काठमाडौँ । अाज असार २८ गते सबैकाे चासाेकाे बिषय सर्वाेच्च अदालतले फैसला के गर्ला भन्नेनै छ । प्रतिनिधि सभा विघटन र प्रधानमन्त्री नियुक्तिसम्बन्धी मुद्दाको फैसला आज (असार २८ गते) हुने भएको छ।
यही असार २१ गते सुुनुवाइ सकिएको मुद्दामा सर्वाेच्च अदालतले आज फैसला सुनाउने भएको हो।
रिट निवेदक, सरकारी वकिलका बहस, निवेदकका जवाफी बहस र एमिकस क्युरीको राय दिने प्रक्रिया सबै सकिइसकेको भए पनि अदालतले आज सोमबारसम्मका लागि मुद्दा हेर्दाहेर्दैमा राखेको हो।
संविधानको धारा ७६ (५) अनुसार देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदको दाबी पेस गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई झन् १५३ सांसदको समर्थन रहेको संसदीय दलको पत्र बुझाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैको दाबी खारेज गर्दै गत जेठ ७ गते मध्यराति प्रतिनिध सभा विघटन गरिन्। यसैविरुद्ध देउवाले पुनः आफूसमेत १४६ सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका हुन्। हस्ताक्षरकर्तामा एमालेको माधव नेपाल पक्षका पनि २३ सांसद छन्।
प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा विघटन सम्बन्धमा पक्ष र विपक्ष गरी ३० वटा रिट निवेदन दर्ता भए पनि मूल निवेदक १४६ सांसदले दिएको मुद्दाको मात्रै सुनुवाइ गराइएको हो।
मुद्दा सुनुवाइका लागि पहिलोपटक गठित संवैधानिक इजलासप्रति रिट निवेदकले प्रश्न उठाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दोस्रोपटक वरिष्ठताका आधारमा आफूसहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, इश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई राखेर इजलास गठन गरेका थिए। सोही इजलासले फैसला गर्न लागेको हो।
यही असार ९ गते मुद्दाको अन्तिम सुनुवाइ सुरु भएको थियो। बहसका लागि पक्ष र विपक्षलाई समय नै तोकिएको थियो। बहसको समय निश्चित गरिएकै कारण फैसला छिट्टै आउन लागेको हो। यसअघि गत पुस ५ गते पहिलोपटक गरिएको प्रतिनिधि सभा विघटनको फैसला २ महिनापछि गरिएको थियो।
त्यस बेलाको मुद्दाको फैसला गर्दै सर्वाेच्च अदालतले गत फागुन ११ गते प्रतिनिधि सभा पुनःस्थापना गरेको थियो।