पाँचथर– भौगोलिक रुपमा कठिन रहेको पाँचथरको चिवाभञ्याङदेखि ताप्लेजुङसम्म सिमा जोडिने तिम्बुपोखरी भन्दा माथिसम्मको सिमा क्षेत्रको अनुगमन शसस्त्र प्रहरीले गरेको छ । समुद्र सतहदेखि ३ हजार २ सय मीटर उचाईमा रहेको चिवाभञ्याङदेखि ४ हजार ६ सय ५५ मिटर उचाईमा रहेको ३५ नम्बर पिलरसम्म सिमा अनुगमन भएको हो ।
नेपाल भारतसँग सिमा जोडिएको यो क्षेत्र उच्च पहाडी क्षेत्रमा पर्ने तथा भौगोलिक रुपमा विकट रहेको छ । शसस्त्र प्रहरी बल नेपाल नम्बर २ गुल्म हेक्टक्वार हिमशिखर पाँचथरका डिएसपि किशोर कुमार श्रेष्ठको नेतृत्वमा विओपी चिवाभञ्याङमा रहेको शसस्त्र प्रहरी सहितको टोलीलले सिमा अनुगमन गरेको हो ।
२२ किलोमीटर क्षेत्रमा रहेका ३१ वटा सिमा स्तम्भको स्थलगतअनुगमन भएको छ । सबै सिमा स्तम्भ भेटिएको जानकारी दिईएको छ । भौगोलिक विगटका कारण यस अघि १० वटा सिमा स्तम्भ कहाँनेर पर्छन् भनेर भेटिएको थिएन ।
६ दिन लगाएर शसस्त्र प्रहरीले सिमा अनुगमन गरेको हो । पाँचथरमा सन्दकपुरदेखि तिम्बुपोखरीभन्दा माथिको डाँडासम्म ४४ दशमलव ३८ कलोमीटर सिमा क्षेत्र पर्छ ।
चिवाभञ्याङभन्दा मािथको भुगोल जटिल छ । भदौँ–कार्तिक र चैत–बैशाखममात्र यहाँ यात्रा गर्न केहि सहज हुने गर्छ । यहाँ रहेको तिम्बुपाखेरीमा चहलपहल बाक्लो हुने भएपनि सरकारी उपस्थीति कममात्र हुन्छ ।
३५ नम्बर पिलर देखि ताप्लेजुङसँग सिमाना जोडिन्छ । पाँचथरमा चिवाभञ्याङ, फालोट, भसै र सुकेढापमा शसस्त्र प्रहरीको विओपी राखिएको छ । भौगोलिक विकटताका कारण सुविधाहरुको अभावमानै शसस्त्र प्रहरी रहेका छन् । फालोटका चौरी व्यवसायी चन्द्र नेपाल भन्छन्, ‘सिमानमा शसस्त्र प्रहरी भएपछि आड भरोसा भएको छ । भौगोलीक रुपमा विकट भएकाले उनीहरुको सुविधामा सरकारले ध्यान दिनु पर्छ ।’
हालै शसस्त्र प्रहरी अनुगमन गरेको चिवाञ्याङ–तिम्बुपोखरी क्षेत्रमा विओपी राखिएको छैन् । पहाडेमेगु भन्ने ठाँउमा राख्न सकिने भएपनि पर्याप्त सुविधासहित राख्नु पर्ने हुन्छ । यो क्षेत्रमा टेलिफोन नलाग्ने र हिड्नु पर्ने भएकाले समस्या हुने गर्छ । भारततर्फ तिम्बुपोखरीदेखि डेढ घण्टाको दुरीमा सिमा सुरक्षा बल (एसएसवि) को क्याम्प राखिएको छ ।
प्राकृतिक रुपमा सुन्दर यो क्षेत्रमा महत्पूर्ण जरिवुटि, बन्यजन्तु पाईन्छ ।