काठमाण्डाै । नेपाली कांग्रेसले तत्कालीन नेकपालाई समेत उछिनेर झण्डै १० लाख क्रियाशील सदस्य पुर्याउन लागेको छ।
आगामी भदौ दोस्रो साता हुने महाधिवेशनमा कांग्रेसको सदस्य संख्या १० लाख पुग्ने नेताहरु बताउँछन्। नेताहरुको अनुसार यो संख्या अघिल्लो महाधिवेशनको तुलनामा दोब्बर हो। तीन वर्षको बीचमा सबैभन्दा व्यापकरुपमा क्रियाशील सदस्य संख्या थप गरिएको छ।
२०७२ मा गरिएको १३औं महाधिवेशनका बेला ५ लाख रहेको सदस्य संख्या १४औं महाधिवेशनमा भने १० लाख पुर्याउन लागिएको हो।
१० लाख सदस्य बनाउने उद्देश्यका साथ केहि समयदेखि पार्टीले सय प्रतिशतले क्रियाशील सदस्यता बढाएकाे कांग्रेस नेतृ डिला संग्रौलाले जानकारी दिइन्।
एक नेताका अनुसार १३औं महाधिवेशनमा ५ लाख क्रियाशील सदस्य थिए। त्यसमध्ये अहिलेसम्म १ लाखले नवीकरण नै गरेका छैनन्।
‘अघिल्लो महाधिवेशनमा ५ लाख क्रियाशील सदस्य थिए, तीमध्ये एक लाखले नवीकरण नै गरेका छैनन्,’ कांग्रेसका एक नेताले नेपालखबरसँग भने, ‘४ लाखको नवीकरण भयो। पछिल्लो तीन वर्षको अवधिमा करिब ५ लाख सक्रिय सदस्य थप भएका छन्।’
नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको भन्दा कांग्रेसको क्रियाशील सदस्य संख्या बढी पुर्याउने योजनाका साथ पार्टी लागिपरेको नेताहरुको भनाइ छ।
२०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्र एकीकरण भएपछि नेकपा बनेको थियो। दुई पार्टी एक हुँदा झण्डै १० लाख संगठित सदस्य रहेको तत्कालीन नेकपा नेताहरुको भनाइ थियो।
तत्कालीन नेकपाका कार्यालय सचिव ईश्वरी रिजालका अनुसार एमाले र माओवादी दुबैको गरेर करिब १० लाख संगठित सदस्य पुगेका थिए।
माओवादीले आफूतर्फका सदस्यहरुको छुट्टै विवरण पेस नगरेकोले छुट्टाछुट्टै संख्या कति थियो भन्न नसकिने रिजालले बताए।
सदस्य संख्याका आधारमा नेकपालाई एसियाकै ठूला कम्युनिष्ट पार्टीहरु मध्येको एक मानिन्थ्यो।
देशको सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी बनेको नेकपाको एकतालाई फागुन २३ गते सर्वाेच्च अदालतले भंग गरिदियो।
अहिले नेकपा विभाजित भएर पूर्ववत् नेकपा एमाले र माओवादी केन्द्र भएका छन्। विभाजित भएर कम्युनिष्ट पार्टीको आकार घट्दा कांग्रेसले भने आफ्नो सदस्य संख्यामा व्यापक वृद्धि गरेको छ।
तत्कालीन नेकपालाई समेत उछिनेर कांग्रेसले सबैभन्दा बढी क्रियाशील सदस्य बनाउन सफल भएको छ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अहिलेसम्म कांग्रेसका क्रियाशील सदस्य साढे ८ लाख पुगिसकेका छन्। अझै केही जिल्लाका सदस्यहरुको टुंगो लगाएर विवरण आउन बाँकी नै छ।
केही जिल्लाहरुको क्रियाशील सदस्यताको विवाद टुंगो लाग्दा कांग्रेस सबैभन्दा बढी सदस्य रहेको पार्टी बन्ने कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले जानकारी दिए।
‘मास बेस्ड’ पार्टीबाट ‘क्याडर बेस्ड’ बनेको हो कांग्रेस?
