काठमाडौँ । सर्वोच्चको आदेश अनुसार प्रधानमन्त्रीमा नियुक्त हुने भएका नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले नियुक्त भएको ३० दिन भित्र संसदबाट विश्वासको मत लिनु पर्ने छ ।
संसद विघटन सम्बन्धी मुद्दाको फैसला सुनाउँदै सोमबार सर्वोच्च अदालतले राष्ट्रपतिबाट भएका सबै निर्णय बदर गर्दै साउन ३ गते भित्र संसद बैठक बोलाउन तथा दुई दिन भित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको छ ।
यो आदेश अनुसार नेपाली कांग्रेसका सभापति देउवा मंगलबार प्रधानमन्त्री बन्ने
छन् ।उनले त्यसको ३० दिन भित्र संविधानको धारा ७६ (६) अनुसार विश्वासको मत लिनु पर्ने छ । विश्वासको मत प्राप्त गरेमा देउवा नेतृत्वको सरकारले डेढ वर्ष सत्ता सञ्चालन गर्ने छ ।
विश्वासको मत प्राप्त नगरेको अवस्थामा संविधानको धारा ७६ (७) अनुसार प्रतिनिधिसभा विघटनको सिफारिस गरी चुनाव गराउने जिम्मेवारी प्राप्त गर्ने छ ।
देउवालाई विश्वासको मतका लागि १३६ सांसदको समर्थन चाहिन्छ ।उनलाई प्रधानमन्त्रीमा नियुक्त गराउन माग गर्दै १४६ सांसदले हस्ताक्षरसहित सर्वोच्चमा रिट दिएका थिए ।
सोही अनुसार कायम रहेमा देउवाले विश्वासको मत पाउने देखिन्छ । सर्वोच्चले धारा ७६ (५) अनुसार सरकार बनाउन सांसदमाथि दलीय ह्वीप नलाग्ने र मतदानका आधारमा सांसदहरुलाई कारवाही गर्न पनि नपाइने आदेश गरेको छ ।