पाँचथर। पाँचथरमा फालेलुङ गाउँपालिका–६ को दबाइपानी भन्ने ठाउँमा गाडीबाट पुग्दा झमक्क साँझ परेको थियो। यहाँ हाम्रो बसाइ एकजना संरक्षणकर्मी सुनील वान्तवा र वडा अध्यक्ष सुजता बान्तवाको घरमा थियो। पुसको तेस्रो साता यहाँ पुगेर बास बस्नुको उद्देश्य थियो, रेडपान्डा खिच्नु।
पाँचथर, इलाम र ताप्लेजुङमा रेडपान्डा संरक्षणको चर्चा भएको एक दशक हुन लागे पनि प्रत्यक्ष रेडपान्डा नदेखेकाले एक प्रकारको उत्साह थियो।
भोलिपल्ट दबाईपानीबाट गोरुवाले भन्ने ठाउँका लागि हिँड्नु थियो। साथमा थिए, एकजना वन अभिभावक (फरेस्ट गार्जिएन) सुरेन्द्र राई। झन्डै दिनभर लगाएर हामी गोरुवाले भन्ने ठाउँमा पुग्यौँ। लेकको एउटा सानो बस्ती हो, गोरुवाले। वरिपरि जंगलले घेरिएका केही घर भए पनि यो ठाउँ ‘जक्सन’ बनेको छ। यहाँ सडक पुगेपछि स्वरूप बदलिँदै गएको रहेछ। गोठ सञ्चालन गर्दागर्दै यहाँ घर बनाइएको रहेछ। रेडपान्डा पाइने सम्भावित ठाउँका बारे स्थानीय बासिन्दासँग कुराकानी भयो। यहाँका बासिन्दा आफूहरू रेडपान्डा संरक्षणमा सचेत रहेको सुनाउँथे। रैथाने रेडपान्डा बस्ने वन क्षेत्रबारे उनीहरूले सुझाए। स्थानीय रामकुमार राईको भनाइ थियो, ‘केही दिन बस्नुस्, रेडपान्डा जरुर भेटिन्छ।’
पाँचथरकै वनमा पान्डाको तस्बिर खिच्ने अभिलाषा थियो। अर्को दिन बिहान सुरेन्द्र र म निस्कियौँ पान्डा खोज्न। पुसको चिसोले हाम्रो हात ठिहिर्याएको थियो। घाम ताप्न पान्डा निस्किन्छन् भनेर रूखहरू हेर्दै जंगल घुम्यौँ। यहाँ ठुल्ठूला जंगल भएकाले रेडपान्डा कता छ भनेर अनुमान लगाउन कठिन हुने सुरेन्द्रले सुनाए। गुराँस तथा अन्य रूख भएको जंगलमा बिहानभरि घुम्दा पान्डा भेटिएन। खाना खानेबेला अर्का संरक्षणकर्मी जीवन राई पनि गोरुवाले आइपुगे। खानापछि फेरि जंगलमा लाग्यौँ। तीनजनाले जंगलको भाग लगाएर घुम्न थाल्यौँ। रेडपान्डाको दिसा पाएकाले रेडपान्डा पाउने आशा जागेको थियो। तर, दिनभर जंगल डुल्दा पनि पान्डा भेटिएन।
स्थानीयहरूलाई हामीले भनेका थियौँ, ‘जंगलमा जाँदा रेडपान्डा देखिए हामीलाई खबर गर्नू।’
स्थानीयले आफूले पटकपटक रेडपान्डा भेटेको अनुभव सुनाउँथे। तर, उनीहरूको भनाइ थियो, ‘खोजेकै बेलाचाहिँ भेटिँदैन।’
फिदिमबाट हिँडेको चौथो दिन पनि वनमा रेडपान्डा भेटेनौँ। त्यस दिन खाना खाने बेला इलामको दोबाटेबाट रेडपान्डा संरक्षण क्षेत्रमा काम गरिरहेका निमा शेर्पा आइपुगे। उनले रेडपान्डा पत्ता लगाउने एन्टेना लगायत सामग्री लिएर आएका थिए। इलाम र पाँचथरका दशवटा पान्डामा जिपिएस कलरिङ जडान गरिएको छ। रेडपान्डाको गतिविधि अध्ययनका लागि यसो गरिएको थियो। एन्टेनाको सहायताले पान्डा कुन वन क्षेत्रमा छ भनेर पत्ता लगाउन सजिलो हुने रहेछ। तर, त्यो प्रविधिको प्रयोग गर्नैपरेन।
