पाँचथर– घुम्नकालागि अनेकन प्राकृतिक सम्पदाले सम्पन्न इलाम र पाँचथरको सिमानामा रहेको छिन्तापु क्षेत्रले विकास र प्रचार कुरीरहेको छ । मनमोहक दृष्य, अनेकन पोखरी, प्राकृतिक रुपमा समेत सुसज्जीत छिन्तापुको दृष्य मनमोहक किसिमको छ ।
कञ्चनजंघा, कुम्भकर्ण हिमालमात्र हैन् सगरमाथा, मकालु जस्ता हिमालहरु देखिन्छ । दृष्यावोलकन, घुमफिरका लागि उपयुक्त यो क्षेत्र जैविक विविधता तथा वन्यजन्तुका लागि महत्वपूर्ण छ ।
यो सुन्दर तथा जैविक विविधताले धनि यो क्षेत्रको विकास र प्रचारमा भने कमि देखिएको छ । गत बर्ष बाक्लो संख्यामा बङ्गाली पर्यटक आएका थिए । यो पल्ट कोरोनाको प्रकोपका कारण उनीहरु आएनन् । यो क्षेत्रलाई आन्तरीक तथा वाह्य पर्यटक भित्र्याउन बाटो, बास स्थान तथा अन्य पर्यटकिय पूर्वाधारको आवश्यकता छ ।
एकातर्फ कुहिरो, अर्को तर्फ खुलेको हिमाल, यो लुकामारी निक्कै आर्कषक लाग्छ । यहाँबाट विभिन्न क्षेत्रहरु देखिन्छ । यहाँ तालपोखरी, छिन्तापुपोखरी लगायतका पोखरी देखिन्छन् । सगरमाथा, कञ्चनजंघा, मकालु, कुम्भकर्ण लगायका हिमाल नजिकै देखिने भएकाले पनि यो क्षेत्रमा पुग्नेहरु मोहित बन्छन् । अनेकन थुम्कीला पहाड आर्कषक लाग्छ । अग्ला तथा होचा पहाडमा रमाईरहु जस्तो लाग्छ । पाँचथरको फिदिम नगरपालीका, फालेलुङ गाँउपालीका, इलामको सन्दकपुर गाँउपालीका मा पर्ने यो ठाँउ घुम्नका लागि महत्पूर्ण छ । नजिकै रहेको गोरुवालेसम्म पाँचथर र इलाम दुबैतर्फ सडक पुगेकाले पर्यटकको आवागमन बढ्ने अपेक्षा रहेको छ । गोरुवालेदेखि रमाईला बनक्षेत्र घुम्दै छिन्तापुका अनेकन दृष्यमा रमाउन जान सकिन्छ । गुराँसको बन क्षेत्र भएकाले सिजनमा यो ठाँउ रङ्गी विरङ्गी बन्छ ।
नजिकै सानो गोरुवाले भन्ने बस्ती छ ।गोरुवालेबाट एकतर्फ उकालीदा सन्दकपुर र अर्कोतर्फ उकालीदा छिन्तापु पुगिन्छ ।
छिन्तापुमा त अनेकन डाँडाहरु रहेछन् । बनपनि ठुलो । गोरुजुरे, परेवाडाँडा लगायतका घुम्नै पर्ने ठाँउ छन् । यो ठाँउको धार्मिक स्थलको रुपमा पनि रहेको छ । महागुरु फाल्गुनन्दले पनि यहाँ आएर ध्यान तपश्या गरेको बताईन्छ । यो ठाँउ रेडपाण्डा लगायका बन्यजन्तुका हिसाबले पनि महत्पूर्ण रहेको छ ।
अनेक हिसाबले सुन्दर रहेको यो ठाँउको विकास र प्रचार हुन सके बर्षेनी ठुलो संख्यामा आन्तरीक र बाह्य पर्यटक भित्रने सम्भावना रहेको छ । दृष्यावलोकन मात्र नभई वहुआयमिक विशेषता भएको ठाँउ रहेकाले यो क्षेत्रको विकासका लागि तीनै वटा सरकारले एकिकृत योजना निर्माण गरी पर्याप्य बजेट छुट्याएर विकासको काम अघि बढाउन आवश्यक छ ।