ताप्लेजुङमा दुईजना हिमपहिरोमा फसे, उद्धारका लागि आग्रह

ताप्लेजुङ ।अत्याधिक हिमपातका कारण पापुङको लोदेन खर्कमा एकैघरका बाबुछोरा तीनदिन देखि फसेकाछन् । मिक्वाखोला गाउँपालिका-५ सिम्बुकका गोठ सञ्चालक ५० वर्षिय लाक्पा टाँसी शेर्पा र उनका १५ वर्षिय छोरा पासाङ छिरिङ शेर्पा थुनिएका हुन् ।
भारी हिमपात हुन थालेपछि गोठ सार्ने क्रममा उनीहरु हिउँमा फसेको वडाध्यक्ष डण्डु शेर्पाले जानकारी दिए । हिमपहिरोमा परि २५ वटा याक पनि मरेको बताईएको छ ।
आफूहरु हिउँका कारण फसेको भन्दै उद्धारका लागि उनीहरुले बिहान आफन्तलाई फोन गरेका थिए । “हामी लोदेन खर्कमा फसेका छौँ भन्दै आफन्तलाई फोन गरेछन् ।” वडाध्यक्ष डण्डुले भने “अहिले उद्धारका लागि गाउँलेहरु जाने सम्भावना छैन । हेलिकप्टरबाट उद्धारका लागि पहल भईरहेको छ ।” उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरका लागि प्रमुख जिल्ला अधिकारी समक्ष आग्रह गरेपनि आज शुक्रबार भएको र भोली शनिवार बिदा भएको भन्दै सम्भव नभएको प्रतिक्रिया दिएको डण्डुले बताए ।
बिहानसम्म मोवाईलमा फोन सम्पर्क भएपनि अहिले मोवाईल समेत स्विच अफ भएको उनले बताए । आफूहरु ओढारमा बसिरहेको र खानेकुरा पनि सकिएको फोनमा आफन्तलाई बताएका थिए ।