काठमाण्डाैं । इलामको माईखोलामा आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको पुनर्निर्माण सकिएको छ। गत असोज १२ गते शनिबार माईखोलामा आएको बाढीले काबेली करिडोर प्रसारणलाइनअन्तर्गत इलामको माई नगरपालिका– १ र ७ स्थित धोद्रेबेँसीमा चारवटा टावरमा क्षति पुर्याएको थियो ।
नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारणलाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाहरूले संयुक्त रूपमा पुनर्निर्माण तथा पुनर्स्थापना गरी सोमबार दिउँसो ४:३० बाट प्रसारणलाइन सञ्चालनमा ल्याएको हो । काम सुरु गरेको १९ दिनमा काम सम्पन्न गरी प्रसारणलाइन सञ्चालनमा ल्याइएको निजी क्षेत्रका तर्फबाट पुनर्निर्माणमा खटिएका ऊर्जा उद्यमी मोहन कार्कीले बताए।
प्रसारणलाइन सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरूले विद्युत् उत्पादन सुरु गरेका छन् । आयोजनाहरूबाट १२ असोजबाट विद्युत् उत्पादन बन्द थियो । प्राधिकरण र निजी क्षेत्रले संयुक्त रूपमा पुनर्निर्माण अगाडि बढाएका थिए ।
काबेली करिडोर प्रसारणलाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डको धोद्रेबेँसीमा ५०, ५१, ५२ र ५३ नम्बर टावरलाई माईखोलाको बाढीले क्षति पुर्याएको थियो । त्यस स्थानबाट प्रसारणलाइनलाई माईखोला पार गराएको थियो । उक्त स्थानमा प्रसारणलाइनको स्पान साढे सात सय मिटर रहेको छ ।
चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्ण रूपमा क्षति पुर्याएको थियो । बाढीले उक्त टावर ढालेको थियो । त्यहाँ अर्को नयाँ टावर बनाइएको हो । ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको थियो । ५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको थियो । ५३ नम्बर टावरको क्रस आर्म र टुप्पोको संरचनामा क्षति पुगेको थियो । दुवै टावरको मर्मत गरिएको थियो । प्रसारणलाइन पुनर्निर्माणमा उक्त स्थानका वडाका जनप्रतिनिधिहरूबाट पूर्ण रूपमा सहयोग प्राप्त भएको थियो ।