थाम्सुहाङ पुष्प सुब्बा
उत्तरवर्ती विचारका बारे भनिसकेको छु कतै – अहिले आ–आफ्ना दृष्टिकोणको विचार विमर्श बाहेक अरु बढि आँकिहाल्नु महङ्गो सावित हुन सक्छ । तर, वास्तवमा कविता कृतिका अद्योपान्त अध्ययन नगरेकै अवस्थामा कृतिको अन्तिम आवरणमा लेखेँ –प्रतेक पिडी आफ्नो समयसँग जन्मन्छ – आफ्नै वोधताको सापेक्ष लिएर । र, यसले पूर्व मान्यताहरु भत्काएर स्वयं वोधताका चेतहरुले विविध केन्द्रीयताहरुको निर्माण गर्छ । यी नै परिप्रेक्षबाट स्वायत्तवोधताको उत्तरवर्ती आन्दोलन आएको तथ्य मलाई वोध भयो ।
तर माङफुनको कायाकल्प प्रकाशनमा आए पछि आफ्नो बोधलाई सांगोपांगोमा पर्गेल्दा स्वभाविक पाउँदा पाउँदै पनि कृतिभित्र अँटिएका विश्व परिवेशको साँघुरो आयतनभित्रै अनेक आयतनहरुको पनि अनुभूति नभएको हैन, तापनि तीहरु सप्पै स्वअस्तित्व बोधताको परिचायक सावित छन् मेरो पछिल्लो ठनाइ । उसो त उत्तरवर्ती घोषणा – पत्रले पनि यौटा मर्दकेन्द्रभित्र सताब्दीयौं दमित मानसिकतालाई भत्काएर नयाँ चेत र बोध अँगाल्ने उद्घोष गरेकै हो ।
युग निरन्तर प्रवाहित छ । प्रतेक वर्तमानले विगतलाई औंल्याएर नयाँ – नयाँ विचारको निर्माण गर्दै लान्छ । अतः यस्तै परिप्रेक्ष्यमा शताब्दीको प्रतेक वर्तमानगत कविताहरु लेखिँदै जाँदोरहेछ । विचारान्तर, लेखनान्तर चेतहरुले जन्माउने हुँदा वर्तमान शताब्दीको कविताहरु बुझ्न मुस्किल । तर अझै भनेको रहेछु –स्व, सार्वभौमिकताको गतिशील भूमिकाको निर्वाह । तेसैले प्रस्तुत दृष्टिकोणमा आलोचनात्मक वा समालोचनात्मक टिप्पणी जति थाँति राखेर आफ्नै शोधताबारे मात्र नलेखि नहुने ढिपी आफैंलाई लगाएको स्वीकारेको छु । मूलतः स्व – सार्वभौमिक गतिशीलताको भूमिका किन चाहियो कविता वा साहित्यमा ? कविता अन्तर्पाठकीय जगतले स्वेच्छिक जसरी बुझे पनि त हुन्छ । फेरि सार्वभौम सम्पन्न त प्रतेक स्वतन्त्र जन्मने मान्छे हो ।
कतै – कतै मर्दकेन्द्रले कैद गरेमा बाहेक मान्छेले सधैं स्वतन्त्रताको आडम्बर र पाठ गरिरहेकै हुन्छ । तर त्यो पाठभित्रको कैदलाई चेतले मात्र ठम्याउन र बेस्मारी चिन्न पनि सक्छ । हो तेसैबेला विचार भित्र ‘स्व’ पल्हाउँछ र तेसैको विवेचनात्मक चिन्तनले मान्छेमा स्वयं – बोधता उजागर हुन्छ । अनि कविको चेतले युगानुकुलको सामाजिक पराकाष्ठाहरुको कविता लेख्छ । प्रतिकुलताको विद्रोह गर्छ र मान्छे हुनुको समानान्तर पहिचान खोज्छ । लेखानान्तर, समानान्तर र ऐतिहासिक पृष्ठभूमिको अन्तरले समेत उत्तरवर्ती लेखन कालो साहित्य भन्दा पृथक र आन्तरिक उपनिवेशबाट मुक्तिका लागि स्व–सार्वभौमिकता तर्फ गतिशील मार्ग अवलम्वन गर्न महत्वाकांक्षी भूमिकाको निर्वाहमा अग्रसरित ठानेको छु । तेस्तै यो कविता कृतिले पनि सामाजिक, राजनैतिक, ऐतिहासिक एवम् सांस्कृतिकगत विचारहरुको फेरबदलमा स्व–पहिचानको अग्नीद्वीप जलाएको लाग्छ ।
