विराटनगर ।प्रदेश नं. १ पुन: नामांकन संयुक्त संघर्ष समिति र केबलकारविरुद्ध संघर्षरत पक्षले संयुक्त आन्दोलन गर्ने भएका छन्।बिहीबार राति बसेको दुई पक्षको संयुक्त भर्चुअल बैठकले आन्दोलनलाई एकीकृत गर्ने निर्णय गरेको हो।
बैठकले आन्दोलनमा दमन गरेको भन्दै ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नेत्रप्रसाद शर्मा र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलको परिवारको फोटो सार्वजनिक गर्ने निर्णय पनि गरेको छ।
उनीहरूलाई कारबाही गर्न नेपाल सरकार र संयुक्त राष्ट्र संघका निकायमा उजुरी दिने निर्णय पनि बैठकले निर्णय गरेको छ।
प्रदेश नं. १ पुन: नामांकन संयुक्त संघर्ष र केबलकारविरुद्ध पक्षको संयुक्त बैठकले एमाले सचिव योगेश भट्टराईका दाजु मातृका भट्टराईलाई तुम्याहाङ चुम्लुङसमक्ष स्पष्टीकरण दिन भनी सार्वजनिक पत्र पठाउने निर्णय पनि गरेको छ। मातृकाले मानवताविरुद्धका अपराध घटना गराउन उक्साएको आरोप छ।
२०८१ फागुन १० गते ताप्लेजुङ फुङलिङमा मुक्कुमलुङ संरक्षकहरूविरुद्ध सरकारले गरेको पाशविक, बर्बर दमनबारे व्यापक छलफल र समीक्षा बैठकले गरेको उल्लेख गरिएको छ।
‘फुङलिङ काण्डलाई लिम्बु गाउबस्तीतिर भएको इतिहासकै बर्बर प्रहरी दमन भन्दै मानवताविरुद्ध सरकारको अपराध फुङ्लिङ काण्ड’ नामकरण गर्ने निर्णय बैठकले गरेको छ।
पक्राउ परेका र घाइतेहरूको फोटोसहितको विवरण सार्वजनिक गर्ने, फागुन १७ गते ‘मानवताविरुद्ध सरकारको अपराध फुङ्लिङ काण्ड’बारे जानकारी दिन प्रदेश नं १ का १४ जिल्ला र मधेसमा समेत जनप्रदर्शन र विरोध सभा आयोजना गर्ने उनीहरूले विज्ञप्तिमा उल्लेख छ।
२०८१ फागुन २१ गते सरकार र आम नागरिकको ध्यानाकर्षण गर्न काठमाडौँमा बृहत् जनप्रदर्शन तथा विरोध सभा आयोजना गर्ने संयुक्त संघर्ष समितिले निर्णय गरेको छ ।