काठमाण्डाैं । १४औँ महाधिवेशनमा कांग्रेस नेता कृष्ण सिटौलाको एउटै मिसन युवा नेता प्रदीप पौडेललाई जिताउने देखियो । नदेखिएको अर्को मिसनचाँही महामन्त्रीकै अर्का उम्मेदवार गगन थापालाई हराउने थियो । कारण, अघिल्लो महाधिवेशनमा सिटौला प्यानलबाट महामन्त्री उठेका गगन यसपटक क्याम्प फेरेर संस्थापनइतर समूहमा पुगेका थिए ।
महाधिवेशनसम्म आइपुग्दा सिटौलाको गुट शेरबहादुर देउवाको प्यानलमा विलयजस्तै हुनपुग्यो । त्यसको मुख्य कारण गगनले आफ्नो क्याम्प छाड्नु हो भन्ने बुझाई सिटौलाको छ । उनी गगनलाई हराएर त्यसैको बदला लिन चाहन्छन् । त्यसैले १४औँ महाधिवेशनमा उनले देउवा र प्रदीपलाई जिताउन जति मिहेनत गरेका छन्, त्योभन्दा ज्यादा गगनलाई हराउने रणनीतिमा समय खर्चिएका छन् ।
सिटौलाले गगनलाई तीन महिनाअघि नै त्यसको सन्देश दिएका थिए । १३ भदौमा जमलस्थित एलो प्यागोडा होटलमा सिटौला समूहको बैठक थियो । पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले संयोजन गरेको सो बैठक हार्दिक हुन सकेन । त्यतिबेला गगन थापा रामचन्द्र पौडेल समूहमा खुल्ने तरखर गर्दै थिए । सो समूहको एउटा पत्रकार सम्मेलनमा सहभागी भएपछि सिटौला गगनसँग आक्रोशित भए ।
‘तिम्रो कारण मलाई निकै गाह्रो भएको छ । तिमीले आफ्नो पोजिसन क्लियर गर्नुपर्यो’, त्यतिबेलै उनले भनेका थिए, ‘नेता कार्यकर्तादेखि पत्रकारहरूले समेत गगन कुन समूहमा छ भनेर सोधेर हैरान पारिसके । सोध्नेहरूलाई म के जवाफ दिऊँ ?’ सो बैठकमा सिटौलासहित गगन थापा, प्रदीप पौडेल, शिव हुमागाईं र उमाकान्त चौधरी सहभागी थिए ।
गगन मुस्कराए मात्र, कुनै जवाफ दिएनन् । सिटौलाले उनको संकेत बुझे क्यारे । चेतावनीको शैलीमा भनेका थिए, ‘म रणनीतिकार पनि हो । एउटा रणनीतिकारले के–के गर्न सक्छ तिमीलाई पनि राम्ररी थाहा छ ।’ यो महाधिवेशनमा गगनविरुद्ध उनले त्यही राजनीतिक रणकौशल देखाउने पर्यत्न गरेका छन् ।
कांग्रेसको १३औँ महाधिवेशनमा तेस्रो धारका रूपमा उदाएका थिए, कृष्ण सिटौला । महामन्त्रीमा गगनलाई अघि सारेर उनी सभापतिमा उठेका थिए । नेतृत्व परिवर्तनको एजेण्डा अघि सारेर मैदामा उत्रिएका सिटौलाले ३ सय २४ मत प्राप्त गरे । दोस्रो चरणमा भने उनले अप्रत्यासित रूपमा देउवालाई सघाएर जिताए । १४औँ महाधिवेशनमा प्रकाशमान सिंह र विमलेन्द्र निधिले उनकै शैलीको दुरुस्त अनुशरण गरेका छन् ।
आफ्नै ससुरा अर्जुननरसिंह केसी र सशांक कोइरालासँग महामन्त्रीमा भिडेका गगन ५ सय ८४ मत ल्याएर तेस्रो भएका थिए ।
सिटौलाको साथ लिएर चुनावमा जाँदा पहिलो चरणबाटै निर्वाचित हुने रणनीति देउवाको थियो । महामन्त्रीमा पुराना नेतालाई पन्छाएर सिटौलालाई खुसी पार्न उनले प्रदीपलाई आफ्नो प्यानलबाट महामन्त्री उठाए । त्यसले बालकृष्ण खाँण पदाधिकारीकै प्रतिस्पर्धाबाट बाहिरिए भने देउवाले सहमहामन्त्री उठ्न भनेका विश्वप्रकाश शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्री उठ्न पुगे ।
सिटौला आफूलाई धोका दिने गगनलाई हराएर उनीभन्दा कनिष्ठ प्रदीपलाई महामन्त्री जिताउन चाहन्छन् । पाँच वर्ष पार्टी प्रवक्ताका रुपमा सभापति देउवाका गल्तीकमजोरी रफ्फू भरेर बसेका शर्मा महाधिवेशनमा प्यानल छाड्न बाध्य भए । त्यसको कारण पनि प्रकारान्तरले उनै सिटौला बने । उनीहरूबीच गृहजिल्ला झापाको अन्तरसंघर्षको तुष महाधिवेशनसम्मै देखियो ।
देशभर अनुकूलता अनुसार देउवा वा पौडेल समूहसँग मिलेर धेरैभन्दा धेरै प्रतिनिधि आउने र सके आफैँ सभापतिमा उठ्ने, नभए बार्गेनिङ गरेर आफ्नो समूहलाई व्यवस्थापन गर्ने सिटौलाको रणनीति थियो । अपेक्षित संख्यामा नभए पनि निर्णायक प्रतिनिधि आएपछि उनी उत्साहित थिए । सिटौला आफैँ उठ्ने आँट त गरेनन्, तर देउवालाई सघाएर गगनलाई रोक्ने र प्रदीपलाई बोक्ने निर्णयमा पुगे ।
अघिल्लो महाधिवेशनमा आफैँले अघि बढाएका गगनलाई महामन्त्रीमा रोक्ने सिटौला रणनीति सफल होला ? महाधिवेशनको माहोल त्यस्तो देखिँदैन । उनको रणनीतिको वास्तविक परीक्षण भने मत परिणामले मात्र गर्नेछ ।
शिलापत्रबाट