ऐतिहासिक काल–खण्डको प्रतेक क्रममा दमित अवस्थामा आफैंलाई पाइसके पछि लेखन प्रवृत्ति विद्रोहात्मक हुनु अस्वाभाविक हैन । लाग्छ, अवको साहित्य लेखन कल्पानातीत होइन यथार्थको मिसिलमा रुपान्तरण भइसक्यो । स्वयम्को ऐतिहासिक, राजनैतिक र सामाजिक विगतको कायाकल्प टकटक्याएर वास्तविक चेतमा आउँदा मान्छेमा कस्तो वितृष्णा जाग्दो हो ? त्यो वैचारिक प्रकारान्तरले विविध होला ? तर, कविको चेतले भन्छ :–
चेतनाको नियतिबाट ब्यूझँदा
सनाखन कालो छ
यही एउटा कालो प्रश्न बन्छ
खै ! स्वतन्त्र बाटाहरु ?
देख्नै पर्ने यी नायुमाहरुमा
सायद अझै
बुवाले बन्न बाँकी छ
होसियार !
(बुढो याक्साहरुको मेलामा)
कथा बुवाले हात्तीको पनि छ । चेतनाको जगतले सानो र एमानको पृथकताको सीमा कोरेको हुदैन । सम्बद्ध छ फेरि नेगियारहररुको भ्रम र आपसी कुटुम्बको विच्छेद ढााँटिएको नायुमाहरुमा । तेसैले नियतिलाई थिचेर चेतना जाग्दा कालो सनाखत सबै स्वतन्त्रताहरुको बन्देज लगाइएको कहालाी लाग्दो यौटा ढाँटको खेलभित्र ‘स्व’ पाए पछि अब एमानहरुलाई बुवालेले सतर्कताको पाठ त पढाउने पर्यो । मतलब ? अब चेतको जगतमा अनिदै र स्वतन्त्र बाँच्नु पर्ने भयो । र, मात्रै ऐतिहासिक, सामाजिक, राजनैतिक, सांस्कृतिक जगततिर ‘स्व’ को पहिचान खुल्छ ।
परायाहरुकै उत्तरआधुनिक सिद्धान्तमा इतिहास अस्वीकार छ र यहाँ पनि सत्ताशक्ति निर्मित इतिहासको स्वीकार्य छैन । स्वनिर्मित विगतहरुको भग्नावशेष खोतलेर वर्तमानको ‘स्व’ सँग हातेमालो कस्नु पर्ने वाध्यता छ ।
विस्मृत स्वपहिचानलाई सजिव तुल्याएर वर्तमानसँगै सिंगौरी खेल्नु पर्ने स्थिति छ । म ! को ? कहाँबाट आएँ ? जानु कता ? जीवन्त अवस्थामा दिनु के ? को स्व–वोधताको खोज नै वर्तमान विश्व परिवेशको संक्रमणकालीन तकाजा छ । र, यो वैश्विककरणको पयार्यवाची भैसकेको अवस्थाले एक विश्व, एक इतिहास, एक भाषा, एक संस्कृतिलाई अपराजित चुनौति दिइ रहेको पनि छ । जसलाई मान्छे मात्रले भोलि इतिहास वा वाध्यताको शंखघोषका हैसियतमा वोधता अनुभूति गर्नु पर्छ । वास्तवमा सृष्टिको सारा व्यवस्था मान्छेको चेतले परिवर्तन गर्ने मानसत्व जिजीविषाका सशक्त चिन्तन कै कारण आज अरु बढि तक्निकी प्रलोभनको सुविधाजन्य अवस्था सृजित छ । अतः यहीनेर अर्को सवाल पनि सृजित छ :– आर्थिक दूरावस्था अझ जटिल त बन्दैन ? अथवा नीजि बौद्धिकताको दिव्य चेतमा ह्रास त आउँदैन ? सम्पूर्णमा