पाँचथर, साउन २३ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले थप १२ वटा चिया उद्योग तथा बिक्रेतालाई चियाको ट्रेडमार्क उपलब्ध गराएको छ । यो सँगै अब २४वटा उद्योगले नेपाली अर्थोडक्ड चिया आफ्नै लोगोसहित विश्व बजारमा निर्यात गर्नेछन् ।
बोडले यस वर्ष इलाम, पाँचथर र मोरङका चिया उद्योग र बिक्रेतालाई ट्रेडमार्क दिइएको हो । अर्गानिक प्रमाणीकरण भएका तीनजुरे चिया उद्योग, नेपाल स्मल टि, लक्ष्मी टि इन्डष्ट्रिज, आरुबोटे टि स्टेट, अर्गानिक नेपाली टि इन्डष्ट्रिज, ग्रीनहिल अर्थोडक्स चिया प्रशोधन उद्योग, माङमालुङ टि स्टेट, ग्रीन भ्याली टि प्रालि, मातृभूमि टि स्टेट, इलाम टि हाउस , कञ्चनजंघा टि स्टेट र ब्रदर्श अर्थोडक्स टिले एकै पटक ट्रेडमार्क पाएका छन् । यस पटक इलामका १० , पाँचथर १ र मोरङको एक उद्योगले ट्रेडमार्क पाएका छन् ।
चियाको पहिचान विश्व बजारमा स्थापित गर्नका लागि बोर्डको निर्देशिका अनुसार मापदण्ड पुरा गरेका चिया कम्पनीलाई चिया तथा कफी विकास बोर्ड र सुर्योदय नगरपालिका इलामको आयोजनामा भएको कार्यक्रममा ट्रेडमार्क प्रमाण पत्र उपलब्ध गराइएको हो ।
गत वर्ष असोजमा सूर्योदय नगरपालिकामा तत्कालिन कृषिमन्त्री घनश्याम भुसालको उपस्थितिमा पहिलो पटक चियाको लोगो हस्तान्तरण गरिएको थियो । बोर्डले दुई वर्षअघि चियाको ट्रेडमार्क कार्यान्वयनमा ल्याएको थियो ।साभार बजार दैनिक