विराटनगर। मोरङको इलाका प्रहरी कार्यालय बेलबारीले मानिसको ज्यानै जाने गरी भएको एउटा दुघटनामा चरम फट्याइँ गरेको बाहिरिएको छ । दुर्घटनामा मृत्यु भएका एक व्यक्तिको शवलाई प्रहरीले बदमासीपूर्ण ढंगले बेबारिसे देखाएर व्यवस्थापन गरेको पत्ता लागेको हो । दुर्घटनामा मृत्यु भएको थाहा पाएर शव लिनका लागि आफन्त र परिवारका सदस्य पुग्दा प्रहरीले त्यसअघि नै व्यवस्थापन गरिदिएको खुलेको छ । जसका कारण मृतकको शवको धार्मिक एवं सामाजिक संस्कार अनुसार अन्त्येष्टि गर्न आफन्त र परिवारका सदस्यले पाएनन् ।
प्रहरीले घटनालाई सार्वजनिक नगरिकन लुकाएर राख्दै शव नै गायव बनाइदिएको गुनासो आफन्तको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत गत साउन ११ गते राति बेलबारी नगरपालिका–३ मा एउटा दुर्घटना भएको थियो । पैदल हिँडिरहेका बेला विराटनगर महानगरपालिका–१४ का ६५ वर्षीय महन भनिने बाहेनबहादुर प्रधानलाई गाडीले ठक्कर दिएर घाइते बनायो । उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा साउन १२ गते मृत्यु भयो ।
तत्काल नाम, थर र वतन नखुलेपछि इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनाल नेतृत्वको टोलीले बेबारिसे बनाएर घटनाको अनुसन्धान थालेको थियो । तर दुर्घटनामा परेका व्यक्तिको पहिचान खुलाउने विषय भने प्रहरीको प्राथमिकतामा परेन । सार्वजनिक नगरिकन प्रहरीले घटनालाई नै गुपचुप राख्यो ।
प्रहरीकै आग्रहमा बेबारिसे देखाएर कोसी अस्पतालको शवगृहमा राखिएको शवलाई विराटनगर महानगरपालिकाले साउन १७ गते विराटनगरस्थित सिंघिया खोलाको घाटमा व्यवस्थापन गरिदिएको हो । त्यतिबेलासम्म मृतकको पहिचान खुलेको थिएन । प्रहरीका अनुसार कोही पनि आफन्त वा परिवारका सदस्य सम्पर्कमा आएका थिएनन् ।
महानगरले शवको व्यवस्थापन गरेको भोलिपल्ट मात्रै बेलबारी प्रहरीले आफ्नो फेसबुक पेजमार्फत घटना सार्वजनिक गरेपछि यस घटनामा प्रहरीको भूमिकालाई शंकास्पद मानिएको छ । शवको व्यवस्थापन गरिसकिएको भए पनि प्रहरीले ‘बेबारिसे मानिस मृत फेला परेको’भन्ने शीर्षक राख्दै मृतकको फोटो र हुलियासहित शव कोसी अस्पतालमा रहेको जानकारीसहितको विवरण सार्वजनिक गर्यो ।
त्यही फोटोका आधारमा पहिचान गरेर शव लिन पुगेका परिवारका सदस्य र आफन्त त्यसअघि नै व्यवस्थापन भइसकेको थाहा पाएपछि चिन्तित हुँदै फर्किए । धार्मिक संस्कार अनुसार मृतकको अन्त्येष्टि गर्न नपाउँदा पीडित परिवार प्रहरीको लापरबाहीपूर्ण अनुसन्धानको सिकार बनेको छ ।
तत्काल नम्बर नखुलेको गाडीलाई भने प्रहरीले साउन १४ गते चालकसहित पक्राउ गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका धादिङको जुङ्गीखोला गाउँपालिका–४ का ३२ वर्षीय रामकृष्ण पौडेलले चलाएको बा ०१–०२४ च ९९१३ नम्बरको पिकअप गाडीको ठक्करबाट वृद्धको मृत्यु भएको पाइयो । गाडीसहित चालकलाई नियन्त्रणमा लिएर कानुनी कारबाहीको प्रक्रिया भने अघि बढाइएको जानकारी उनले दिए ।
