लन्डन । बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले आफ्नो पदबाट राजीनामा दिएका छन् । ह्यानककमाथि सामाजिक दूरीको नियम उल्लंघन गर्दै सहकर्मीलाई चुम्बन गरेको आरोप लागेको थियो ।
प्रधानमन्त्रीलाई लेखेको पत्रमा म्याट ह्यान्ककले भनेका थिए, ‘यस महामारीमा सर्वसाधारणहरूले गरेका त्यागहरूलाई ध्यानमा राख्दै यदि हामीले केही गल्ती गर्छौं भने तिनीहरूप्रति इमानदार हुनु हाम्रो जिम्मेवारी हुनेछ ।’
उनले कारोना भाइरसविरुद्ध सरकारी दिशानिर्देशको उल्लंघन गरेकोमा माफी पनि मागे । प्रधानमन्त्री बोरिस जोनसनले स्वास्थ्य मन्त्रीको राजिनामाले आफू दुखी भएको प्रतिक्रिया दिएका थिए । ह्यानककपछि स्वास्थ्य मन्त्री साजिद जावेद नियुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयमा गैरकार्यकारी निर्देशकको रूपमा काम गर्ने जीना कोलाडान्गेलोसँगैको तस्बिर सार्वजनिक भएको थियो । उक्त तस्बिर मे ६ मा लिइएको थियो । बेलायतको सन पत्रिकामा यस तस्बिर प्रकाशित भएपछि स्वास्थ्यमन्त्रीलाई राजिनामा दिन दबाव बढेको थियो । पत्रिकाले उक्त तस्बिर मन्त्रालयभित्र लिएको दाबी गरेको छ । ह्यानकककै पार्टीका केही सांसदबाहेक विपक्षी लेबर पार्टीका सांसद एवं कोरोना भाइरसबाट मृत्यु भएका व्यक्तिहरुका परिवारको एक समूहले उनको राजिनामा माग गरेका थिए ।
जीना कोलाडान्गेलोले पनि पदबाट राजीनामा दिइसकेकी छन् । जिनाको नियुक्तिमा सुरुदेखि नै विवाद हुन थालेको थियो । उनलाई सेप्टेम्बर २०२० मा मन्त्रालयमा नन एक्जुक्युटिभ निर्देशकको पदमा नियुक्त गरिएको थियो । पूर्वस्वास्थ्यमन्त्री ह्यानकक र जिना कलेज पढ्दा देखिका साथी हुन् ।
जिनाको काम मात्र तीन साताको थियो तर ह्यानककले वार्षिक १५ हजार पाउन्डमा नियुक्त गरेका थिए । विपक्षीले पहिलेदेखि नै उनले आफ्नो पदको दुरुपयोग गरेको आरोप लगाउँदै आएका थिए । सरकारले भने सबै नियम पूरा गरेर जिनालाई नियुक्त गरेको दाबी गरिरहेको थियो ।