स्व–म को अस्तित्व कुन महाभिनिष्क्रमणमा पुगेर सेलिने ? तेसैले सामाजिक पराकाष्ठाभित्र बाँचेको, हुर्केको र परिचित भएको चेतले आफ्नै स्वतः स्फुर्त निर्मितिलाई चिन्नु, तेसको विश्लेषण गर्नु र सम्पूर्ण कायाकल्पलाई यथार्थमा सामाजिक एवम् स्व–पहिचानको रंगभूमिमा अवतरण गर्नु, रात नभएर वैकल्पिक दिन शब्दको सार्थक अस्तित्व नहुनु बराबर हो । कविता कृतिले त तेसरी नै मानेको र आफैंलाई उजागर गरेको ऐतिहासिक बोध मेरो दृष्टिकोणमा देखाएको भेट्छु :–
यतिखेर,
भूमिपुत्रहरुले ठोकेको
साङ्माकेन र मानिकेनले
हाम्रो सिप्पा मातेको छ
रात दिन बोल्छ
मामा
पापालाई खबर पठाµँ
फेरि थुमको भोकमा
१९२५ को ३३२ दोहोर्याउन
काँध मात्तै थापौं
काङसोरेको नियति बचाउन ।
(मेरो टायामाको चिठ्ठीको प्रश्न)
पूर्वी नेपालको विशेष गरेर लिम्बूवान राज्यलाई सेन मकवानीहरुले दक्षिणी क्षेत्रबाट हस्तक्षेप गर्न खोज्दा आँट नपुग्नाले वि. सं. १८२५ मा लालमोहर द्वारा यथावत छाडेको गोरखा पूर्वको ऐतिहासिक उत्बोध यहाँ छ । तर ३३१ को सवाल भने वि. सं. १८३१ मा खम्बुवान क्षेत्रमा भएको भीषण युद्धको घटनासँग सम्बन्धित भएकोले यसको ऐतिहासिक महत्व पनि उत्तिकै उत्जीवित रहेको दखिन आउँछ ।
वास्तवमा ऐतिहासिक दस्तावेजकै आधारमा चेतनाले स्वबोधताको सामाजिक विघटनहरुको कायाकल्प केलाइन्छ । प्रागऐतिहासिक काल खण्डहरुको शासक : सिङवाङगढ लुङवाङगढको स्वामित्व, दूवो –ढुङ्गाको धनि कहलाइएका जातिहरुको सामाजिक अस्तित्व अवचेतनका कारण ह्रासोन्मुख भयो । अन्ततोगोत्वा खोसियो – मासियो, तर स्वनिर्मित इतिहास मासिएन । तेसैले विगतको कायाकल्पबाट वर्तमान बौरिन्छ । वर्तमानले साक्ष्यगत आफ्नो विगतको सामाजिक पराकाष्ठा छाम्छ । सामाजिक अधिकारको पुनः प्राप्तिको आन्दोलनभित्र आफैंलाई पाउँछ । यो भयो सुसुप्तता वर्जित भएपछिको जिजीबिषा । अतः कविता कृति भन्छ :–
अन्तिम सत्तामा
रै/क/र का लागि
रै/कर गाँसेर
रैक/र जोडेर
रैकर भएर
हा–मी–ह–रु हो
हा–मी–ह–रु पनि हो
हामीहरु चैं हो ।
(विस्थापित नारोआ : इतिहास सताब्दी संस्करण)
सामाजिक धरातलमा हेयपूर्वक बाँच्नुमा राजनैतिक र आर्थिक दुबै पक्षको प्रवल दमन जिम्मेवार हुन्छ र हुनु शासक र शासित बीचको अन्तर चिन्तन हो । कार्यशैलीको अन्तरता मानसिक चिन्तनको तौलबाट निर्धारण हुन्छ । तेसरी दमित जीवनयापनको अवस्थालाई उकास्ने मनोवृत्ति मान्छेभित्र कहिल्यै टुसाउँदैन । मान्छे अनादर बाँच्छ । आर्थिक विपन्नताले टुक्रा–टुक्रामा विभाजित हुन्छ । सामाजिक पराकाष्ठाभित्रै उ मूल्यहीन बाँच्छ । तेसैले समाजमै फष्टिरहेको सुगन्धित – दुर्गन्धित, हेय – आदर