पाँचथर । पाँचथरको फाल्गुनन्द गाँउपालिकाको घुर्विसे पञ्चमीमा धेरै धान फलाएर पैसा सहित सम्मान तथा पुरस्कार पाएका किसानहरु निक्कै खुसि देखिन्थे । सयमुरी भन्दा धेरै धान फलाउने किसानलाई ५० हजार रुपैँया र ५० देखि सयमुरीसम्म धान फलाउनेलाई ३० हजार रुपैँया नगद सहित गाँउपालिकालाई सम्मान गरेको थियो ।
सम्मानीतहरुलाई बाजागाजा सहित पञ्चमी बजार घुमाइएको थियो । नौमती बजा र च्याब्रुङका धुन सहित किसानलाई सम्मान गरेर बजार परिक्रमा गराइएको थियो । किसानलाई पनि सरकारले सम्मानी गरेको भन्दै उनीहरु खुसि देखिन्थे । सबैभन्दा धेरै फाल्गुनन्द–१ का किसान मकर बहादुर तामाङले फलाएका रहेकाछन् । गाँउपालिकाका प्रतिनिधि सहित धान झार्ने खलोमा गएर भर्दा १ सय ७४ मुरी धान फलेको थियो ।
यत्रो धान फलाएको तामाङको आफ्नै जग्गा भने केवल ३ रोपनीमात्र रहेछ । ‘मेरो त तीन रोपनीको एकचोक्टा खेतमात्र छ । अरुकै केहि जग्गा पैसा बन्धकी लगाएको छु । केहि अधियाँ लिएर धान खेती गरेको छु’ उनले भने, ‘पोहोरसालदेखि गाँउपालिका भरीको धान धेरै फलाउने किसानमा परेको छु खुसि लागेको छ । फलाएको धान आफूलाई खाने राखेर बेच्ने गरेको छु ।’
श्रीमान श्रीमती भएर अरुको जग्गामा धान फलाउन मेहनत गरेका रहेछन् ।
फाल्गुनन्द गाँउपालिकाले पुरस्कार र सम्मान गरेका मध्ये १ सय मुरी भन्दा धेरै धान फलाउने तामाङ सहित तीन जना रहेछन् । उनीहरुले अरुकै जग्गामा धान फलाएको देखिन्छ ।
फाल्गुन्द–७ लसुवाका २७ बर्ष दिपशन चेम्जोङले १ सय १५ मुरी धान फलाएका छन् । ८ बर्ष वैदेशिक रोजगारीमा कतार बसेका फर्किएका उनले आफ्नो ७ रोपनी र अरुको जग्गा बन्धकी लिएर ६० रोपनी धान खेती लगाएको बताए । ‘पोहोर नेपाल फर्केर धान खेती लगाएको हो । अब विदेश नजाउ भन्ने सोच्दै छु, अरु पनि खेती गर्ने बिचार छ’ उनले भने, ‘खेत हेरी हेरी बन्धकी पैसा खेत धनीलाई दिएको छु ।’
गतबर्ष २९ जना किसान पुरस्कृत भएका थिए । यो बर्ष ४२ जना पुरस्कृत भएका छन् । तीन जना बाहेक अरुधेरै किसानले पनि अरुको जग्गा बन्धकी, अधियाँ लिएको पाइएको छ ।
५५ रोपनीमा धान खेती लगाएका फाल्गुनन्द–७ का तील बहादुर चेम्जोङले १ सय १७ मुरी धान फलाएका रहेछन् । ‘अरुकै अधियाँ, ठेक्का लिएर खेती लगाएको थिए । सरकारले सम्झियो खुसि लाग्यो’ उनले भने ‘अरु सहयोग पनि गर्दै जाने आश गरेको छु ।’
धेरै खेत हुनेहरु कतिपयले गाँउ छाडेका छन् भने कतिपय खेती कम गर्छन् । यो गाँउपालिकाका विभिन्न क्षेत्रमा धान खेती हुने गरेको छ । खाद्यान्नमा आत्मानिर्भर हुनलाई यो नीति लिएको गाँउपालिका अध्यक्ष वृजहाङ आङदेम्बेले बताए । उनका अनुसार गाँउपालिकको मुख्य ध्यान कृषि क्षेत्रमा भएकाले हरेक वार्डमा मुख्य बालिको रुपमा पहिचान गरि प्राथमिकता दिइएको छ । १ देखि ७ वार्डसम्म क्रमशः मकै, किवि, आलु, अकवरे, कोदो, कफि र सुन्तोलाको पकेट क्षेत्र बनाइएको उनको भनाई छ ।
बन्धकी लगाएको खेतमा ६० मुरी धान फलाएकी फाल्गुनन्द–१ कि सुखरानी चेम्जोङले गाँउपालिकाबाट पाएको ३० हजार रुपैँयाले घर चलाउन सहयोग पुग्ने बताइन । ‘सबै धान खाई नसक्ने भएकाले केहि छोरीहरुलाई र केहि मुरी धान बेच्छौँ’ उनले भनिन्, ‘शरिरले सकेसम्म खेतीपति गर्छौ ।’
किसानलाई सम्मान गर्न आईपुगेका कोशि प्रदेशका कृषि तथा सहकारी मन्त्री खगेन्द्रसिं हाङगामले किसानलाई प्रोत्साहन, सहयोग र उत्पादनलाई बजारीकरण गर्न सरकारले सहयोग गर्ने बताएका थिए ।