झापा । प्रहरीले बलात्कारपछि हत्या भएको आशङ्कमा दमकबाट एक जनालाई पक्राउ गरेको छ ।
दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत छात्रा सेजल कोइरालाको हत्या भएको आरोपमा भोजपुर घर भई हाल दमकमा बस्दै आएका अरुण राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
पीडित परिवारका तर्फबाट किटानी जाहेरी र मृतकको परीक्षण रिपोर्ट आएपछि प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा राईलाई मङ्गलबार नियन्त्रणमा लिइएको जनाइएको छ । अरुण र सेजलबीच प्रेम सम्बन्ध रहेको बताइएको छ ।
आरोपितलाई म्याद थपका लागि आज जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।
इलाम देउमाई नगरपालिका–४ मङ्गलबारे घर भई दमक–५ स्थित एक घरमा डेरा गरी बस्दै आएकी सेजल आफ्नै शौचालयको कमोडमा गत जेठ २७ गते साँझ बेहोस अवस्थामा भेटिएकी भन्दै साथीहरूले उपचारका लागि लाइफलाइन अस्पतालमा ल्याएका थिए । अस्पताल पुर्याउनेबित्तिकै सेजलको मृत्यु भएको थियो ।