काठमाडौँ । पार्टी एकताका लागि वार्ता चलिहरको अवस्थामा सांगठनिक गतिविधि रोक्न माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी ओलीको ध्यानाकर्षण गराएको छ । नेपाल पक्षको शुक्रबार सकिएको केन्द्रीय कमिटी बैठकबाट पारित प्रस्तावमा उक्त कुरा उल्लेख छ ।
‘पार्टी एकताका लागि कुरा चलिरहेको अवस्थामा एकपक्षीय ढंगले सदस्यता नवीकरण, अधिवेशन, पुनर्गठन र सम्मेलन गर्नु एकतालाई भाँजो हाल्ने काम हुन जान्छ । तत्काल सदस्यता नवीकरण लगायतका सबै संगठनिक गतिविधि रोक्न यो बैठक सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गर्दछ,’ प्रस्तावमा रहेको विषय उल्लेख गर्दै नेता रघु पन्तले बताए ।
त्यस्तै, नेपाल पक्षको केन्द्रीय कमिटीले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको असार २८ गतेको फैसलाको स्वागत गरेको छ । पार्टी एकताका लागि ओली पक्षसँग हालसम्म भएका १० बुँदे लगायतका सहमतिले आधार तयार पारेको कुरालाई केन्द्रीय कमिटीले स्वीकार गर्दै कार्यान्वयनमा लैजाने पन्तले जानकारी दिए । एकताका थप आधार तयार पार्नका लागि कुराकानी र वार्ता गर्ने कुरा पनि आएको उनले बताए । त्यस्तै एकताबारे थप निर्णय गर्ने जिम्मेवारी केन्द्रीय कमिटीले स्थायी कमिटीलाई जिम्मेवारी दिएको छ ।
केन्द्रीय कमिटीलाई समापन सम्बोधन गर्दै नेता नेपालले आफू एकताको पक्षमा रहेको बताएको पन्तले बताए । नेपालले भनेका कुरा उल्लेख गर्दै पन्तले भने, ‘हामीले पनि आलोचना गर्दा संयमित र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको छ । केपी ओलीले जति नै गाली गरे पनि म पार्टी एकता होस् भन्ने पक्षमा छु भनेर उहाँले भन्नुभयो ।’
केन्द्रीय कमिटीका अधिकांश नेताहरूले अल्मल्याउन खोजेको हो कि भन्ने आशंका राखेका थिए । नेता नेपालले भने त्यसो नहुनेमा आफू रहेको जवाफ दिएका थिए । उनले एकतामा जोड दिनुपर्ने बताएका थिए । पन्तले शुक्रबार ३५ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेको र उनीहरूले सम्मानजनक एकतामा जोड दिएको बताए ।