पाँचथर । सप्तरीको नमो बुद्ध युथ क्लब फिदिममा जारी पाँचौं पाँचथर गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको अन्तिम क्वाटरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबमाथि सानदार जित निकाल्दै सप्तरीले अन्तिम चारमा स्थान बनाएको हो । सप्तरीले पुलिसविरुद्ध ३-० गोलअन्तरको जित निकालेको हो ।
सप्तरीका लागि विदेशी खेलाडी एलेक्सले दुई गोल गर्दा दिपेश चाम्लिङको नाममा एक गोल रह्यो । सुरुवाती अग्रता दिलाउने क्रममा ३९औँ मिनेटमा एलेक्सले गोल गरेका हुन् ।
यसैगरी, पहिलो हाफको इन्जुरी समयमा दिपेश चाम्लिङले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन् । फराकिलो गोलअन्तरबाट जित दिलाउने क्रममा एलेक्सले ६५औँ मिनेटमा गोल गरे ।
सप्तरीको जितमा दुई गोल गरेका एलेक्स प्लेयर अफ दी म्याच बन्दै नगद ७ हजार ५ सय पाउन सफल भए । प्रतियोगिताको विजेताले ११ लाख १ हजार र दोस्रो हुने टोलीले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
पाँचथर क्लबले आयोजना गरेको प्रतियोगिताको सर्वोत्कृष्ट र उदीयमान खेलाडीले १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले समान १० हजार रुपैंयाँ प्राप्त गर्नेछन् ।