बाटोमा हिँड्दै गर्दा निमाले भने, ‘ऊ पान्डा।’
दुईवटा पान्डा घाम तापेर बसेका थिए, भिरालो ठाउँको रूखको टुप्पोमा। एउटा पान्डामा जिपिएस कलरिङ गरिएको रहेछ। कलरिङ गरिएको पान्डाको नाम प्रह्लाद भएको साथीहरूले सुनाए। अर्को पान्डा उसको बच्चा हुनेपर्ने अनुमान साथीहरूको थियो। गुराँसको फरक फरक बोटमा रहेका पान्डा हेरिरहुँझैँ लाग्थे। पान्डाले हामी त्यहाँ भएको थाहा पाए, रूखका हाँगाबाट हामीलाई हेर्दै बसे। मैले तस्बिर खिच्ने प्रयास गरेँ। फिदिम नगरपालिकामा पर्ने मकैबारी ठूलो डुढ सामुदायिक वन क्षेत्रको देउराली भन्ने ठाउँमा पान्डा भेटिएको थियो।
गोरुवाले फर्किंदा त्यहाँका बासिन्दा हामीले रेडपान्डाको फोटो खिचेकामा खुसी देखिन्थे। गाउँका मान्छेहरू धेरै सहयोगी छन्, आत्मीय पनि। रेडपान्डाको महत्वपूर्ण क्षेत्र भएकाले यहाँ देश–विदेशबाट पर्यटकहरू आउने आशा उनीहरूको छ।
अर्को दिन म छिन्तापुतर्फ लागेँ। महत्वपूर्ण पर्यटकीय गन्तव्य जाँदा मेरो साथी रामकुमार दाइ थिए। अन्य साथीहरू जंगलमा क्यामेरा जडान गर्न गए। इलाम र पाँचथरका जंगलमा रेडपान्डा लगायत वन्यजन्तुको गतिविधि अध्ययन गर्न क्यामेरा राखिएका छन्। यी क्यामेराले छिन्तापु आसपास पाटेबाघको तस्बिर लिन सफल भएको थियो। समुद्र सतहदेखि ३,१६५ मिटरको उचाइमा पाटेबाघ देखिएको थियो। छिन्तापु पनि रेडपान्डा पाउने महŒवपूर्ण ठाउँ रहेछ।
फर्कने क्रममा फालेलुङ गाउँपालिका–६ मा पर्ने कन्यादेवी सामुदायिक वनमा पनि रेडपान्डा देखियो। बाटोदेखि नजिकै रूखमा तीनवटा पान्डाले घाम तापिरहेका थिए। यो यात्रामा दुर्लभ मानिएका पाँचवटा रेडपान्डा देख्न पाइयो। यीमध्ये एउटालाई कलरिङ गरिएको थियो।
संरक्षण
विश्वका पाँच देश (नेपाल, भारत, भुटान, चीन, म्यानमार)मा रेडपान्डा पाइन्छ। रेडपान्डा नेटवर्कले सन् २०१६ मा गरेको सर्भेले नेपालका २४ जिल्लामा रेडपान्डा पाइने तथ्य फेला पारेको थियो।
समुद्र सतहदेखि २२००–४८०० मिटर उचाइसम्म पान्डा पाइने रेडपान्डा नेटवर्कमा कार्यरत संरक्षणकर्मी सोनाम टासी लामा बताउँछन्। रेड पान्डालाई हाब्रे पनि भनिन्छ। मालिंगा र निगालो भएको शितोष्ण र चौडापात पाइने वनमा रेडपान्डा पाइने बताइन्छ। रेडपान्डालाई लजालु वन्यजन्तु मानिन्छ। ३ देखि ६ केजीसम्मको तौल हुने रेडपान्डा मान्छे देखेपछि लजाएर बस्छ। यसको गर्भाधान अवधि भने १ सय ३५ दिनको हुने बताइन्छ। नेपालमा विभिन्न हिसाबले रेडपान्डाको अनुसन्धान तथा संरक्षणका काम भइरहेको छ।
