पाँचथर– पाँचथर जिल्लामा कक्षा–१२ को परीक्षाका लागि १० केन्द्रमा २ हजार ४ सय ६३ विद्यार्थी सहभागी हुने छन् । तर परीक्षामा शिक्षकहरू सहभागी नहुने बताईरहेका छन् ।
कक्षा–१२ परीक्षा हुने कि नहुने अन्योलताका बिचमा निर्धारित समयमानै परीक्षा गराउने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरेपनि परीक्षा हुने वा नहुने अन्योलता देखिन्छ । जसको असर विद्यार्थीमा परेको छ ।
केन्द्राध्यक्षहरू आफै परीक्षा गराउन तयार भएको देखिदैन् । यो अवस्थामा देखेर प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला परीक्षा सञ्चालन समितिले निजामती कर्मचारी परिचालनको तयारी गरेको छ । १६ सय ४० नियमीत र बाँकी ग्रेड बृद्धिको परीक्षामा सहभागीता रहने छन् ।
पाँचथरमा तोकिएका १० परीक्षा केन्द्रमध्ये ८ माध्यमिक विद्यालय छन् भने दुई क्याम्पस रहेका छन् । विद्यालयका केन्द्राध्यक्ष परीक्षा सञ्चालन नगर्ने बताउँदै छन् । विद्यार्थीले प्रवेशपत्र पाएका छन् ।
पाँचथरमा यासोक क्याम्पस, रवि क्याम्पस, फिदिममावि, गडि मावि, सुखवोध मावि, सिद्धदेवि मावि नागिन, इथुङ मावि रानीटार, घुर्विसे पञ्चमी मावि फाल्गुनन्द, थर्पुमावि र शिरिजङ्घा मावि गोपेटार परीक्षा केन्द्र रहेका छन् ।
विद्यार्थी माझ परीक्षा हुन्छ कि हुँदैन भन्ने अन्योलता कायमनै छ । केही दिनदेखि परीक्षा हुने नहुने अन्योलताले समस्या परेको विद्यार्थीहरू बताउछन् । शिक्षकहरू परीक्षा गराउन तयारी देखिएका छैनन् भने प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेकाे समितिले तयारी थालेको छ ।
तोकिएका केन्द्राध्यक्षहरू परीक्षा गराउन नसक्ने बताउँछन् । धेरै जसो केन्द्राध्यक्ष आन्दोलनमा काठमाण्डौमा रहेका छन् । प्रवेशपत्र पाइएकाले परीक्षा हुने आशा जागेको फिदिम माविको विद्यार्थी उज्वल अधिकारीले बताए ।
जिल्लामा ४८ विद्यालयमा कक्षा–१२ को पढाई हुने गरेको छ । ‘परीक्षा समयमा हुन्छ हुदैन भन्दै गर्दा अब चै हुन्छ भन्ने भएको छ’ फिदिममाविकै अञ्जन खड्काले भने ‘परीक्षा सकिएर घर जान पाए हुन्थ्यो भन्ने लागेको छ ।’
विद्यार्थीसँगको भविष्य जोडिएकाले परीक्षाको अन्योलता हुनु दुःखद भएको अभिभावकहरू बताउँछन् ।
‘उत्तरपुस्तिका प्रहरीको जिम्मा छ । प्रश्नपत्र परीक्षा हुनु भन्दा ३० मिनेट अगाडी इमेलमा आउछ । अब आन्दोलनले परीक्षा व्यवस्थापनमा समस्या हुने देखिएको छ’ जिल्ला शिक्षा कार्यालयका सूचना अधिकारी ब्रजभुषण रायले भने ‘परीक्षा समितिको निर्णय अनुसार तयार हुन्छ । शिक्षकको आन्दोलनले परीक्षामा समस्या परेको छ ।’
औपचारिक पत्र नआएपनि परीक्षाका लागि तयारी थालिएको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाले जानकारी दिए ।