सबैसँग परिचित भइरहन्छ । अतः तेसैलाई चेतनाले टिपेर विकृत परम्पराको जडसूत्र सम्मै पुग्छ । तेसरी जब जडसूत्रले विगतको कायाकल्प मान्छे सम्मुख उभ्याइदिन्छ तब आफ्नो वर्तमानलाई अँगालेर मान्छे त्यही समाजको स्वतन्त्र परिभ्रमणमा हिँडछ र विगतको स्वनिर्मित इतिहाससँग हातेमालो गाँसेर चेतनाको अस्सीम आन्दोलनतिर उन्मुख हुन्छ । स्वपहिचानको उद्घोष गर्छ । सम्भवतः चेतना नथिचिँदा तेसैलाई विप्लवी राजनीति, खण्डित मनोलिप्सा आदि अनेक संज्ञाले प्रलाप उगेल्दा हुन् मान्छेहरु ? हिजको कहाँ थियो ? आज को कता पुग्यो ? बसः प्रश्नलाई पर्गेल्ने फुर्र्सद कसैलाई हुदैन । तर यो विना अस्तित्वको अस्तित्व वर्तमानसँग मुखरित छ । अर्थात अहिले २३९ बर्ष पश्चातको अस्तित्व कविता कृतिभित्र पनि बोलिरहेको छ । स्व – अस्तित्ववोधताको अग्नी कुण्ड – कुण्ड मौल्याएर ।
कोखैमा माङफुन काजु
नौ लाख हाङ
बौरिन्छ/व्युँतिन्छ
मुन्धुम फलाकेर
(म मात्तै खण्डनको खण्डन)
तर यो जुग
चेब्जुले भोगको गढी
पुर्खाले भोगेको राज्य
टाउको हानेर फूलको अर्थमा
भोग्न माग्छ देश ।
(नारोआ इतिहास सताब्दी संस्करण)
भोग्नुको लेक्सिवोक्ताङ षडयन्त्रको चपेटामा परेपछि फेरि व्युँतिन त मुन्धुम फलाक्नु र अझै खोतल्नु पनि पर्छ । यामले नबुझेमा युद्ध, आन्दोलन आदि अनेकौं निम्तिन्छ । स्वनिर्मित इतिहास तेसै भन्छ । तर लेक्सिवोक्ताङ खोसिनाले स्व – देश भोग्नुको निरर्थकता मात्रै उपस्थित भएन । संस्कृतिगत अनेक अनुपस्थितिहरु निर्णायक पुस्तिकामा हस्ताक्षर गर्न पुगे । अर्थात आदिवासीय स्वपहिचानहरुको विनाश भयो । तर भनाइ छ – स्वेच्छाले त्यज्य संस्कृति मात्तै लोप भएर जान्छ : शक्ति दमितहरु त फेरि र फेरि पनि बौरिन्छन् । तेसैले निर्णयको अस्वीकृतिका लागि बेहोरा जनाएर सनाखत गरिने पर्ने वर्तमान छ । वास्तवमा भाषा, संस्कृति, इतिहासको पूर्ण विलोपन नै स्वजातीय अस्तित्वको पूर्ण विनास मानिन्छ – प्रलयकारी युद्धको कुनै आवश्यकता छैन । तेसैले उक्त तीन तत्वको मर्मज्ञाता कविबाट स्वहिचान र तेसको उत्जीवततासँगै अधिकारको दावीका सवलाहरु विविध प्रसंगमा बोध – विविधतासँगै पुनः र अझै पुनः उठाइएको छ । चेतनागत स्वपहिचानको शंखघोष गरिएको छ । इतिहास र संस्कृतिगत हातेमालोको ज्योति – पुञ्ज प्रज्वलित गरिउको छ –नै लाग्छ ।
अचेल
यो बेला
दौंतरी उराङपाडा नाचौं
च्याङबा डम्फु नाचौं
लुङा केलाङ नाचौं
यावाचि साकेला नाचौं
र ! बाँचौं भन्ने इन्द्रेणीमा
हूलका हूल वर्तमानहरु
चेत टेकेर आउँछन् ।
(जिवा, खादा ल्होत्सोम्पालाई)
काङसोरे आर्को
हेङकुबुङ आर्को
फूल कलशमा राखेर – अस्तित्व
……………………….
