काठमाडौँ । व्यापार ढाँटेको भन्दै फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ टिमले शनिवारबाट देशका २० हलमा फिल्म प्रदर्शनको अधिकार नदिने भएको छ। हल सञ्चालकहरूले फिल्मले गरेको व्यापार भन्दा कम विवरण देखाएको भन्दै २० साना हलहरूबाट फिल्म उतार्ने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ।
हाउसफूल अकुपेन्सीमा चलचित्र प्रदर्शन भए पनि हलहरूले निर्माण पक्षलाई निकै कम ग्रसकलेक्सनको रिपोर्ट उपलब्ध गराएको निर्माण कम्पनी सेभेन सिस सिनेमाको दाबी छ।
निर्माण कम्पनीका अनुसार शनिवारबाट अरुण हल विराटनगर, निलम सिनेमाज जनकपुर, विना हल लालबन्दी, गोरखा हल गोरखा, बर्दिबास हल बर्दिबास, विराटचोक हल मोरङ, सी.बि हल इनरुवा, दीपक हल बरहथवा, द्वारिका हल, हिमालय हल विराटनगर, चरिकोट हल दोलखा, एभरेस्ट हल राजगढ, धनकुटा हल धनकुटा, फिदिम हल पाँचथर, त्रिशूली हल नुवाकोट, इलाम हल इलाम, लभ कुश हल महेन्द्रनगर, त्रिमूर्ति हल र गिरिराज हल जनकपुरमा शनिवारबाट पूर्ण बहादुरको सारङ्गी लाग्दैन।
रिलिजको दोस्रो हप्तामा पुगेको फिल्म हाउसफुल चलिरहेको छ भने यसले नेपालको सर्वाधिक कारोबार गर्ने फिल्मको रेकर्ड बनाइसकेको छ। शुक्रवारसम्म फिल्मले २७ करोड बढीको कारोबार गरेको निर्माण कम्पनीले दाबी गरेको छ।