पाँचथर । पाँचथर सदरमुकाम फिदिममा पुस ६ गतेदेखि सुरु हुने एघारौं संस्करणको फाल्गुनन्द गोल्डकपको खेल तालिका सार्वजनिक गरिएको छ । सोमबार आयोजक फिदिम स्र्पोटिङ क्लबले सामाजिक सञ्जाल मार्फत गोल्डकपको खेल तालीका सार्वजजिक गरेका हुन् ।
पुस ६ गते ११ औँ संस्करणको उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले पाहुना टोली करसाङ एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी, मच्छिन्द्र एफसी काठमाडौँ र झापा ११ फुटबल क्लबले दोस्रो खेल खेल्नेछन् ।
त्रिभुवन आर्मी एफसी र झापाको न्यू स्टार क्लब बाइ पाएर सोझै क्वाटरफाइनलमा स्थान बनाएका छन् । पहिलो खेलको विजेताले आर्मी र दोस्रो खेलको विजेताले न्यू स्टारसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी, चर्च ब्वाइज युनाइटेडले विराटनगर सिटी एफसीसँग र एनआरटी काठमाडौँले सलहेश युवा क्लब सिरहासँग अन्तिम क्वाटरफाइनल खेलमा प्रतिस्पर्धा गर्नेछ ।
पुस १५ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख ५५५ रुपैयाँ पाउने छ । २०६५ सालदेखि सञ्चालन भएको गोल्डकपको राशि यसपटक दोब्बर बनाइएको हो । गोल्डकपले २०७५ सम्म निरन्तरता पाएको थियो ।छ वर्षपछि हुन लागेको गोल्डकपको १०औँ संस्करणको विजेताले चार लाख ४४ हजार ४४४ रुपैयाँ पाएको थियो । यो संस्करण झापा ११ एफसीले जितेको थियो ।
आयोजक फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापामगरका अनुसार प्रतियोगितामा ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एक थान इभी स्कुटर प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार पाउँदा सर्वाधिक गोलकर्ताले नगद १५ हजार पाउनेछ । यसैगरी, उत्कृष्ट रक्षक, प्रशिक्षक, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र उदयीमान खेलाडीले समान १० हजार प्राप्त गर्नेछन् ।