तोङ्बाको स्वादमा सौखिनहरु कावेली नदितरेर ताप्लेजुङ सदरमुकाम लाग्दै गर्दादेखिनै योजना बनाउन थाल्छन्, चिसोमा तोङ्बा र सुकुटिमा रमाउने । ताप्लेजुङको तोङ्बा र सुकुटिको स्वादको व्याख्या गर्ने र सम्झना सुनाउने प्रसस्त भेटिन्छन् । यस्तैमा एक पर्छन्, इलामका सुदिप श्रेष्ठ । गैर सरकारी संस्थामा कार्यरत श्रेष्ठ ताप्लेजुङको तोङ्बाले आफूलाई मोहित तुल्याउने गरेको अनुभव सुनाए ।
‘ताप्लेजुङमा कामको शिलशिलामा केहि समय बसे । मलाई ताप्लेजुङको जस्तो मिठो तोङ्बा र सुकुटि अन्यत्र चाख्न पाएको छैन्’ उनले भने ‘चिसो मौसममा तोङ्बामा तातोपानी राखेर स्वाद लिदै गफिनुको रमाईलो छुट्टै हुन्छ ।’
यस्तो सम्झना साट्नेहरु प्रसस्त भेटिन्छन् । ताप्लेजुङ सदरमुकामका प्रायः होटलमा तोङ्बा राखिएको छ । साना तथा ठुला होटलमा तोङ्बा पाईन्छ । काठ तथा स्टीलका तोङ्बा भेटिन्छ । काठको भाडोमा तोङ्बा खान रुचाउनेहरु बेसी भेटिन्छन् । चिसो मौसममा तोङ्को स्वादलाई आहा ! मान्नेहरु छन् । बाहिरबाट पुगेकाहरु तोङ्बा चाख्ने रहर गर्छन् । स्थानीयहरु मध्ये केहि दैनिक तोङ्बा खाने भेटिन्छन् । ताप्लेजुङको सुकेटार, सदरमुकाम फूङलीङ तोङ्बाको लागी निक्कै चर्चित छ ।
यस्तै, धनकुटाको हिले बजारको बिचमा तोङ्बा स्तम्भ राखिएको छ । सडकको विचमा राखिएको स्तम्भसँग तस्बीर खिच्नेहरु प्रसस्त भेटिन्छन् । स्थानीय पहिचान झल्काउने गरी यो स्तम्भ राखिएको स्थानीयको भनाई छ । हिलेको तोङ्बाको ख्याती देशविदेशमा छ । हिलेको तोङ्बा, सुकुटिबारे धेरैले सम्झना लेखेका छन् । स्वादमा बानी भएकाहरु यहाँको तोङ्बाको बयानगर्ने गर्छन् ।
चिसो ठाँउमा तातो पानीमा भिजाएको तोङ्बालाई रुचिकर मानेर पिउने गर्छन् । ‘यहाँको तोङ्बा र सुकुटिले ख्याती कमाएको छ । यहि पहिचान झल्काउने गरी स्तम्भ बनाइएको हो । यहाँको तोङ्बाको स्वाद गजब हुन्छ भनेर तपाईले पनि सुन्नुनै भएको होला ?’ होटल एसोसीएसन धनकुटाका अध्यक्ष तथा हिलेका व्यवसायि खगेन्द्र विष्ट भन्छन् ‘यहाँका होटलै पिच्छे तोङ्बा राखिएको छ । धेरैल मन पराउँछन् ।’
घुम्न आएका विदेशीहरु पनिरुचाउछन् । यात्राको क्रममा निस्किएका उनीहरु तोङ्बा तानिरहेका देखिन्छ । हिमाली क्षेत्रमा तोङ्बा तान्दै गरेका विदेशिहरु भेटिन्छन् । ताप्लेजुङको कञ्चजंघा पदमार्गमा पर्ने सेकाथुमकी होटल व्यवसायि पेमा डोमाका अनुसार नेपाल आहिरहने विदेशीहरुको पहिलो रोजाईमा तोङ्बा पर्छ । ‘विदेशीहरु तोङ्बाको स्वादमा रमाउछन् । पहिलो पल्ट आएकाहरु पनि चाख्छन् । अरु पेयपदार्थ भन्दा तोङ्बलाई रुचिकर मान्छन् ।’ यो क्षेत्रका हरेक घर तथा होटलमा तोङ्बा भेटिन्छ ।
पूर्वी पहाडमा तोङ्बा पारखीहरुलाई प्रसस्त गौडा छन् । तोङ्बासुकुटि, सकुवा तोङ्बा यहाँ प्रख्यात छन् । तोङ्बाको पिपा (तोङमा भएको पानी पिउने पाइप)मा मादकता लिदै गफगर्ने, वहस गर्ने, गीत गाँउनेहरु बाक्लै भेटिन्छन् । चलचित्र, म्यूजिक भिडियोमा तोङ्बा दृष्य देख्न पाईन्छ । व्यवसायिक रुपममा मात्र नभई घरमै तोङ्बा खाने चलन भेटिन्छ । पाउन आउदा, साथीभाईसँग रमाईलो गर्दा तोङ्बो प्रयोग गरीन्छ ।