चेतनको मिचिलिम्मा
चेतनाको अन्दङफूङ
चेतनाको सेकमुरी फूङ
चेतनाको मिक्चिरी फूङ
को निरन्तर – निरन्तर – निरन्तर
आ–आफ्नो अस्तित्वको मायामा
मान्छे बाँच्नुको बोधमा ।
(सेप्टेम्बर ११)
काव्य कृतिको यहाँ प्रस्तुति उधृतांशहरुबाट युगौं पश्चात मौलाएको चेतना जगत स्व – अस्तित्व वोधताका लागि औंल्याएका प्रस्तुतिहरु पर्याप्त छन् – साहित्य जतले बेला – बखत उगेल्ने प्रयास गर्छ – त्यो वास्तविक नेपाली नै भाषाप्रतिको अनुदार नीतिसम्म लाग्छ । राष्ट्रियताको सामाजिक बनावटलाई बिना कञ्जुस्याँइ मूल्याङ्कन गर्ने हो भने सबै राष्ट्रिय भाषाहरु राष्ट्र भाषाका समान हकदार छन् । र, नै बहु – भाषिक, सांस्कृतिक र परम्पराको बहु जातियताको सम्मिश्रित थल्लोको रुपमा हाम्रो चिन्हारी राष्ट्रले प्रस्तुत गर्छ । यसमा अवसर अनुरुप धेर – थोरको मात्रा हुन सक्ला ? तर भाषिक अपाङ्गताको पगरी चाँहि राष्ट्रभाषी निर्बौधिकताले ? सुगन सुसाराको कविता कृतिले यो भाँजो हालेको पनि मेरो दृष्टिकोणमा छर्लङ्ग छ ।
थाम्सुहाङ पुष्प सुब्बा सँग कबि सगुन सुसरा
वास्तविकता आफ्ना दृष्टिकोणलाई छर्लग्याउँदा माङफुनको कायाकल्प कृति यौटा हो, तर विशेषता अनेक । त्यहीभित्र चेतनशील मान्छेको विकसित चेत र तेस्को विश्लेषणात्मक प्रवृत्तिको दूरगामी निष्कर्ष, स्वयंवोधताका हकमा ऐतिहासिक, सामाजिक, राजनैतिक, सांस्कृतिक अनेक पक्षको परिमार्जित विश्लेषण र स्व – पहिचानको उद्घोष, विश्वपरिवेष्ठित वर्तमानका तकाजाहरुको तुलनात्मक विवेचना, प्रतिष्पर्धात्मक पृष्ठभूमिको निर्क्यौल, प्रमेलीला वा क्रीडाको बोध तथा स्व – पहिचानको अनुशरणको अवलम्वन आदि अनेक दृष्टान्तमा उछिन पाछिन आउँछन् ।
यथार्थ हो – नेपाली साहित्यको रचनाकाल मै पनि केही अन्तर्जातीय वा परिवेशका छिटफुट प्रसङ्गहरु कथा र उपन्यास क्षेत्रका नआएका हैनन् । नेपालमा बसोबास गर्ने काठमाडौं मोफसल भन्दा टाढामा पनि नेपाली हुनु, भन्ने चिन्तन नजागेका होइनन् । तर त्यसताकाका रचनाहरु एक मात्र विशिष्ट परिवेश अथवा उत्तरआधुनिकताको स्थानि पक्षलाई वेवास्ता गरेको त हुँदै हो । तर अहिले साहित्य रचना भन्दा बढि चेतनामूलक लेखन हो – भन्ने चिन्तनको प्रवाह प्रारम्भ भए पछि लेखनले धेर थोर स्थानीक र क्षेत्रीयतालाई प्रोत्साहित तुल्याउन थालेको छ । अतः यो मौसमी खेतीमा तिते फाफरै भए पनि छर्ने समायोचित लाग्यो र कविता कृतिमा सगुन सुसारालाई पढ्ने मौका पाएँ । लाग्छ, यो वर्तमान प्रवृत्तिको स्व लिखित पहिलो कविता कृति हो । बाँकी त कवि आफैं भन्छन् :–
साँच्चै
हेम्बारि कसिन्छ
समय झण्डेर – कुत्कुत्याउन
र ! म बौरिएको छु
अस्तित्व बाँचेको छु
युग बाँचेको छु ।
(मेरो टायामाको ………..)