तर घटनालाई गुपचुप राख्दै रहस्यमय तरिकाले शव व्यवस्थापन गरिदिएर आफन्त र परिवारलाई दाहसंस्कार गर्नबाटै बञ्चित गराएपछि बेलबारी प्रहरी विवादमा मुछिएको छ । प्रहरीको काम कारबाहीमै गम्भीर प्रश्न खडा भएको हो । घटनालाई सार्वजनिक नगरिकन गुपचुप राख्दै दुर्घटना गराउने सवारी साधनको पहिचान र खोजीमा मात्रै प्रहरी केन्द्रित हुँदा यस्तो अवस्था आएको बताइएको छ ।
शवका बारेमा बुझ्न जाँदा व्यवस्थापन भइसकेको पाइएको मृतकका नातिनी ज्वाईं प्रवीण खड्काले बताए । ‘प्रहरीले लामो समयदेखि घटनालाई लुकाउँदै शवलाई पनि गायव बनाइदियो,’ उनले भने, ‘दाहसंस्कार गर्न नपाउँदा हामीलाई पीडामाथि पीडा थपियो ।’ प्रहरीले मानिसको मृत्युलाई नै लुकाएर ज्यानमाथि खेलवाड गरेको गुनासो उनको छ । अस्पतालमा शव छ भनिएकाले बुझ्न गए पनि नपाएपछि त्यत्तिकै फर्किएको र अन्योल एवं तनावमा परेको गुनासो प्रवीणको छ ।
उनका अनुसार बाहेनबहादुर १० वर्ष अघिदेखि परिवारबाट अलग भएर बेलबारीतिरै बस्न थालेका थिए । जीविकोपार्जनका लागि होटलतिर काम गर्थे । उनका एक छोरा र एक छोरी छन् । छोरी विराटनगरमा र छोरा वैदेशिक रोजागरीमा रहेका बाहेनबहादुर परिवारबाट अलगिएका थिए । ‘तर आफन्त र परिवारलाई उनी बेलबारीमा रहेको जानकारी थियो,’ प्रवीणले भने, ‘गाडीले हानेर मृत्यु भइसकेपछि आफन्त र परिवार खोज्ने झण्झट बोहोर्न नचाहेको प्रहरीले घटनालाई नै लुकाएर शवको व्यवस्थापन गरिदिएछ ।’
बेलबारीतिर सबैले चिन्ने व्यक्तिलाई बेबारिसे बनाउनु प्रहरीको ठूलो फट्याइँ भएको उनको भनाइ छ । ‘घटना रहस्यम एवं शंकास्पद छ,’ उनले भने, ‘यसमा दुर्घटना गराउने पक्षसँग प्रहरीले मिलेमतो गरेको हुनसक्छ ।’
‘बेलैमा थाहा पाएको भए दाहसंस्कार गर्न पाउने थियौँ,’ उनी भन्छन्, ‘जीवित हुँदा परिवारसँग त्यति राम्रो नभए पनि मृत्यु हुँदासमेत दाहसंस्कारका लागि शव पाउन सकिएन ।’ शव लुकाएर आफूखुसी व्यवस्थापन गरिएको भन्दै त्यसमा संलग्न प्रहरीलाई कारबाही हुनुपर्ने माग आफन्तले राखेका छन् ।
तकको नातामा भाइ पर्ने राम सुवेदीले यो घटनाबाट प्रहरीको काम कारबाही निक्कै शंकास्पद देखिएको बताए । बेलैमा घटना सार्वजनिक गरेर आफन्तको खोजीमा किन चासो नदिएको भन्दा प्रहरीले दुर्घटनाको पाँच लाख पाइहाल्नुहुन्छ चुप लागेर बस्नु भनेर थुमथुमाउने प्रयास गरेको उनको गुनासो छ । सधैँ देखिराखेको व्यक्तिलाई प्रहरीले नै बेबारिसे बनाइदिँदा साह्रै दु:ख लागेको सुवेदीको भनाइ छ । तत्काल विभिन्न माध्यमबाट सार्वजनिक गर्नुपर्ने घटनालाई प्रहरीले लुकाउँदा परिवार र आफन्तले शवको दाहसंस्कार गर्न नपाएको गुनासो उनले गरे ।
‘अगाडि नै थाहा पाएको भए कम्तीमा शव त पाएर दाहसंस्कार गर्ने थियौँ,’ उनी भन्छन्, ‘यो घटनामा प्रहरी लापरबाहीले सीमा नाघ्यो ।’ बेबारिसे व्यक्तिको कुनै घटनामा परेर घाइते वा मृत्यु भएमा आफन्तको खोजी र मृतकको पहिचानमा लाग्नुपर्ने प्रहरीबाट यो घटनामा ठूलो कमजोरी भएको नेपाल प्रहरीका पूर्वडीएसपी रामजी कटुवालले बताए । शवको व्यवस्थापन गरेपछि मात्रै हुलिया र फोटोसहितको विवरण सार्वजनिक गर्नुले प्रहरीको नियतमै शंका उत्पन्न गराएको उनको भनाइ छ । प्रविधिको प्रयोग गरेर वा सार्वजनिक सूचना जारी गरेर बेबारिसेको पहिचानको प्रयास गर्नुपर्नेमा प्रहरीले त्यसतर्फ चासै नदिएको कटुवालले बताए ।
आफन्त गुमाएर पीडामा परेकालाई थप पीडित बनाउने काम प्रहरीबाटै भएको र यस घटनाले सिंगो प्रहरी संगठनको बद्नाम गरेको पूर्वडीएसपी कटुवालको भनाइ छ । उनका अनुसार मृत्यु नै भइसकेको घटनालाई लामो समयसम्म लुकाएर प्रहरीका अनुसन्धान अधिकृतले मान्छेको ज्यानमाथि खेलवाड गर्नुलाई सामान्य मान्न नसकिने बताए ।
‘दुर्घटना गराउने पक्ष तत्काल नभेटिँदा आफन्तले दबाब दिने, आन्दोलन एवं अवरोध गर्ने भएकाले प्रहरीमा घटना लुकाउने प्रवृत्ति मौलाउँदै गएको छ,’ उनले भने, ‘आफन्त र परिवारका सदस्य खोज्ने झण्झट लगायतका समस्याबाट मुक्त हुनलाई प्रहरीले शव व्यवस्थापनको गलत बाटो रोज्यो ।’ मृत्यु भएकाको शव नै परिवार र आफन्तले पाउननसक्नु गम्भीर लापरबाहीको गतिलो उदाहरण भएको कटुवालको भनाइ छ ।
व्यस्त राजमार्गमा ‘हिट एण्ड रन’का घटना धेरै हुने हुँदा प्रहरीले गम्भीर भएर घटनाको अनुसन्धानमा ध्यान दिनुपर्ने उनले बताए । तर यस घटनाले प्रहरी असंवेदनशीलता प्रष्ट झल्किएको कटुवालको भनाइ छ । यो घटनापछि विवादमा तानिएका बेलबारीका इन्सपेक्टर सरोज खनालले भने आफ्नो कमजोरी स्वीकार गरेका छन् । अरु घटनातर्फ केन्द्रित हुनुपर्दा यो घटनामा त्यति ध्यान दिन नपाएकाले सामान्य कमजोरी भएको खनालको स्विकारोक्ति छ । तर मृतकलाई चिन्छौँभन्ने व्यक्तिहरु प्रहरीको सम्पर्कमा नआएको उनले दाबी गरे ।
परिवारलाई शव नदिएको प्रहरीले भने सबै कुरा कानुनी प्रक्रिया अनुसार नै गरिएकाले घटनामा कुनै गलत नियत नराखिएको दाबी गरेको । आफन्तको खोजी गरेर मृतकको शव व्यवस्थापनमा सहयोग गर्नुपर्ने प्रहरी दुर्घटना गराउने चालक र गाडी पक्राउ गरिएको भनेर त्यसैमा रमाइरहेको छ । खनालले छ/सात वर्षदेखि फोहोर, प्लाष्टिक र बोतलहरु उठाएर बेबारिसे अवस्थामा हिँड्ने र ‘मागीखाने’ व्यक्तिकै रूपमा मृतकलाई प्रहरीले चिनेको पनि बताए । तत्काल नाम, थर र वतन नखुलेकै कारण सडेर दुर्गन्धित हुने भएकाले बेबारिसे बनाएरै शवको व्यवस्थापन गरिएको उनको भनाइ छ ।
तर शव भने नसड्ने गरी कोसी अस्पतालको शव गृहको फ्रिजमा राखिएको थियो । मृत्यु भएका कुनै बेबारिसेको ७२ घण्टासम्म पहिचान नखुलेमा शवको व्यवस्थापन गर्नसकिने कानुनी प्रावधान छ । तर आफन्त र परिवारका सदस्यको खोजी नै नगरिकन प्रहरीले यो घटनालाई नै गुपचुप राखेर आफूखुसी शव व्यवस्थापन गरिदिएर मृतक पक्षलाई पीडामाथि थप पीडित बनाएको पाइएको पूर्वडीएसपी कटुवालले बताए ।