पूर्वी पहाडका पाँचथर, इलाम, ताप्लेजुङलाई पिआइटी करिडोर बनाएर समुदायमा आधारित रेडपान्डा संरक्षण कार्यक्रम सञ्चालित छन्। संरक्षण सचेतना, अनुसन्धान, जीविकोपार्जन, पर्यटन प्रवद्र्धन र क्षमता विकासका लागि सन् २००७ देखि यी जिल्लामा काम भइरहेको छ। रेडपान्डा नेटवर्कले स्थानीय संस्थासँग मिलेर यो कार्यक्रम सञ्चालन गरिरहेको छ। यहाँका तीन जिल्लाका १३ स्थानीय तहमा संरक्षण कार्यक्रम सञ्चालित छन्। रेडपान्डाको गतिविधि अध्ययन, वन अनुगमन र रिपोर्टिङका लागि ६२ जना वन अभिभावक राखिएको छ।
१० जिल्लामा यो कार्यक्रम विस्तार गरिएको रेडपान्डा नेटवर्कका लामाले बताए। उनका अनुसार प्रदेश १ का तीन जिल्लाबाहेक कालीकोट, जुम्ला, डोल्पा, रोल्पा, जाजरकोट, रुकुमपूर्व र रुकुमपश्चिममा यो कार्यक्रम सञ्चालित छ। १० जिल्लामा ११ स्थानीय गैरसरकारी संस्था मिलेर यो कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए। सन् २०२१ मा सोलुखुम्बु, भोजपुर, खोटाङमा पनि यो कार्यक्रम सञ्चालन गर्ने तयारी छ।
विद्यालयमा रेडपान्डा शिक्षा
ताप्लेजुङको पाथिभरा क्षेत्रको वनमा हालै भएको आगलागीले रेडपान्डा जोखिममा परेको अनुमान गरिएको छ। वन क्षेत्रमा आगलागीबाहेक चोरी–तस्करी, जथाभावी हुने निर्माणका काम, वन विनाश लगायत कारण रेडपान्डा जोखिममा पर्ने बताइन्छ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन)ले रेडपान्डालाई सन् १९९६ सालदेखि संकटापन्न जीवको सूचीमा राखेको छ। संकटापन्न वन्यजन्तु भएकाले संरक्षणका काम अघि बढाइएका छन्।
इलाम, पाँचथर र ताप्लेजुङका रेडपान्डा पाइने क्षेत्रका विद्यालयमा ‘संरक्षण शिक्षा कार्यक्रम’ सञ्चालित छ। स्थानीय पाठ्यपुस्तक बनाएर पाँचथरका १०, इलामका ८ र ताप्लेजुङका ५ विद्यालयमा संरक्षण शिक्षा कार्यक्रम सञ्चालनमा रहेको छ।
रेडपान्डा नेटकर्वकै पहलमा यहाँका विद्यालयमा कक्षा ६ र ७ मा रेडपान्डा संरक्षणको शिक्षा दिइन्छ। विद्यालय स्तरबाटै रेडपान्डा संरक्षणको सचेतना जगाउने हिसाबले काम भइरहेको पाँचथरको साझेदार संस्था दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले जानकारी दिए। विद्यालयमा रुट एन्ड सुट ग्रुप बनाएर काम भइरहेको उनले जानकारी दिए। इको ट्रिप, सचेतनामूलक गतिविधि समेत सञ्चालन हुने गरेको उनले बताए ।