पाँचथर । भारतको नयाँदिल्लीमा जारी विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्स अन्तर्गत लङजम्पमा नेपालकी प्रभा आङ्देम्बेले रजत पदक जितेकी छन् । बिहीबार भएको खेलमा उनले रजत जितेकी हुन् । प्रभा पाँचथर फिदिम ६ सिवा निपासी हुन् ।
विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा नेपालबाट ६ खेलाडीहरू सहभागी छन् । प्रभा आङदेम्बेले महिला २ सय/४ सय मिटर दौड र लङजम्पमा भाग लिएकी छन् ।
पुरुष ४ सय मिटर दौडमा नवराज कार्की र गोविन्द गिरी, सटपुटमा हिमाल अर्याल र फणिनारायण पौडेल तथा डिस्कस थ्रोमा राजु गुरुङले सहभागिता जनाउने छन् । गोविन्दले ज्याभ्लिन थ्रोमा पनि प्रतिस्पर्धा गर्ने छन् ।
अफिसियलमा राखेपकी सदस्य अन्जना श्रेष्ठ र मुक्तिनाथ अधिकारी, व्यवस्थापकमा ओमनाथ सिवाकोटी तथा प्रशिक्षकमा विमला राना मगर छन् ।
एक महिनाको अन्तरालमा नेपालले पारा एथलेक्टसमा सहभागिता जनाएको यो दोस्रोपटक हो । नेपाल गत फेब्रुअरी ४ देखि १४ तारिखसम्म दुबइमा भएको ग्रान्ड प्रिक्समा सहभागी भएको थियो ।