कांग्रेस ‘मास बेस्ड’ संरचना भएको पार्टीका रुपमा चिनिँदै आएको छ।
कम्युनिष्ट पार्टी भने क्याडर (कार्यकर्ता) बेस्ड सांगठनिक संरचनामा विश्वास गर्ने गर्छन्।
पछिल्ला वर्ष कांग्रेसले पनि कम्युनिष्टकै शैलीमा आक्रामक रुपमा सक्रिय सदस्य बनाउन थालेपछि आमजनतामा आधारित खुला संरचनाको ढाँचाबाट कार्यकर्तामा बढी निर्भर हुने संरचनामा जान खोजेको हो कि भन्ने विश्लेषण हुन थालेको छ।
कांग्रेस नेतृ संग्रौला अहिले कांग्रेस ‘मास बेस्ड’ र ‘क्याडर बेस्ड’ भएको मिश्रित ढाँचा अवलम्बन गर्ने पार्टी भएको बताउँछिन।
‘यो मास र क्याडर दुबै अवलम्बन गरिएको जस्तो हो,’ संग्रौलाले भनिन्, ‘ हाम्रो पार्टीले १० लाख क्रियाशील सदस्य बनाउने योजनासहित सदस्य संख्यालाई सत प्रतिशत बढाउने निर्णय गरेको छ, त्यसअनुसार सबै जिल्लामा सदस्य दोब्बर भएका छन्।’
तर, कांग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले सदस्य संख्याकै आधारमा ‘क्याडर बेस्ड’ भन्न नहुने बताए।
‘कांग्रेस अहिले पनि मास बेस्ड संरचनामा राजनीति गर्ने पार्टी नै हो,’ अधिकारीले भने, ‘क्याडर बेस्ड हुनको लागि त कार्यकर्तालाई त्यसैअनुसारको प्रशिक्षण दिने र लेबी तिराउने गर्नुपर्छ, त्यो काम अहिलेसम्म कांग्रेसमा गरिएको छैन।’
कम्युनिष्टहरुले कार्यकर्तालाई प्रशिक्षण दिने र पार्टीको नीति, निर्देशन कार्यान्वयन गराउने गर्छन्। तर कांग्रेसका सक्रिय सदस्यलाई यी कुनैपनि कुरा अनिवार्य नगरिएको अधिकारी बताउँछन्।
पार्टीसँग आमनागरिकभन्दा क्रियाशील सदस्यको आबद्धतामा फरक हुने उनको भनाइ छ।
‘कांग्रेस हुन चाहेकाहरुलाई आवद्ध गराउन क्रियाशील सदस्यता दिने गरिएको छ,’ अधिकारीले थपे, ‘पार्टी नेतृत्व छान्ने बेसलाइन त्यही हो।’
तीन वर्षमै कसरी दोब्बर बढे सदस्य?
कांग्रेसको अघिल्लो महाधिवेशन गरेको ६ वर्ष भइसकेको छ। महाधिवेशन सकिएको ३ वर्ष कांग्रेस खासै सक्रिय भएको थिएन।
२०७४ सालमा भएको स्थानीय, प्रदेश र संघीय संसदको चुनावमा कांग्रेसले सोचेजस्तो परिणाम ल्याउन सकेन।
तर, महाधिवेशन वर्ष नजिकिँदै गरेपछि क्रियाशील सदस्यता वितरणले व्यापकता पाएको हो।
नियमित रुपमा गरेको भए कांग्रेसको महाधिवेशन गत वर्ष नै हुनुपर्थ्यो।
अप्रत्याशितरुपमा आइपरेको कोरोना महामारी, मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का विजय गच्छदार नेतृत्वको पार्टी र राप्रपाबाट सुनिलबहादुर थापाको नेतृत्वमा आएको समूह कांग्रेसमा प्रवेश गरेपछि मिलाउन र विधानलगायत संशोधन गर्न भन्दै दुईपटक सम्म ६–६ महिना महाधिवेशनको मिति पर सारिएको हो।
कांग्रेस नेता राधेश्याम अधिकारी पछिल्ला दिन कम्युनिष्ट सरकारबाट जनतामा निराशा बढेपछि कांग्रेसको सदस्य बन्नेहरु बढेको दाबी गर्छन्।
‘कम्युनिष्ट सरकार असफल भएपछि कांग्रेसको लोकप्रियता बढ्न थाल्यो, पछिल्ला दिन सक्रिय सदस्य बढ्नुको कारण केपी ओली नेतृत्वको सरकार पनि हो,’ अधिकारीले भने।
त्यसो त केहि नेताहरुले भने कांग्रेसका क्षेत्र र जिल्ला सभापतिहरु र कांग्रेसका स्थानीय तहका नेताहरुको सक्रियता बढेका कारण पनि सदस्य संख्या बढ्न गएको बताए।
महाधिवेशनमा जित्नका लागि पार्टीका विभिन्न गुट उपगुटहरुबीच आपसी प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। स्थानीय तहका सदस्यदेखि नै आफ्नो पकड बनाउनुपर्ने भएका कारण क्रियाशील सदस्य बढ्न पुगेको ती नेताहरुको भनाइ छ।