएको भट्टराईले बताए ।