विराटनगर । जीवितै हुँदा मृत्यु दर्ता र काजकिरिया गरिसकिएका मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गका ४० वर्षीय सुभाष तामाङले बल्ल नेपाली नागरिकताको प्रतिलिपी प्राप्त गरेका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जीवितै रहेका सुभाषको मृत्यु दर्ता खारेज गर्दै उनलाई बिहीबार नागरिकताको प्रतिलिपी प्रदान गरेका हुन् । वैदेशिक रोजगारीका क्रममा साउदीमा रहेका सुभाषको २०७२ साल असार २५ गते दुर्घटनामा परेर उतै मृत्यु भएको खबर परिवारलाई प्राप्त भएको थियो ।
त्यसको २८ दिनमा शव पनि नेपाल आइपुगेपछि परिवारले धार्मिक संस्कार अनुसार अन्त्येष्टि गर्दै सम्बन्धित निकायमा सुभाषको मृत्यु दर्ता पनि गराए । तर उनी कार्यरत कम्पनीको लापरबाहीका कारण सुभाषको भनेर दाहसंस्कार गरिएको शव भने बागलुङको ढोरपाटन–६ का तेजेन्द्र भण्डारीको परेको पुष्टि भयो । दुर्घटनाबाट गम्भीर घाइते भएका सुभाष उपचार सफल भएसँगै २०७३ सालमा नेपाल फर्किएका थिए ।
सुभाषकै भनेर शवको दाहसंस्कार गर्दै काजकिरिया भइरहँदा दुर्घटनामा गम्भीर घाइते उनको भने साउदीमै उपचार भइरहेको थियो । उनले आफ्नै मृत्यु दर्ता खारेजी र नागरिकताको प्रतिलिपीका लागि चार वर्षसम्म सरकारी निकायमा धाउनु पर्यो । अनेक झन्झट बेहोर्नु पर्यो । तर मृतकको सूचिमा परेपछि सरकारी अभिलेखबाट नाम हट्न नसक्दा धेरै समस्या बेहोर्न बाध्य भएका उनले नेपाली नागरिकताको प्रतिलिपपी प्राप्त गर्न सकेनन् ।
आफू जीवित रहेको सरकारी प्रमाणसहित नेपाली नागरिकता प्राप्त गरेका उनले पुन: विदेश जाने सोच बनाएका छन् । ‘नेपालमा केही काम गर्न पाइँदैन,’ उनले भने, ‘अब फेरि मिल्यो भने विदेश जान्छु ।’ उनका दुई छोराछोरी र श्रीमती छन् । झुठो विवरणका आधारमा मृत्यु दर्ता हुँदा लामो समयदेखि अनआवश्यक दु:ख पाउनु परेका कारण सरकारले आफूलाई क्षतिपूर्ति दिनुपर्ने उनको माग छ ।
राष्ट्रिय परिचयपत्र एवं पञ्जीकरण ऐन २०७६ को दफा २४ अनुसार यसअघि भइसकेको मृत्यु दर्ता रद्ध गरेर सुभाषलाई नागरिकताको प्रतिलिपी दिइएको प्रजिअ निरौलाले बताए । उनका अनुसार भोजपुरबाट जारी भएको नागरिकता नम्बर नै कायम रहने गरी मोरङबाट प्रतिलिपी उपलब्ध गराइएको हो । पञ्जीकरण ऐनको दफा २४ अनुसार सुभाषको मृत्यु दर्ता बदरको आदेश जारी गर्दै उनलाई प्रतिलिपी प्रदान गरिएको जानकारी निरौलाले दिए ।