पाँचथर । फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा आज ए डिभिजन क्लब न्युरोड टिम र मौफसलको क्लब सलहेश फुटबल क्लब बिच प्रतिस्पर्धा हुँदै छ ।
खेल फिदिम माविको मैदानमा दिउँसा २ः३० बजेदेखि हुने छ । प्रतियोगिताको विजेताले सेमिफाइनलमा स्थान बनाउने छ । यसअघि आयोजक फिदिम स्पोर्टिङ क्लब, मच्छिन्द्र एफसी र लिग लिडर चर्च ब्वाइज युनाइटेड प्रवेश गरिसकेका छन् ।
राष्ट्रिय टोलीका सदस्य अन्जन विष्ट लगायतका खेलाडीहरु सहित एनआरटी मैदान उत्रने छ । एनआरटिलाई उपाधि दाबेदार टोलीको रुपमा हेरीएको छ । एनआरटीबाट अन्जन विष्ट सहित अभिशेक लिम्बु, बिशाल सुनुबार, बिदेशी खेलाडी मार्टिन्स, नेयमार लगायतका खेलाडीहरु रहेने एनआरटिका टिम व्यवस्थापक श्याम मालीले जानकारी दिए ।
यता मधेश प्रदेशको बलियो टोली सलहेश पनि ३ जना बिदेशी खेलाडीहरु सहित मैदान उत्रने बताइएको छ । सलहेशबाट बिदेशी खेलाडी पिटर,बोटीङ र ह्यारी रहने छन् । कुलदिप कार्की, अभिशेक बराद,सृजन क्षेत्री लगायतका खेलाडीहरु सलहेशमा रहने सलहेश क्लबका रनदिप यादबले जानकारी दिए ।
इलाम गोल्डकपको दुई पटकको च्याम्पियन र झापा कपको उपविजेता एनआरटीले दुई साता नबित्दै तेस्रो गोल्डकपमा प्रतिस्पर्धा गर्दैछ । सलहेश ताप्लेजुङ गोल्डकपको उपविजेता टोली हो । सेमिफाइनलमा सलहेशमाथि १–० को कठिन जित हात पारेर चर्च ब्वाइज झापा कपको फाइनलमा प्रवेश गरेको थियो ।
गोल्डकप विजेताले नगद १० लाख ५ हजार ५५५ र उपविजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँसहित आकर्षक ट्रफी पाउने छ । प्लेयर अफ दी म्याच बन्ने खेलाडीले नगद १० हजार पाउने छ ।