पाँचथर । इँवा खोलामै जोडिएको लुङहङ ओडारमा चार जना सुतिरहेका थिए । उनीहरु बेलुकाको खाना खाएर ओडारमा गएका थिए । माछा रुग्नका लागि उनीहरु केहिदिन यता यहि ओडारमा सुत्दै आएका छन् । छेवमै इँवा खोला बेगले बग्दै छ । यो प्रसिद्ध तिम्बु पाेखरीबाट आएको हो । खोलासँग जोडिएको लुङहङ मुहानमा खोगी (माछा पार्ने मालिङ्गोबाट बुनेको) थापेर छेउकै ओडरमा सुतेका हुन् । विहानै उठेर खुगीमा परेको माछा निकाल्ने गर्छन् । झरी परिरहेको बेला ओडरमा बसेर रुगिएको तिते माछा हो ।
एकदशक अगाडीसम्म तितेमाछा यसरी जोखिम मोलेर रुग्नु पर्दैन थियो । सिजनमा घरपिच्छेहुने माछा अहिले पाउनै मुस्किल परेको स्थानीय बासिन्दा बताउँछन् । पाँचथरको उत्तरी याङवरक गाँउपालीको फलैचामा तिते माछा पाइन्छ ।
यो यहाँको रैथाने माछा हो । नेपाल एकिकरणको बेला पृथ्वीनारायण शाहा र लिम्बुवान बिच विस १८१४ सालमा भएको सम्झौतामा लिम्बुवानको अधिकार क्षेत्र पर्ने मध्ये एक थियो तिते माछा । पाँचथरको उत्तरी याङवरक गाँउपालीको फलैचामा रहेका खोलामा पाउने तिते माछा ख्याती देशविदेशमा रहेको छ । मुन्धुममा समेत वर्णित तितेमाछाको स्वादमा रमाएका सम्झना छन् ।
तितो तितेमाछाको कथा पनि अचेल तितै बन्दै गएको छ । देशविदेशमा कोशेली बनेर पुगेको तितेमाछा अहिले पाउनै कठिन छ । खोलाको छेउमा रहेका मुहानमा फूल पारेर फर्किने क्रममा खुगिमा परेर माछा मार्ने गरिन्छ ।‘सिजनमा गाँउभरी माछानै माछा हुन्थ्यो । माछा फूल्न आएर फर्किने बेला माछा मार्ने गरिन्थ्यो । सलल माछा आउथे । हेर्नेको रमिता हुन्थ्यो । अहिले त दुईतीन केजी माछाको लागि रातभरी ओडारमा सुत्नु पर्छ’ स्थानीय चन्द्र माङमुले भने ‘यस्तोभिरमा रातभरी बस्नु परेको छ ।’
तितेमाछा घट्दै जानुको मुख्य कारण खोलामा करेन्ट लगाउनु भएको उनको बुझाई छ । ‘कतिठाँउ जोगिदै आहोस तितेमाछा । तितेमाछा बोरा का बोरा ल्याउथ्यौँ भन्दा अहिलेका केटाकेटीलाई कथा जस्ता लाग्न थालेको छ । यस्तै हो भने माछा लोप खतरा छ’ ६९ बर्षिय माङमुले भने ‘करेन्टले तितेमाछाको प्रजाती नाश हुने खतरा रहेको छ । करेन्टलाई नरोक्ने हो भने तितेमाछा थियो भन्नेमात्र होला ।’
उनले भनेझै तितेमाछा घट्नुको मुख्या कारण करेन्टनै भएको धेरैको भनाई छ । सडक लगायतका पूर्वाधार निर्माण, जलविद्युत आयोजना लगायतको पनि असर परेको अनुमान गरिन्छ । तर यसको ठोस अध्ययन भएको देखिदैन् ।
रैथाने तितेमाछालाई स्वास्थ्यबर्दक मानिन्छ । साउनअन्तिम तथा भदौँमा यहाँ तितेमाछा आउने गर्छ । तितेमाछा ठुलो संख्या बर्षको एकपल्ट आएर तीनचार दिन रहने भएकाले पनि महत्वका साथ लिईन्छ । आलो माछामात्र हैन सुकाएर कोशेलीको रुपमा पठाइन्थ्यो । सानो आकारको माछा खानलाई स्वादिलो छ । यहाँको सस्कृतिसँग पनि जोडिन्छ । माछा मार्नुपूर्व पुँजा समेत गरिन्छ ।
‘युवा अवस्थामा रातभरी माछा निकाल्दा ६० धार्नी (२.५ केजी)सम्म पथ्र्यो । अहिले त रातभरी रुग्यो तीनचार केजी पर्छ । चारजनाले बाढ्दा कतिन पर्छ । यसपाली दुईरात खोलाको ओडरमै सुतियो । अब केहि दिन सुत्ने हो’ स्थानीय केदारनाथ बेघाले भन्छन् ‘तीतेमाछा खानलाई त मिठो छ । यो विशेष नै छ होला तितेमाछा किन्ने को ओहिरो लाग्छ ।’उनले भनेझै विहानै माछा लिएर आउनेलाई गाँउलेदेखि व्यापारीले घेरे । धेरै माछा नपाएर निरास भएर घर फर्किएका देखिन्थे । यहाँ मध्येका एकजना भन्दै थिए ‘विदेशमा केटाकेटीलाई पठाईदिउ भनेको यसपाली पनि तिते माछा नपाईने भयो ।’
स्थानीयहरु माछा हराउनुमा करेन्ट लगाएर मार्नु नै मुख्य कारण भएको बताउँछन् । इवाँखोलाको लुङहङ, सिक्रे, चाङसिङ, इवा ओडार रवि खेलामा रहेका मुहानमा तिते माछा पाईन्छ । यसका साथै मुवा खोलाका जोवारी, विरुवा लगायतका मुहानमा पनि माछा पाईन्छ । धेरै मुहानमा माछा देख्न पाईने छाडेको स्थानीयको भनाई छ ।
स्थानीय युवा मिलन नेपाली भन्छन् ‘बाझे बुवाहरुले बोरा बोरामा माछा ल्याएको कुरा सुनाउनु हुन्थ्यो । खै हाम्रोपालमा त माछा पाउनका लागि ठुलै संघर्ष गर्नुपर्छ ।
विगतमा माछा धेरै पाउने बेलामा गाविस तथा गाँउपालीकाले ठेक्का नै लगाएको थियो । सरकारले तितेमाछा मार्न ठेक्का लगाएको ठाँउमा अहिले माछा चाख्न पाउनु पनि ठुलो कुरा बदै गएको छ । मुलभएको ठाँउमा जस्को जग्गा पर्छ त्यहाँको माछा उसैको हुने गर्छ । गाँउलेहरुसँग मिलेर माछा रुगेर बाढ्ने गर्छन् । करेन्ट लगाउन रोकिएमाछा बढ्ने स्थानीयको भनाई छ ।‘एकैठाँउ बर्षेनी दुईवटा रागा काटेभन्दा धेरै माछा पथ्र्यो । अहिले त माछा हराई हालेनी’ स्थानीय ६१ बर्षिय चन्द्ररानी माङ्मु भन्छिन् ‘तिते माछा कोशेली पठाउन नपाएको बर्षौ भयो ।’