काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे बालकुमारीस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्न लागेको हो। सरकारबाट नेकपा एमाले बाहिरिएपछि पहिलो पटक स्थायी कमिटी बैठक बस्न लागेको हो।
बैठकमा सर्वोच्च अदालतको फैसलापछि उत्पन्न राजनीतिक परिस्थिति, पार्टीभित्र देखिएको विवादलगायतका विषयमा छलफल हुने बताइएको छ।
बैठकमा सहभागी हुन वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सदस्यहरुलाई पनि खबर गरिएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। तर, नेपाल पक्ष सहभागी नहुने मुडमा छ। उसले केपी शर्मा ओलीले एकपक्षीय ढंगले बैठक बोलाएको भन्दै सहभागी नहुने बताएको छ। आफूहरुसँग सल्लाह नै नगरी बैठक बोलाइएको आरोप उक्त समूहको छ।
यसैबीच, पार्टी अध्यक्ष ओलीले आजै दिउँसो ३ बजे प्रतिनिधिसभा भवनको ल्होत्से हलमा संसदीय दलको बैठक पनि बोलाएका छन्। सो बैठकमा पनि नेपाल पक्षका सांसद सहभागी नहुने बताइएको छ।
ओलीले एकपक्षीय ढंगले बोलाएको बैठकमा आफूहरू नजाने नेपाल पक्षीय सांसद मेटमणि चौधरीले बताए। ‘हामी बैठकमा जाँदैनौ, नजाने विषयमा छलफल भएको छ,’ चौधरीले आयोमेलसँग भने, ‘बैठक ओली समूहले बोलाएको छ। एमालेले बोलाएको होइन। त्यसैले नजाने कुरा भएको छ।’
पछिल्लो अभिव्यक्तिमा ओलीले नेपाललाई गद्दारको संज्ञा दिँदै पार्टीभित्र उनका लागि अब कुनै ठाउँ नरहेको र क्षमा पनि गर्न नसकिने बताएपछि दुई पक्षबीचको तिक्तता झनै बढेको छ। यसअघि गत असार २७ गते एमाले विवाद समाधान गर्न गठित कार्यदलले एमाले एकतासम्बन्धी १० बुँदे सुझाव अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाएपनि सर्वोच्चको फैसलासँगै सरकारबाट एमाले बाहिरिनु परेपछि उक्त सम्झौता पनि छायाँमा परेको छ।