काठमाडौं । काठमाडौंको दक्षिणकालीमा भेटिएको शवको पहिचान भएको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले उक्त शव पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको रहेको पत्ता लागेको जानकारी दिए ।‘विस्तृत अनुसन्धान भइनै रहेको छ । तर शव पहिचान भएको छ, शव सन्तोषी सुब्बाको भन्ने खुलेको छ’, खापुङले जानकारी दिए ।
प्रहरीले मंगलबार दक्षिणकालीको शौचालयबाट महिलाको शव बरामद गरेको थियो । काठमाडौं प्रहरीका प्रमुख एसएसपी अशोक सिंहले पनि दक्षिणकालीमा भेटिएको शव सामाजिक सञ्जालमा विभिन्न आवाज निकालेर चर्चामा आएकी सुब्बाको भएको पुष्टि भएको बताए ।प्रहरीका अनुसार शव टाउकोमा गह्रुँगो वस्तुले हिर्काएको र अनुहार क्षतविक्षत भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।