काठमाडौं । खेल सुरु भएकाे २ मिनेटमै लिएकाे अग्रता जाेगाउन नसक्दा घरेलु टोली इंग्ल्यान्ड युराे कपकाे फाइनलमा इटाली संग पराजित भएकाे छ । इटालीले युरोकप २०२० को उपाधि जितेको छ। लन्डनको वेम्बली मैदानमा निर्धारित ९० मिनेटमा खेल १–१ को बराबरी सकिएकाे थियाे। थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा इंग्ल्यान्डले लगातार ३ प्रहारमा गोल गर्न नसक्दा इटाली ३–२ ले विजयी भएको हो।
खेलको दोस्रो मिनेटमै गोल गर्दै इंग्ल्यान्डले १–० को अग्रता लिएको थियो। दोस्रो हाफमा थप आक्रामक देखिएको इटालीले ६७औं मिनेटमा गोल फर्काएपछि खेल पुनः प्रतिस्पर्धात्मक देखिएको थियो। निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो।
इटाली यसअघि सन् १९६८ मा घरेलु मैदानमा युगोस्लाभियालाई हराउँदै च्याम्पियन बनेको थियो। १ पटक उपाधि उचालेर २ पटक उपविजेतामै चित्त बुझाएको इटाली चौथो पटक फाइनलमा पुग्दा दोस्रो पटक उपाधि माथि कब्जा गर्न सफल भएको हो। इटाली सन् २००० र २०१२ मा भएको युरोकपमा उपविजेतामा सीमित भएको थियो।
उता पहिलो पटक फाइनलमा पुगेको इंग्ल्याण्ड भने उपविजेता मै चित्त बुझाउन बाध्य भयो। ५५ वर्षपछि ठूलो प्रतियोगिता जित्ने लक्ष्यमा रहेको इंग्ल्यान्डको सपना भने अधुरै रहेको छ।
इंग्ल्यान्डले यसअघि सन् १९६६ मा भएको विश्वकपको उपाधि जितेको थियो। त्यसयता टोली पहिलोपटक फाइनलमा पुगेको हो। युरोकपको १० संंस्करणमा छनोट भएको इंग्ल्यान्ड दुईपटक तेस्रो भएको थियो। युरोकपमा सन् १९६८ र १९९६ मा तेस्रो स्थान हात पार्नु नै टोलीको अहिलेसम्मको उत्कृष्ट नतिजा हो।