काठमाडौं । जिमेल अकाउन्ट ह्याक गरी बैंक खाताबाट चार लाख रुपैयाँ बढी ट्रान्सफर गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ घर भई हाल झापाको दमक बस्दै आएका १९ वर्षीय प्रकाश श्रेष्ठ रहेका छन् ।
केही दिन पहिले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा ४१ वर्षीय पीडित मोबाइल बैंकिङ एपबाट चार लाख रुपैयाँ लुटिएको भन्दै उजुरी दिन आए । कार्यालयले तत्कालै अनुसन्धान प्रक्रिया अगाडि बढायो । कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार सबैभन्दा पहिले उक्त बैंक खाताबाट रकम कहाँ गएको छ भन्ने खोजी गरियो । त्यस क्रममा चार लाख रुपैयाँमध्ये केही वालेटमा र केही रकम अन्य बैंक खातामा ट्रान्सफर गरेको फेला पर्यो ।
ती बैंक खाता कुन आईपी एड्रेसबाट सञ्चालन भएका छन् भन्ने खोजी गर्दा प्रहरी श्रेष्ठसम्म पुगेको हो । त्यसपछि जिल्ला प्रहरी कार्यालय झापा तथा पाँचथरसँगको समन्वयमा आरोपी श्रेष्ठलाई दमकबाट आइतबार नियन्त्रणमा लिएको हो ।
श्रेष्ठले पीडितको जिमेल अकाउन्ट ह्याक गरी त्यसैबाट बैंक खाताको पहुँच पाई रकम ट्रान्सफर गरेको बयान दिएका छन् । उनी आईटी विद्यार्थी रहेको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले बताए ।
पीडितको जिमेल अकाउन्टको पहुँच पाउन श्रेष्ठले कुन तरिका अपनाए भन्ने खुल्न बाँकी छ । पक्राउ परेका श्रेष्ठबाट ७० थान एनसेलका सीम, तीन थान मोबाइल, एउटा ल्यापटप र १ टीबीको एसएसडी बरामद गरिएको छ ।
उनीमाथि ठगी सम्बन्धी कसुरमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।