हो, कविता कृति सुन्दर इन्द्रेणीको मालामा बाँधिएको छ । फूलहरुको रामोञ्चक बगानले सिंगारिएको छ । दूरगामी र निर्णायक फैसलाको दस्तावेज बनेको छ । र, नै मेरो दृष्टिकोणमा सुरक्षित हाँसिरहेको छ – नियमित सम्मति झौँक पटमुर्खको अस्तित्व मिठो खेलसँगै मायाको चिनो सुरक्षित लुकाएर । चित्रात्मकलताहरु आँखाभिर – भरि अँटिएर ।
सन्दर्भ सामाग्री
.माङफुन (राई बान्तावा) देवदण्ड
. नायुमा (राई बान्तावा) किराती लोककथामा निनाम्माले बनाएको पहिलो नारी
. बुवाले (राई बान्तावा) लाटकोसेरो
. याक्सा (राई बान्तावा) बेँसीमा बनाइने कटेरो
.साङ्माकेन (राई बान्तावा) ढोल
. मानिकेन् (राई बान्तावा) झ्याम्टा
.सिप्पा (राई बान्तावा) कान्छा
. मामा (राई बान्तवा) आमा
. थुम (राई बान्तावा) जिल्ला, देश
. काङ्सोरे (लिम्बू) गोरखा – लिम्बुवान युद्धताकाको सेनापति
. टायामा (राई बान्तावा) जीवन संगिनी
. नारोआ (राई बान्तावा) कर्याङकुरुङ
. हाङ (राई बान्तवा) राजा
. मुन्धुम (राई बान्तवा) वैदिक शास्त्र तथा आख्यानहरु, इतिहास
. लेक्सिवोबोक्टाङ (राई बान्तावा) श्रीपेच, राजमुकुट
. उराङपाडा – उराङ जातिको नाच
. च्याङवा (तामाङ) कान्छा
. लुङा (लिम्बू) मामा, फुफुको छोराछोरी, सम्बन्ध नलाग्ने अन्य
. केलाङ (लिम्बू) ढोल नाच वा च्याब्रुङ नाच
.यावाचि (राई बान्तावा) साथीहरु
. साकेला (राई बान्तावा) मङ्सिर वा बैशाखे पूर्णिमामा समूहगत नाचिने राई जातिको पर्व नाच
. ल्होत्सोम्पा – पाखा लगाइएको शरणार्थी
.हेङकुबुङ (राई बान्तावा) लोककथाको पुरुषार्थी पात्र
. हेत्छाकुपा (राई बान्तावा) लोककथाको पुरुषार्थी पात्र
. मिचिलिम्बा (राई बान्तावा) कोख पुजाको फूल
.अन्दङ्फूङ (लिम्बू) बाबरी फूल
. सेकमुरी (लिम्बू) सिलरी फूल
. पप्पी (अङ्ग्रेजी) दोस्रो विश्व युद्धमा रगतको आहालबाट उम्रेको फूल : जो अङ्ग्रेजी ११ महिना ११ तारिख ११ बजे फूल्छ
. मिक्चिरी (लिम्बू) मृतकलाई चढाइने फूल
. हेम्बारि (राई बान्तावा) महिलाले छातीमा बाँध्न प्रयोग गर्ने दोसल्ला ।
साभार –समष्टि द्वैमासिक, २०६६ माघ/फागुन