कृषि युगको प्रारम्भ देखिनै तोङ्बा प्रयोगमा आएको बताईन्छ । माटोको भाडाबाट सुरु भएर बाँस, काठको भाडो, स्टिलको भाडो प्रयोगमा आएको फिदिमका एकजना खोजकर्ता तथा साहित्यकार भवानी तावा बताउँछन् । तोङ्बा खाने परम्परा निक्कै पुरानो भएको उनको भनाई छ । तोङ्बा परम्परागत सस्कृतिमा आधारीत छ । पारिवारीक रुपमा र व्यसायिक रुपमा तोङ्बाको प्रयोग हुने तावा बताउँछन् । लिम्बुहरुले पाउनलाई स्वागत गर्दा तोङ्बा प्रयोग गर्ने उनको भनाई छ । विगतमा पालले छोपेका बाँसकका तोङ्बा प्रसस्त भेटिन्छन् ।
दैनिक जसो घरको काम गर्दै तोङ्बा खाने चलन पाईन्छ । विहानै तोङ्बा भिजाएर काम गर्दै पिउने गरेको समेत पाईन्छ । पाँचथरको आङसराङका विजयहाङ आङदेम्बेका अनुसार पाउनलाई स्वागतगर्न तथा पर्व÷अवसरमा नर्भइ दैनिक रुपमा प्रयोग गर्नेहरु पनि रहेका छन् । ‘गाँउघरमा बुढापाकाहरु दैनिक एक तोङ्बा खान्छन् । खेतीकिसानी गर्दै तोङ्बा तान्ने गरेको पाईन्छ’ उनले थपे ।
तोङ्बा प्रयोग गरीन अन्न कोदो हो । कोदोलाई प्रसोधन गरीन्छ । स्थानीय स्तरमा कोदो खेती भने घट्दै गएको छ । प्रसोधन गरी बनाइएको कोदो (छोक्रा)लाई तोङ्बाको भाडमा राखेर पानीले भिजाउदै पिईने गरीन्छ । ताप्लेजुङकी सुजता लिम्बुका अनुसार ५÷६ महिना गुम्साएको कोदोको तोङ्बा राम्रो हुन्छ । ‘कोदोलाई धोएर सफा बनाउछौँ । अनी थोरै पकाएर मज्जाले छोप्नु पर्छ । घाममा सुकाएर बोरामा हालेर सिरकले छोप्नु पर्छ । एकदिनमा उठ्छ । अनी मर्चा हालेर ड्रममा राख्नु पर्छ । ५÷६ महिना राखेको तोङ्बा निक्कै राम्रो मानिन्छ’– उनले भनिन् ।
ताप्लेजुङ सरदमुकाम फुङ्लीङमा चिप एण्ड वेष्ट होटलकी सञ्चालीका लिम्बु भन्छिन् ‘पानीको मात्रा धेरै पिईने भएकाले पनि तोङ्बा रुचाउँछन् । कतिपय त तोङ्बा बाहेक अन्य पेयपदार्थ खादैनन् ।’
पानी थप्दै केहि घण्टा लगाएर तोङ्बा खाईन्छ । सिकुटि, सेकुवा, अचार, साधेको भटमास लगायतका सितनसाथ तोङ्बाको चुस्की लिईन्छ । चिसो समयमा बढि प्रयोग भएको देखिन्छ । तोङ्बाको दाम ठाँउ अनुसार फरक छ । तर सस्तो छ । एक तोङ्बालाई एकसय देखि पाँच सय रुपैँयासम्म पर्छ । घरमै तोङ्बा बनाएर खानेपनि छन् । काठको तोङ्बाको एउटा भाडो भने ३ देखि ४ हजार रुपैँया पर्ने गरेको छ ।
विदेशमा गएकाहरु पनि नेपालको तोङ्बा छुटाईरहेको महसुस गर्छन् । ‘लिम्बुहरुले पाहुना सत्कार गर्दा मुख्य रुपमा तोङ्बा चाहिन्छ । धार्मिक र सांस्कृतिक काममा तोङ्बा प्रयोग गरिन्छ । खादापिन स्वादिलो हुन्छ’ दक्षिण कोरीयमा रहेका कवि गणेश हाङ्सेम भन्छन् ‘नेपालको तोङ्बो खुब याद आउछनी हाउ ।’
अचेल तराई र भारतबाट ल्याइएको कोदोको बढि प्रयोग हुन्छ । अहिले ठुला सहरमा पनि तोङ्बा पाईन्छ । त्यसोत विदेशमा रहेका नेपालीले पनि तोङ्बा बनाएर खान्छन्÷बेच्छन् । दक्षिण कोरीयामानै रहेका अर्का सामाजि अभियान्ता भिमराज चेम्जोङका अनुसार तोङ्बा पाउने होटलहरु रहेका छन् । ‘नेपालका दिनहरु सम्झीदै कहिले काहि तोङ्बा तान्दै यतापनि गफिन्छौँ’–उनले भने ।
सुखमा, दुखमा उपभोग गरिने तोङ्बाका पारखीहरु छन् । पूर्वी पहाडका सहर, बजार र गाँउमा पाईने तोङ्बो स्वादको प्रसंसकहरु भेटिन्छन् ।
तोङ्बाको तिर्सना
तोङ्बाको तिर्सना
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस